“तपाईसँग रातो गुलाबको बुके होला?”
“कतिवटा चाहिने हो र।”
“चारवटा चाहिने।”
जम्मा चारवटा नै बाँकी रहेछन्। उसले किन्यो। तोकिएको मूल्यभन्दा केही डलर बढी नै दिएर गए। कति मनकारी रहेछन्। सबै ग्राहक यस्तै भैदिए!
मेरो सानो बगैंचा छ। मौसमअनुसार धेरथोर फलहरू पाकिरहेका हुन्छन्। फूलहरू पनि फुलिरहेका हुन्छन्। तिनीहरूलाई क्रमैसँग फार्मर मार्केटमा लगेर बेच्ने गर्छु।
एक सातापछि उही मान्छे फेरि गुलाबको बुके किन्न आए।
‘तपाईसँग गतसाताको जस्तै ताजा बुके होला?’
“ला, सकियो नि!”
दुर्भाग्यवश छिट्टै सबै फूल सकिइसकेको थियो। ती ग्राहकले पहिले दिएको अतिरिक्त डलर आँखा वरिपरि नाच्न लाग्यो। मन सारै खिन्न भयो।
‘भोलि दशवटा बुके ल्याइदिन सक्नुहुन्छ?’ अरू व्यापारीहरूसँग पनि नभएको त होइन तर अलि ओइलाएका मात्र छन्। तपाईको भने ताजै देखेँ, त्यसैले।’
“मेरो बगैंचामा प्रसस्त फूलहरू छन्। तिनीहरूको आवश्यकता तपाईलाई छ र भोलिका लागि हो भने म अवश्य ल्याउनेछु।”
मेरो मन निकै प्रसन्न भयो। मनमनै भोलि फूल बेचेर आउने डलर हिसाब गरेँ। झल्झली त्यही ग्राहकको मनकारी र सुन्दर अनुहार आँखा वरिपरि आइरह्यो।
कलिलो उमेरमा बिहे भयो। मेरो लोग्ने ‘एरिक’ घर नजिकैको फुड कम्पनीमा काम गर्छ। मलाई पनि एरिकसँगै काम गर्न मन छ। तर, ऊ मान्दैन। बिहान सबेरै छ बजे नै जान्छ। साँझ अबेला फर्किन्छ। कति कमाउँछ? कति खर्च गर्छ? कति बचत गरेको छ? केही भन्न चाँहदैन। अत्यन्त संकुचित र कपटी स्वभाव छ उसको।
लत्ताकपडा वर्षमा एकपटक क्रिसमसमा करबलै किनी दिन्छ। त्यही पनि उसको रोजाइमा। अरू आवश्यक परेमा आफैले थुकतेल गरेर जोगाएको पैसाले किनेर दिदीबैनीले दिएको भन्नुपर्छ। नत्र बसिसक्नु गर्दैन। यस्ता कन्जुसले किन विवाह गरेको कुन्नि? केही बुझ्न सकेकी छैन।
भन्छन्, विवाह दुई आत्माको मिलन हो। दुखसुखमा पूर्णतया समर्पित हुँदै सँगसँगै जिन्दगी बिताउने बलियो वाचा र सम्झौता हो। त्यसैले होला भर्खर विवाह हुँदा मभित्र हुर्किरहेको नयाँ र नौली दुलही मन मुसुक्क मुस्कुराएको थियो।
मेरो हृदय अगाध माया, ममताको प्यासी थियो। श्रीमान् श्रीमती मिलेर पिरतीको छाता ओढदै प्रेमको मदिरा अघाउन्जेल पिउने धोको थियो। चखेवाको जोडी भै बस्ने चाह थियो।
तर विवाहपछि कुनै रौनक नै आउन सकेन। सुख र आनन्दको अनुभूति नै भएन। हाम्रो माया ढुस्स परेको मौसम जस्तो अनि ओइलाएको फूल जस्तो पो हुन गयो। बरू विवाहपूर्व नै सहज थियो। अत्यन्त पुलकित थिएँ। हामी छोराछोरीहरूको हुर्काइमा बाबाआमाले कुनै कसर बाँकी राख्नुभएको थिएन।
विवाह गरेको पाँच वर्षसम्म पनि बच्चाको योजना गर्न सकिन। किनभने ऊ मनका कुरा खुलस्त केही भन्दैन। सोधेको कुरा पनि चित्तबुझ्दो तरीकाले व्यक्त गर्दैन। त्यसैले मैले आफूलाई दुःखको भारीमाथि अरू दुख थप्न चाहिनँ। तर, ऊ बच्चा चाहन्छ। के कारणले बच्चा नभएको? प्रश्न गर्छ।
हिजोआज निकै चिन्तित देखिएको छ। डाक्टरकोमा जान चाहन्छ। मैले आफ्ना कुरा केही बताएकी छैन। बताउन चाहन्न पनि। ‘जस्तालाई त्यस्तै’ गर्नेछु। ‘निःशुल्क परिचारिका’ सरह उसकाे घरमा हड्डी खियाइरहेकी छु। आफ्ना जिन्दगीको उर्जावान् समय स्वाहा पारिरहेकी छु। तर पनि उसलाई खुसी पार्न सकेकी छैन।
घुँडासम्म आउने कालो कोटको रहर गरेको धेरै भयो। बाआमालाई भन्नै मन लागेन। विवाह भैसकेकी छोरी, उहाँहरूको पनि आआफ्नै समस्याहरू छन्। दुईचार पटक लोग्नेलाई भनेकी थिएँ। उसले सुनेको त हो तर कुनै प्रतिक्रिया जनाएन। मेरो स्वाभिमानले अब भन्न दिने छैन। किनभने ममा पनि काम गर्ने, आयआर्जन गर्ने क्षमता हुँदा हुँदै पनि किन मेरा रहरहरूबाट वन्चित गर्यो त?
दशवटा बुकेको अर्डर हो। फूल सँगाल्दै जाँदा, बुके बनाउँदै गर्दा, बारवटा भएछ। हिजोको भन्दा धेरै राम्रा र ठूला थुँङ्गाहरूको बुके! आज ती सुन्दर व्यक्तिले खुसी भएर लैजाने छन्।
आज पनि केही डलर बढी नै दिनेछन्। बिहानैदेखि खुसी छु। कहिलेकाहीं त ससाना कुराले पनि हर्षित बनाउँछ मन।
‘शुभ प्रभात!’
अचानक मेरो कानमा मीठो आवाज प्रतिध्वनित हुन्छ। पुलुक्क हेर्छु। उनै सुन्दर व्यक्ति रहेछन्। जसले दशवटा बुके हिजै अर्डर गरेका थिए।
किन हो कुन्नि आज मलाई उनीसँग अत्यन्त लाज लाग्यो।
‘तपाइले आफू जस्तै सुन्दर फूलहरू ल्याइदिनुभएछ भन्दै सबै फूल उनैले लगे। मैले तोकेको भन्दा धेरै राम्रो मूल्य तिरे। उनी अनुहारले त सुन्दर छन् नै, व्यहारले पनि शीतल, दयालु र भद्र रहेछन्।
“तपाईंको शुभ नाम के होला?”
लाज लागीलागी पनि नाम सोधिहालें।
मेरो नाम लि हो।
‘तपाईसँग फलहरू पनि छन्?’ मुसुक्क हाँस्दै सेता र अनार दाना दन्तलहर देखाउँदै उनले सोधे।
‘केही हरियो जातका स्याउ र कालो अङ्गुरहरू बाँकी छन्!’
“आहा! भोलि मलाई बीस पाउण्ड अङ्गुर ल्याइदिनुहोस् न।” सक्नुहुन्छ?
“हुन्छ, सकिहाल्छु नि। तर, आजभन्दा अलि ढिलो हुन्छ।”
“लौ त भोलि आउनेछु” भन्दै फार्मर्स मार्केटबाट आफ्नो कार फनक्क मोडे र घुइँक्याइहाले। लिले ती सबै फूल कारमा राखुन्जेल मेरा आँखा त्यतै थिए। कार स्टार्ट गरेर परसम्म पुग्दा पनि एकोहोरिएर हेरिरहिछु। पत्तै पाइन। नजिकैकी तरकारी बेच्ने अर्की साथीले कोट्याइदिंदा पो झसँग भएँ। खै किन त्यतिविघ्न सम्मोहित भएँ म? मनमनै लाजले मरेँ।
यस्तै ग्राहक सधैं भेट्ने हो भने त नोबेम्बर सुरू नहुँदै, हिउँ पर्नु अगावै बगैंचाका सबै तुलफूल बेचिसकिन्छ। आनन्दै हुन्छ। गत साल छिटै हिउँ परेकाले आधा जति त त्यसै खेर गयो। यसपटक अङ्गुर बेचेको सबै पैसा त त्यसलाई कहाँ दिन्छु र? आधा त म आफै दमपच पार्नेछु।
हैन! लोग्ने भनेको त सबैभन्दा नजिकको मान्छे भन्छन्। म किन लोग्नेको नजिक हुन सकिन? किन मसँग झर्केर मात्र बोल्छ? उसले भनेको केही कुरा पनि नाइँनास्ति गरेकी छैन। तर दिनभरको कमारी र रातको साझेदारी मात्र भन्ने ठान्छ ऊ। के म यति मात्रै हुँ त? मेरो मनको मझेरीमा यस्ता सवालहरू फन्फनी घुमिरहेछन्। उसका अनेकौं निच, निकृष्ट र अनुत्तरदायी हर्कतहरूले म आजित भैसकेकी छु। एरिकले दिएका दुःख, बुहार्तन र अपमानका नदीले मेरो दिल बगाइसकेको छ।
मैले रातदिन पाखुरी बजारेर उब्जाएका फलफूलहरू बेचेको पैसा पेनीपेनी हिसाब गरेर उस्लाई बुझाउनुपर्ने? रहरको केही चिज पनि प्रयोग गर्न नपाउने? आफ्नो उमेर पच्चिस वर्ष नपुग्दै योसँग म अब थाकिसकेँ। कोपिलामा नै निमोठिने भएपछि लामो जिन्दगीको यो फूल कसरी फक्रेला र खै?
‘शीत उभाएर घैला भर्नु’ झैं गरी पैलेदेखि अलिअलि पैसा जम्मा गरेकी छु। आज फूल बेचेको पैसा केही मिसाउन पाएँ भने! उलनको कालो कोट लगाउने धोको अवश्य पुग्नेछ। निलो स्कार्फ र बुट पनि किन्नेछु। मैले धुरीखाँबो बनेर यसको घर धानेँ तर यति जाबो कुरामा पनि मैले दुख काट्नुपर्ने? अब मैले जानेकी छु, पख। यसरी एउटा अठोटका साथ ‘मनको लड्डु घिउसँग’ खाँदै घर पुगेँ।
बिदाको बेलामा बगैंचामा केही काम सघाएझैं गर्छ। तरकारीहरू सबै घरमा नै खपत हुन्छ। केही फलहरू र फूलहरू बेच्ने हो। त्यही पनि लाखौंको बेचेर मैले पैसा लुकाएझैं शङ्का गर्छ। हामी महिलालाई शृङ्गारका प्रसाधनको रहर हुन्छ। गहनाको रहर हुन्छ। त्यस्तै अरू अदृष्य आवश्यकता पनि हुन्छन् भन्ने विवेक उसमा कत्ति पनि छैन र कहिल्यै आएन। सधैं तिरस्कारको बिगुल फुक्छ। चरणको दासी ठान्ने उसको दिमागमा मप्रति संमानभाव कहिले पलाउला खै?
लिले भनेको भन्दा धेरै नै अङ्गुर बेच्न लगेकी थिएँ। किनकि ग्राहक त अरू पनि आउँछन् भनेर। चिसो दिनदिनै बढ्दैछ। सकेको चाँडै बगैँचाका सबै सक्नुपर्ने बाध्यता पनि त छ नि।
टुप्लुक्क भनेकै समयमै उनी आइहाले। बीस पाउण्ड उनलाई र बाँकी अरू खुद्रा बेच्नुपर्ला भनेर सोचिरहेकी थिएँ। पहिले यति धेरै मात्रामा एकैपटक कहिल्यै नबेचेकी हुनाले मनभरि कौतुहलता थियो र थियो तिनै मानिसको विषयमा अनेक जिज्ञासा पनि।पहिले जस्तै सबै अङ्गुरहरू आफैले जोखेर छेउमै राखे र मतर्फ हेरे।
‘कति भयो पैसा म्याम?’ सधैँ आफैले हिसाब गरेर लागत भन्दा बढि दिएर जाने मान्छे आज किन जिस्किन्छन्?
‘तपाईलाई थाहै छ नि’ मैले भने।
उनी मुसुक्क हाँसे र रकम वालेटबाट झिकेर मलाई दिए। उनको अगाडि गन्न अप्ठ्यारो लाग्यो। खै कति छ? मेरो मनमा उनीप्रति एक खालको भर र विश्वासले डेरा जमाइसकेको थियो। त्यसैले उनले ठगेका छैनन् भनेर ढुक्क थिएँ।
म आफ्नो सामान साइकलको पछाडि बाँधेर मनभरि कुरा खेलाउँदै घर फर्कँदै थिएँ। हिजोआज घर सम्झनेबित्तिकै दिक्क लागेर आऊँछ। फर्कन नपरे पनि हुन्थ्यो जस्तो दिक्दारीपनले सताउँछ। त्यो लोग्ने भनाउँदोको अनुहार हेर्न मन छैन। यो अङ्गुर बेचेको सबै पैसा खोस्न सक्छ। त्यसैले आधा पैसा अहिले नै लुकाउनुपर्छ। थुक्क मेरो भाग्य!
निलो आकाशमा चराहरू कावा खाइरहेछन्। सफा चौर, घाँस काटेर चिटिक्क पारिएको छ। अत्यन्त मनमोहक छ चारैतिर। त्यहीं एकछिन सुस्ताउन मन लाग्यो। थाकेको तन र मनको भारी बिसाउन मन लाग्यो। र तिनै लिले दिएको पैसा गन्न मन लाग्यो।
ओहो! आज पनि पैसा त डबल नै पो दिएको रहेछ। म तीन छक्क परें। किन होला मलाई यस्तो माया गरेको? जोबाट माया पाउनुपर्ने हो, संरक्षण पाउनुपर्ने हो ऊ ढुङ्गासरी कठोर र निरस छ। को हो को हो अनजान मान्छेचाहिं यति धेरै उद्दार मनको!
पर क्षितिजतर्फ हेर्दै टोलाइरहेकी थिएँ। अचानक सबै अङ्गुर खरिद्ने तिनै लि सामुन्नेमा देखें। पहिले त भ्रम जस्तो लाग्यो। घोरिएर हेरें। उनै रहेछन्।
उनले मुसुक्क हाँसे र भने ‘मलाई वाइन बनाउनु छ। तपाईसँग अङ्गुर अझै बाँकी होला? अघि त सोध्नै बिर्सेछु’। विनम्रपूर्वक सोध्छन्।
‘आजको जति त पक्कै छ।’
‘भोलि ल्याउन सक्नुहुन्छ?’
‘सक्छु। टिप्नुपर्छ। त्यसैले आजको भन्दा केही ढिलो हुन्छ।’
‘भैहाल्छ नि। म कुरी बस्नेछु।’ सहजै उनले भने।
मेरो मन झन् प्रफुल्ल भयो। किनकि उनले दिएको पैसा आधा लोग्नेले लिए पनि आधाले अरू रहर लागेका सामान खरिद गर्न सक्छु। आज र भोलिको मिलाएर राम्रो इयर रिङ पनि आउँछ होला। ससाना खुसीले पनि मेरो मन फुरुङ्ग हुन्छ। यतिबेला बाल्यकालका रमाइला किस्साहरू सरर मनभरि सलबलाए। कति उल्लासमय थिए ती पलहरू!
‘आज म एउटा अनुरोध गर्छु मान्नुहुन्छ?’ लिले भने।
‘के होला?’
“यहाँबाट नजिकै एउटा राम्रो रेस्टुरेन्ट छ। जाउँ, केही खाउँ।”
सामान्य रूपमा हल्का चिन्दै आएको मान्छे। फलफूल किन्ने ग्राहक मात्र हुन्। हुन त सारै राम्रा छन्। व्यवहारमा मात्र हैन रूपमा पनि मंसिरको ब्याउला जस्ता चट्ट परेका। निकै पुगीसरी आएका पनि देखिन्छन्। तर पनि के भनेर सँगै खान जाने र? मलाई साह्रै अप्ठ्यारो लाग्यो।
“हुन त हुन्छ तर पछि जाउँला नि।”
मेरो मुखबाट फुत्त जवाफ निस्किहाल्यो।
तर उनले धेरै जिकिर गरिरहे। जान करै लाग्यो। यथार्थमा मेरो मनको मझेरीमा प्रशस्त खुसी सलबलाएको थियो त्यतिखेर। आफ्नो लोग्ने भनाउँदो एरिकले कहिल्यै कतै लगेन। सबै कुरा ऊ आफूलाई मात्र भए पुग्थ्यो। त्यसैले जाने निर्णय गरें।
उनले स्याण्डविच र कफी अर्डर गरे तर, खानभन्दा पनि मेरो अन्तर्वार्ता पो सुरू गरे। मैले आफ्ना कुराहरू बिस्तारै भन्दै गएँ। उनले प्रश्नमाथि प्रश्न थप्दै गए। किन हो कुन्नि मैले नसोधी आफ्ना कुराहरू पनि भन्दै गए। यसरी घन्टौं बितेको पत्तै भएन।
“अब घर फर्कनुपर्छ, भोलि यहीं भेटौं है” उनले भने।
यसरी हाम्रो यहाँ भेट्ने क्रम झन् झन् बढ्न थालेको थियो। हामी दुईको बिचमा एक किसिमको साामिप्य मौलाउन थाल्यो। लाज र अप्ठ्यारोका घुम्टोहरू हराइसकेका थिए। लिले सम्मोहनको डोरीले बाँधिसकेका थिए। सायद उनले हामी दुवैको पसिना र मिहेनतले घर सजिने देखे। लिलाई आफ्नो चाहनाको आकारमा राख्न सक्ने देखें मैले पनि। त्यसैले होला मेरो मन पनि शरदको आकाशजस्तै निर्मल बन्दै गएको थियो।
म पनि राम्री रहेछु कि क्या हो? मेरो रूप र व्यवहारको वर्षाले ऊ भिज्न पुगेछ। मेरो वक्षस्थल र अनुहारको सौन्दर्यमा यौवनको मीठास देखेछ र त त्यत्तिको मान्छे पछि लाग्न थालेको छ। त्यसैले मनभरि खुसीको गुलाव ढकमक्क फुल्न थालेको छ। फुरुङ्ग छु।
लाग्यो अब मैले एक पाइला अगाडि सरेर निर्णय गर्नुपर्छ। बैनीहरूले भनेको मान्नु नै श्रेयस्कर हुन्छ। किनभने मेरो लोग्नेको आनीबानी थाहा पाउनेबित्तिकै मलाई भएको कठिनाइ बैनीहरूले थाहा पाइसकेका छन्। उनीहरू मेरा लागि चिन्तित त हुने नै भए।
एरिकले गर्ने जस्तो काम त मैले पनि गर्न सक्थें नि। उसको घर धान्नुपर्ने हुँदा म बाहिर काम गर्न जान पाउन्नथें। फलफूल बेचेको सबै पैसा उसैलाई बुझाउनुपर्ने। अत्यन्त कम बोल्ने, सधैं उसको हिंस्रक र जङ्गलीपन झेल्नुपर्ने। त्यसैले मेरो मन भ्रान्ति भएको थियो।
लिले मेरो फल र फूलहरू दिनदिनै सबै किन्नुको आशय त बल्ल पो बुझ्दैछु। जे होस्, अर्को मान्छे खोज्न मैले भौंतारिनु परेन। भाग्यले भनौं या संयोगले जुराउँदै छ। सारै सिधा र निमुखा छे, दुख पो पाउँछे कि भनेर माइतीमा मेरा बाआमा लगायत सबैले चिन्ता गर्छन्। देउता भेट्न मन्दिर जानुपर्नेमा घरमै आए जस्तो लाग्यो। ‘सोझोको साथ दैव’ भनेको साँच्चै रहेछ।
साँझमा टुप्लुक्क एरिक आइपुग्यो। डिनरमा “लोमिन् र चिकेन् सुप” बनाएकी थिएँ। जति मन रोए पनि आफ्नो काम त गर्नै पर्यो। उग्र जाडो भएकाले प्रायः सुपचाहिं म छुटाउँदिन।
मैले ऊ नजिकै टाँसिएर भने, “एरिक! मलाई सुनको सिक्री लगाउन अत्यन्त रहर लागेको छ। किनिदेऊ न।”
ऊ अलिकति पर सर्यो र केही नबोली टुलुटुलु छड्के आँखाले मप्रति क्रुद्ध दृष्टि फ्याँकिरह्यो। सायद उसको मथिङ्गलमा ठूलै पैरो गयो जस्तो छ।
अब मैले यसरी नै निहुँ खोज्नेछु। झगडा गर्ने छु। जसरी पनि मलाई ऊबाट सर्लक्कै उम्किनु छ। हिजोआज लिसित अत्यन्त निकट भएको बेलामा एरिकसँगको परिवेश छिटो सल्ट्याउन पाए हुन्थ्यो। त्यसैले पनि मैले मौका खोजिरहेकी छु।
थाहा छ, एरिकले मेरो लागि एक पेनी पनि खर्चन चाहँदैन। तर पनि दिनदिनै फरकफरक सामग्रीको फर्माइस गरेर झर्को लगाइरहेकी छु। उसलाई लागेको होला “कहाँ जालिस् मछली, मेरै ढडिया।” तर, उसकी मछलीले अर्कै माछो ताकिसकेकी छे। अहिलेसम्म त उस्लाई अन्दाजसम्म पनि छैन।
कति दिनसम्म कुर्ने र? फेरि किन कुर्ने? केही छनक त दिनै पर्यो। उस्को आमासँग अलिकति कुरा चुहाउने विचार गरें। कुराको थालनी गर्ने सजिलो उपाए यसरी नै हो जस्तो लाग्यो।
एरिक अफिस लाग्नेबित्तिकै मैले उसको आमालाई फोन गरें र आद्योपान्त सबै भने-न बाहिर काम गर्न दिन्छ, न मेरा रहरहरू पूरा गर्छ। बगैंचाको फलफूल बेचेको पैसा पनि लिखाको बोसो काढेसरह सबै लिन्छ।
ऊ कामबाट घर आउँदा आतंक आएजस्तो र अफिस जाँदा काँडो झिकिए जस्तो सन्चो अनुभव हुन्छ मलाई। मेरो मनको संसार उज्यालो भएको हेर्न नै चाहँदैन। ऊसँग दिन काट्नै पनि कठिन भएको छ। यति लामो जिन्दगी यस्तोसँग कसरी काटौं खै? किन हो कुन्नि एरिकभित्र स्वार्थ र पापभन्दा केही पाउँदिन। यसले गर्दा किनकिन मलाई आफ्नै जिन्दगी पनि भार भएको अनुभव भैरहेको छ।
विचरी आमालाई सायद नराम्रो झट्का लाग्यो। मलाई मायालु पाराले सम्झाइन्। रोइन पनि। म त्यहीं आउँछु, अनि कुरा गरौँला। ल है मन चन्चल नबनाउ भनेर फोन राखिन्। बेलुकासम्म आइपुग्छिन् होला सायद।
हिउँ पर्न थालिसकेकाले बाहिर निकै जाडो थियो। मन नरमाइलो, दिन पनि झन् विरक्तलाग्दो। खाना बनाउने जाँगर पटक्कै लागेन।
टेलिभिजनमा एउटा किसानको विषयको वृत्तचित्र हेरिरहेकी थिएँ। त्यहाँ पनि लोग्नेस्वास्नी थिए। ससाना छोराछोरी पनि थिए। लोभलाग्दो सुन्दर र सुखी परिवार थियो। सबैजना खुखी देखिन्थे। मेरो भाग्यमा त भगवानले सुख लेख्नै बिर्सेछन्।
सधैंझैं गोधूलि साँझमा ऊ टुप्लुक्क आइपुग्यो। हातमा वालमार्टको झोला थियो। लुसुक्कभित्र पस्यो र हातमा भएको झोला बिनाशब्द म नजिक राखिदियो। आमाछोराको बिचमा वार्तालाप भएछ भन्ने कुरा मलाई पक्का भयो। किन भने पिर र चिन्ताले गर्दा कालो बादलले ढाकेको आकाश जस्तै उसको अनुहार पनि धुम्मिएको थियो।
किचनमा हेर्याे, खाना देखेन, र सोध्यो।
“खाना पकाइनौ?”
“अहँ, पकाएर खाउ।” मैले झर्केर भने। ऊ अत्यन्त डराएको प्रतित हुन्थ्यो। सजिलो खाना “फो र चिकेन सुप” बनायो। अचम्म! म भएकै ठाउँमा मलाई ल्याइदियो। आफूचाहिं डाइनिङ टेबुलमा बसेर खायो। योभन्दा पहिले एक कप कफी पनि आफैले बनाएर खाएको देखेकी थिइन।
पश्चिमबाट घाम उदाउनु भनेको यही हो कि जस्तो लाग्यो। वालमार्टको झोलामा ल्याएको सामान र उसले पकाएर दिएको खाना दुवै छुँदै छोइन। मैले मेरो मन दह्रो बनाइसकेकी छु। अब यहाँको केही पनि लिने छैन भनेर अठोट गरिसकेकी छु।
उसको आँखामा पीडाको पोखरी देखिन्थ्यो भने अनुहारमा विषाद र पश्चात्तापका रेखाहरू प्रशस्त झल्किरहेका थिए। म युद्धमा होमिएको बन्दुक समान निष्ठुरी भैसकेको बुझेर नै होला सायद मलाई सम्झाउने, फकाउने आँट भने पटक्कै गरेन। मचाहिं त्यहीं सोफामा पल्टेँ। कतिबेला ऊ सुत्न गयो पत्तो पाइन।
एरिकको आमाबा केही पर अर्को शहरमा बस्नुहुन्छ। प्रातःकालमै हुर्तुराउँदै आइपुग्नुभयो। उहाँहरू अत्यन्त सहृदयी हुनुहुन्छ। यस्ता बाउआमाको छोरा पनि किन अड्मिल्दो स्वभावको होला? अर्थात् अमृतको वृक्षमा यो विषालु फल कसरी फल्यो होला जस्तो लाग्यो।
उहाँहरूले पहिले आफ्नो छोरालाई सम्झाउनुभयो। हप्काउनुभयो। यो सोझी र असल बुहारीको कर्तव्यपूर्ण व्यवहारलाई कमजोरी नठान्। अर्काको छोरीलाई दुःख दिनु हुँदैन। सोच्नुपर्छ, हाम्रा जस्तै उनीहरूका पनि सपनाहरू हुन्छन्। उनको अनेक चाहना, रहरहरू पूरा गर्दै मनको गीत सुन्नुपर्छ तैंले। हामीले विवेक पुर्याएर काम गर्नुपर्छ।’’
मलाई पनि धेरै सम्झाउनुभयो। अब यस्तो व्यवहार दोहोरिने छैन। बगैंचामा दुख गर्नुभन्दा दुवैले एकै ठाउँमा काम गर। सँगै जाउ। सँगै आउ। आफ्ना रहरहरू सबै पूरा गर। राम्रो लगाउ, मीठो खाउ। जिन्दगी सहज बनाउनुपर्छ।’
म मात्रै श्रोता बनिरहें। केही भनिनँ। हुन त यो सारा कचिङगलको एक्लो अंशियार आफ्नै छोरो हो भन्ने उहाँहरूलाई अवगत छ। तर पनि यो सारै सोझी छे। हामीले सम्झाएपछि त मानिहाल्छे नि भनेर होला सायद बाआमा फर्किहाल्नुभयो।
‘ब्वाँसालाई ढोगेर स्याल भाग्यमानी नहुने’ उखान संझें। यिनीहरूलाई अनावश्यक जिहजुरी गर्नुको तुक छैन। मैले आफ्नो निर्णय लिइसकेकी थिएँ। मलाई मेरो बैनीहरूको आडभरोसा थियो। उनीहरूप्रति म पूर्णतया विश्वस्त थिएँ।
एरिकको पनि मनमा कुरा खेलेछ क्यारे। अनुहार अनिदो र तेल सकिन लागेको दियो जस्तो मलिनो देखिन्थ्यो। मेरो नजिक आयो। खुब सम्झाउने कोसिस गर्यो। धुजाधुजा भै फाटेको मेरो मन सिलाउन खोज्यो। क्षमा माग्यो। क्षमा पनि दिन्थें होला-‘उसका व्यवहारहरू तिहारको झिलिमिली बत्ती जस्तै अज्यालो हुन्थ्यो भने।’
सुमसुम्याउन खोज्यो। सञ्चो मान्थें हुँला-‘हिउँझै जमेर बसेका पीडा र बुहार्तनका ढिक्काहरू पग्लने भए।’
म तर्केर पर सरेँ। बरबर आँसु झारयो र त्यही आँखा पिर्लिक्क पल्टाएर याचनाको भावमा मतिर हेर्यो तर ज्यादै ढिलो भैसकेको थियो।
‘ऐनाको महत्त्व फुटेपछि र सम्बन्धको महत्त्व छुटेपछि बुझेर के काम?’ एरिक! तैले दिएको दुःखको खलियोमा तैंले नै जल्नु न्यायसङ्गत हुनेछ।
यही मौकामा सम्बन्धविच्छेद चाहेको कुरा सुनाएँ। ऊ रन्थनियो। त्यही भुईमा थचक्क बस्यो र पुर्पुरामा हात राख्यो। पहिले त माया लाग्थ्यो नि। अति गर्नु, अत्याचार नगर्नु। माया त दोहोरो पो हुन्छ त। एकोहोरो रोटी कतै पाकेको छ र? अहङ्कारको वृक्षमा विनाशको फल यसरी लाग्न जाँदो रहेछ।
अदालतमा सम्बन्धविच्छेदको प्रक्रिया सुरु भएको छ। एरिकले डाडु जत्रै अनुहार लगाएको देखें। उसको आँखाको ऐनामा पश्चातापको पीडायुक्त चित्र प्रष्टै अंकित छ।
बाबुआमाको पनि अनुहारको बत्ती झ्याप्पै निभेको देखिन्छ। त्यसमाथि मैले बिगो रकम राम्रै पाउने भइछु। म अत्यन्त खुसी र प्रफुल्ल छु। सानातिना आवश्यकताका लागि पनि मलाई तड्पाउने मान्छेलाई राम्रै सवक भएछ। हारेको जुवाडे समान निर्घात रन्थनिएको छ ऊ।
मेरो मन प्रफुल्ल हुनुमा अर्को पनि कारण छ। सम्बन्धविच्छेदको प्रक्रिया सकिएको एक महिनाभित्रै यही अदालतमा तिनै अङ्गुरको ग्राहक लि जो मलाई सारै माया गर्छन्, उनैसँग मेरो विवाह हुने पक्का भैसकेको छ। अनि मन खुसी हुँदैन त? मेरो टुटिसकेको घरबार पुनः जोड्ने काम बैनीहरूले तय गरे र सम्पन्न पनि हुँदैछ। यो खुसीमा ताली बजाएर हर्षबढाइँ गरिरहेछन्। उनीहरूलाई हृदयदेखि धन्यवाद।
मलाई पुतली जस्तै सिंगारे। ऐना हेरें। सेतो गाउनमा सबै गहना सोरोस्किको भएकाले विशेष खुलेको थियो। म स्वयंलाई आफू अत्यन्त सुन्दर लागें। अनुहारभरि खुसी पोखिएकाले होला सुन्दरता झन् निखारिएको थियो। विगतसँग कुनै गुनासो, पश्चात्ताप थिएन।
आगत अत्यन्त मनमोहक थियो। दुःखको झरीले भिजेको यो जिन्दगीमा सुखको पारिलो घाम ताप्न पाइने देखेँ। जुन र घाम एकैचोटि उदाए जस्तो उज्यालो भविष्यको कल्पनामा मन हिमालझैं हाँसेको छ। हृदयभरि उत्साह र उमङ्गको फूलबारी मगमगाइरहेछ। समयको खेल अचम्मैको छ।
साँझमा लिले भव्य पाटीको आयोजना गरेका थिए। हामी दुवैतिरका परिवार र थोरै अन्य पाउनाहरू छौं। लिले मेरो कानमा खुसुक्क भने, “तिम्रै अङ्गुरको वाइन त हुन् यी सबै! पुलुक्क हेरें। तिनै वाइनका बोतलहरूले पनि मलाई बधाई तथा शुभकामना दिइरहेका महसुस भयो।
-सीता अर्याल
प्रकाशित: ५ पुस २०८० ०७:०२ बिहीबार