२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

हिंडाए दीपक समीपले नदीको राजमार्गमा

साहित्यकार दीपक समीपको लघुकथासङ्ग्रह ‘नदीको राजमार्ग’ को लोकार्पण भएको छ। शनिबार काठमाडौंको सर्वनाम थियटरमा आयोजित एक विशेष कार्यक्रममा उक्त कृतिको लोकार्पण भयो।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले उक्त कृति लोकार्पण गरेका थिए।

कृति लोकार्पण गर्दै राईले साहित्यकारहरू सरकार र संविधानभित्रका कमजोरीमाथि समेत प्रहार गर्ने सामर्थ्य राख्छन्। मान्छेको जीवन आफैंमा कथै कथाको कथा भएको र मानव जातिको विविधतासँगै कथाको विविधता प्रकट हुने पनि उनले बताए।

राज्यको उत्पत्तिपछि भाषा राज्यको र जनताको गरी दुई भागमा बाँडिएको उनको भनाइ थियो। वर्तमानमा कविता, निबन्ध र आख्यानभित्रका कथामा राज्यका कथा अटाएको तर जनताका कथा हराएको भन्दै उनले दुःख व्यक्त गरेका थिए। त्यसैले अब लेखिन बाँकी कथाहरू लेख्नतिर कथाकारहरू लाग्नुपर्नेमा उनको जोड थियो। कार्यक्रमहरू पाठककेन्द्रित बनाइनुपर्ने र एआईसँग जुध्नुपर्ने वर्तमान यथार्थतिर अब सचेततापूर्वक लाग्नुपर्ने आवश्यकता पनि उनले औंल्याएका थिए।

कृतिमाथि बोल्दै समीक्षक डा. ज्ञानु अधिकारीले थोरै शब्दमा सरल भाषाको मौलिक स्वाद पस्केर कथाकारले आख्यान लेखनमा दह्रो उपस्थिति जनाएको बताइन्। लघुकथा लेखनको मानक सिद्धान्तलाई चुनौती दिएर लेखकले आफ्नो अराजक लेखक व्यक्तित्व स्पष्ट रूपमा प्रमाणित गरेका छन्।

उनले भनिन्, ‘शब्दको जादु  लेखकले यसरी चलाएका छन् कि एक एक लघुकथाले तरङ्गित बनाउँछन्। कथामा मानव मनोविज्ञान  नाटकीय र प्रभावकारी तवरले प्रस्तुत गरिएको छ। यसका कथामा शब्दको मितव्ययितामा कथाकारले निकै ध्यान दिएको छ।’ 

त्यस्तै अर्का समीक्षक डा. ईश्वरमणि अधिकारीले सङ्ग्रहमा सामाजिक बेथिति, अराजकता आदिको सजीव चित्रण गरिएको बताए। कथा सकिएपछि पनि कथाको प्रभाव छाडिरहन सक्ने क्षमता कथाकारको रहेको अधिकारीले बताए। वर्तमान युगका राजनीतिक घटनाक्रम र त्यसभित्रका कुरूप परिदृश्य यसभित्रका कथाले छर्लङ्ग पारेका छन्।

साथै विविध पात्रका माध्यमबाट जीवनदर्शन प्रक्षेपण गरेका छन् कथाकारले। मानव जीवनका सन्त्रास, जिजिविषा, अन्धविश्वास, आस्तिकता एवं लैङ्गिक विसङ्गतिको चित्र मर्मस्पर्शी ढङ्गले कथामा उनिएको ईश्वरमणिले बताए। समाजका घटनालाई कथामा बुन्ने कलात्मक सामर्थ्य दीपकमा रहेको पनि उनले प्रस्ट्याए।

लेखकले कथामा अवचेतन र चेतन मनको संवेदना उद्घाटन कुशल शैलीले गरेको उनले बताए। कथा छोटा भईकन पनि चुट्किला बन्नबाट भने सर्वथा बचेका छन् भन्नेमा उनले जोड दिएका थिए।

लेखक दीपक समीपले पचासको दशकको सुरुआतदेखि तीन दशकसम्मको साहित्य लेखनका अनुभव र अनुभूति प्रस्तुत गरे। साहित्य लेखन सुरु भएदेखि अहिलेसम्मका सहयात्रीहरू खचाखच भएको हलमा सबै सहृदयीहरूलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै साहित्यकार प्रतीक ढकालले गजलकार एवम् मुक्तककार समीपलाई आख्यानमा ढुक्कले स्वागत गर्न पाएकामा खुसी व्यक्त गरे।

छैंसाठी लघुकथा समाविष्ट नदीको राजमार्ग सङ्ग्रहको प्रकाशन पेज टर्नर प्रालि काठमाडौंले गरेको हाे।

साहित्यकार दीपक समीपको यो तेस्रो कृति हो। यसअघि उनका भूगोलभित्र नकोरिएको देश (गजलसङ्ग्रह, २०६२) र अक्षर अक्षरमा देश (मुक्तकसङ्ग्रह, २०७८) प्रकाशित छन्।

सभापतित्व गरिरहेका साहित्यकार भुवनहरि सिग्देलले सामान्य विषयलाई सरल लेखनको शैलीबाट विशिष्ट बनाएर पस्कने दीपकको लेखकीय क्षमताको मुक्तकण्ठले प्रशंसा गरे। कार्यक्रमको सञ्चालन साहित्यकार भवानी खतिवडाले गरेकी थिइन्।  

प्रकाशित: १४ माघ २०८० ०६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App