१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
कला

नैतिकता नभएपछि योग्यलाई फेल गर्छन्: लाजको आग्लो

पुस्तक

‘धनसम्पत्ति केही हैन इज्जत कमाउन जान्नुपर्छ,

पवित्र मनले सधैं सत्यको बाटो समाउन जान्नुपर्छ।

सामर्थ्यभन्दा बाहिरका कुरामा समय खर्चनु हुँदैन,

आफूसँग भएकैमा आनन्दले रमाउन जान्नुपर्छ।’

उक्त मुक्तक हो मुक्तककार प्रकाश घायलको। मुक्तक र उहाँको जीवनशैली उस्तैउस्तै छ। सरल स्वभावका, इमानदार र मानवलाई समान व्यवहार गर्ने लेखक हुन् उनी।

कथा, कविता, गीत र मुक्तक निरन्तर लेखिरहने उनको प्रकाशित संग्रह भने ‘लाजको आग्लो’ पहिलो कृतिका रूपमा प्रकाशित छ। यसै ‘लाजको आग्लो’  पढेपछि केही लेखौंझैं लाग्यो। हुन त म समालोचक हैन। मेरो हैसियत कहाँ र समालोचना गर्ने! मलाई मन परेका कुरा यसो पुस्तक निरुपणस्वरूप राख्न मन लाग्यो।

२०५१ सालमा अन्तर्राष्ट्रिय साहित्य समाजको स्थापनाकालमा संस्थापक सचिव समेत रहेका घायल विभिन्न नाटक र टेली चलचित्रमा समेत अभिनय गरिसकेका छन्।

अभिनय मात्र हैन सहायक निर्देशन पनि गरिसकेका छन्। कला र साहित्यलाई असाध्य माया गर्ने घायल काठमाडौकाे तारकेश्वर नगरपालिका, फुटुङ भन्ने गाउँमा बस्छन्।

लामो समयदेखि कलासाहित्यमा समर्पित घायलले किन यति ढिलो कृति प्रकाशित गरेका हुन्? यो सबैको मनमा उठ्ने प्रश्न हुन सक्छ। हुन सक्छ उनका आफ्नै समस्याहरू हाेलान्। खाेइ के भनूँ, याे कुरा यत्तिकै  छोडौं!

उनै स्रष्टाको नारी स्रष्टा समाज विराटनगरले प्रकाशित गरेको ‘लाजको आग्लो’ अहिले मेरो हातमा छ। लेखक ममता मृदुलले सजाएको सुन्दर आवरण, अशोकनारायण मण्डलले लेआउट गरेका हुन्। यो पुस्तक आफ्नी आमा शुभकुमारी कार्की र बुबा खड्गबहादुर कार्कीप्रति समर्पित गरिएको छ।

उक्त पुस्तकमा ममता मृदुल, विधान आचार्य, वियोगी बुढाथोकी, प्रकट पगेनी ’शिव’ र महेश प्रसाईंले शुभकामना सन्देश दिएका छन्।

मध्य चालीसको दशकबाट कलम चलाउन थालेका घायल आफ्ना कुरामा लेख्छन् ‘त्यसो त २०५० मा नै ‘अस्तित्वको खोजी’ गजलसंग्रह तयार पारेको थिएँ तर विभिन्न कारणले उक्त संग्रहलाई प्रकाशनमा ल्याउन चाहिनँ। यसबीचमा विभिन्न साथी पाएँ र गुमाएँ पनि। यसले यो कुराको पुष्टि गर्‍यो ‘पाउनु मात्र जीवन होइन, गुमाउनु पनि जीवन हो।’

हो पाउनु र गुमाउनु बीचको समयमा गरेका अनुभव अनि समसामयिक विषयलाई उजागर गर्दै उनले थुप्रै  मुक्तक लेखे। देश र समाज लेखे। शृङ्गार लेखे र त आज हाम्रो हातहातमा पुस्तक आइपुगेको छ।

‘व्यवहारको डाम नलागेको मान्छेको थाप्लो हुँदैन,

दुःख अनि पीडालाई बाँधी राख्ने कुनै दाम्लो हुँदैन।

खुल्ला आकाश भएपछि धर्ती झन् खुल्ला हुने भो,

त्यसैले त सरमको चुकुल र लाजको आग्लो हुँदैन।’

यसरी गहन विचारलाई सरल शब्द शैलीमा मुक्तकमार्फत जनसमक्ष प्रस्तुत गर्ने क्षमता राख्छन् उनी। यसैगरी देश र समाजबारे लेख्छन्,

नैतिकता नभएपछि योग्यलाई फेल गर्छन्,

बोलवाला बलियाकै चल्छ नत्र झेल गर्छन्।

योग्यता र दक्षताको कुनै कदर हुँदैन किन,

डण्डीबियोदेखि क्रिकेटसम्म कमिसनको खेल गर्छन्।’

अहिलेको राजनीतिले ल्याएको विकृतिसँग सहमत छैनन् उनका रचनाहरू। सम्बन्धित निकायलाई सचेत गराउने काम पनि गरेका छन् आफ्नै रचनामार्फत।

अन्त्यमा पुस्तक पढ्दै जाँदा भाषिक त्रुटि नदेखिएको हैन। हुन सक्छ, प्रिन्ट मिस्टेक भएको तर आगामी दिनमा यी कमजोरीलाई पनि सच्याउँदै लगियोस् भन्न चाहें। साथै अन्य कृतिको प्रतीक्षा म लगायत अन्य पाठकलाई हुने नै छ। साहित्यिक यात्रामा अझ अघि बढेको देख्न पाइयोस्। लेखक घायललाई हार्दिक शुभकामना!

प्रकाशित: २४ पुस २०८० ०७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App