१) मुक्तक
कतिन्जेल जिउनुपर्ने आदेश उसकै मानीमानी,
उसले दिएको पीडाग्निमा कति जल्नु जानीजानी!
घरको इज्जत धान्नुपर्ने हामीले चाहिं कहिलेसम्म,
ऊचाहिं छाडा साँढे जस्तो हिंड्छ खुशी छानीछानी!
२) मुक्तक
उस्तै नै छन् धर्ती आकाश उस्तै जूनतारा,
शरद यामको घाम मीठो उस्तै हराभरा।
शहर भने सन्नाटा छ सुनसान छन् सडकहरू,
फर्किएछन् दशैं बोकी गाउँलेहरू सारा।
३) मुक्तक
शहर हुन पहिले त गाउँ हुनैपर्छ,
पाखापखेराको ढुकढुकी छुनैपर्छ।
कत्ति न म शहरीया हुँ भन्नेहरू पनि,
गाउँको माया मझेरीमा सजाउनै पर्छ।
४) मुक्तक
श्रम शिल्पी हातहरू भेटिंदैनन् शहरमा,
राम्रो लाउन मिठो खान पाए हुन्छ रहरमा।
खोजी हिंड्दा जिन्दगीको अन्तिम सत्य कुनै बेला,
स्वेच्छाको मृत्यु पनि भेटिंदैन जहरमा।
५) मुक्तक
खेत हुन्न बारी हुन्न पाखुरामा दम हुनेलाई,
सोचे जस्तो जागिर हुन्न हातमा कलम हुनेलाई।
बिस्तारबिस्तार प्रविधिको प्रतिकूल असरले,
सक्नै लाग्यो शहरका अलिकति गम हुनेलाई।
६) मुक्तक
एउटा गरीब दुःखी हुँदा अर्को गरीब हेरिबस्छ,
के दिऊँ म यो दुःखीलाई भन्ने मनमा केरी बस्छ।
मानसिकता दरिद्री ती धनीमानी भनिनेहरू,
अह्राउँछ्न तुच्छ काम विचरा त्यो टेरिबस्छ।
७) मुक्तक
ठूल्दाजुका गोडा मोल्छन् बाको धोती उडाउँछ्न्,
बाउ उता खाली खुट्टा आफू गाडी गुडाउँछन्।
कुजातका निस्के पुत्र सक्नै लागे बाको खायल,
केही बोल्नै हुन्न बाउले पार्छन् उल्टै हायलकायल।
८) मुक्तक
मुर्खहरू लिस्नो बन्छन् निस्किजान्छ धूर्त माथि,
मीठा चिल्ला कुरा गर्दै बन्छ सबैभन्दा जाती।
पराक्रम मैले मात्र गरें भन्दै कुर्लिन्छ त्यो,
एउटा समूह छ उसलाई लगाइदिने सधैं पाती।
९) मुक्तक
हरेक मानिसको भित्र सौर्न्दर्यको खानी हुन्छ,
आफ्नो मनको निष्कर्ष आफ्नै मनोमानी हुन्छ।
तर, मान्छे अहमताले नै धरातलमा पछारिन्छ,
अक्सर यस्ता गल्तीहरू प्रायः जानीजानी हुन्छ।
१०) मुक्तक
उम्रिंदैन ह्वात्त मान्छे टेकेको यो धराबाट,
न झर्ने हो यत्रै ठूलो आकाश वा पहराबाट।
भुल्न हुन्न कहिले आफू उभिएको धरातल,
टुप्पो जति झ्याँगिए पनि उम्रिने हो जराबाट।
प्रकाशित: १६ माघ २०८० ०७:५० मंगलबार