१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

अनुभूतिका मिठा कोसेली

निबन्ध

शरद्को अन्तिम अन्तिम मैजारोको याम। यही मौसम हो दसैंको बिदाइ र तिहारको स्वागतमा प्रकृति खुलेर हाँसिरहेको। यही हाँसोमा घुमघामको धुमधामले यात्राको स्वरूप धारण गर्ने। पानी पर्दैन, हिलोमैलो हुँदैन। मानिसका व्यस्तता पनि कम हुँदै जान्छन्। फुर्सदको थोरै समयलाई सदुपयोग पनि गर्नु हो। यही मेसोमा भ्रमणको साइत जुर्छ, जुराउनुपर्छ।

सगरमाथा शिखर हाम्रो आस्थाको अग्लो पर्वत, जुन विश्वकै सर्वोच्च उचाइमा अवस्थित छ। त्यसकै उचाइ नाप्न विदेशीले कति परिश्रम गरेर सफलता पाए। कतिले ज्यानै फाले। सगरमाथा जानेहरूको लर्को लम्बिएकै छ। सगरमाथा चढ्ने र फेदीसम्म पुग्न मरिहत्ते गर्नेहरूको पनि कमी छैन।

सगरमाथालाई आँखाको स्पर्शले चुम्नेहरू कति कति? पाइलाले चुमेर सफलताको श्रेय पाउने कति भए कति। कति वृत्तचित्र, चलचित्र र लेखरचनाहरू सिर्जित भए। भनिसाध्य छैन शिखर चढ्ने र सिर्जना–कर्मका नालिबेलीहरू।

एक अनुपम सौन्दर्यको भण्डार यो जहाँ मानिसका मन रमाउने अनेकौं छन् प्राकतिक छटा–छविहरू। निश्चय नै त्यहाँ आँखा स्वतः रमाउने छन्। मन स्वतः उल्लासले रमाउने छन्। खुसी र हर्षले बेग्लै अनुभूतिमय आलेखमा आकृतिबद्ध हुने छन्।

सगरमाथा यात्रा रोमाञ्चक प्रस्थानको प्रथम पाइला हो। विश्वका पर्यटकहरू नै लोभिएका यहाँ आउन। जति जोखिम भए तापनि जानेहरूको मन डराएको छैन। नजानेहरूको मन चाहिँ डराउँछ बरू। कति मिठा सपनाहरू सजाएर त्यहाँ जानेहरू गइरहेका छन्। तिनै जानेहरूको जमातमा म पनि जाँदै छु। म पनि सगरमाथा फेदीसम्म हिँडेको छु।

विश्वका पदयात्री र आरोहीहरूको आकर्षणको पृथक् स्थल, प्रिय गन्तव्य हो सगरमाथा। हरेक वर्ष हजारौं यात्रीको ओइरो लाग्छ यहाँ। ती हजारौं यात्रीले अर्को वर्ष थप हजारौं यात्रीलाई निम्तो दिन्छन्। हरेक वर्ष विदेशी पयर्टकहरू सगरमाथाको आरोहण र पदयात्रामा निर्धक्क निम्तिन्छन्। सायद यसरी नै निम्तिइरहेका छन्।

आरोहणको दुर्लभ र जोखिम अनुभव सँगाल्नेहरू यहीं आउँछन्। पदयात्राको दुर्लभ दृश्यमा रमाउनेहरू यतै भेटिन्छन्। नयाँनयाँ दृश्यहरूमा हराउँदै, रमाउँदै जीवन बुझ्न यतै आउँछन्। बुझेर जीवनलाई प्रकृतिसँग मिलन गराएपछि देख्नुका बग्रेल्ती सुन्दरताका मुस्कानहरू। अनि हिमालसँग साक्षात्कार भएपछि अनौठो अनुभूतिका अभिलेखहरू मिठा मिठा। त्यही मिठासयुक्त अनुभवहरूको कोसेली ल्याउने धोको र ध्याउन्न अरूहरूको जस्तै मेरो पनि।

हिँड्नु भनेको बाँच्नुको एकपल अर्को उपलब्धी हो। अर्को जीवनको महसुस ग्रहण गर्ने अवसर पनि हो। त्यसमाथि सगरमाथाको सगर छुने यात्रा !

हिमालै हिमालको हिउँचुलीमा चोबलिँदै सारा दिन हिउँमै बिताउँदाको अनुभव कस्तो रहला? धेरै रहर, चौचौ र चुलबुल। हरपल जिज्ञासाले चिथोरिँदै। पुग्ने हतपतले हतारिँदै। सगरमाथाको निम्तोमा पाहुना बन्न उत्सुक मन। भाैतारिँदै, छटपटिँदै पलपल। पाइने खुसीले कति आह्लादमय क्षण होला भन्ने कौतूहल।

यस्तै जीवनको अर्को सुन्दर, शान्त, एकान्त प्राकृतिक संसारमा विचरण गर्न मैले पनि पाइला सार्दै छु। लोभिँदै संसारकै आँखा गडेको हिमालका बिछट्टका दृश्यहरू। हिमाली साम्राज्यका परिवेशहरू। आँखाले भेट्नु छ प्रकृतिका मनोरम फाँटहरू। पाइलाले टेक्नु छ हिउँका उरुङ्खातहरू। रमाउनुसम्म रमाउने चाहनालाई तृप्त पार्नु छ। आँखाको भोक मेटाएर परमानन्दमा लीन हुनु छ।

हिमाली लेकमा कति चिसो होला मौसम? मुटु कमाउने जाडोले कति सास्ती देला? हिउँ परेको दृश्यमा भिज्न, रुझ्न पाउँदा थाहा छैन मन कति रमाउँला, कति डराउँला?

‘सगरमाथा!’ नामले नै आनन्द महसुस हुन्छ। यौटा बेग्लै अज्ञात खुसीले मन हर्षित हुन्छ। एउटा बेग्लै यात्राले मन उत्सुक हुन्छ।

हिँड्नुको मज्जा पनि होला, नमज्जा पनि लाग्ला। खर्च, बिखर्च, थकाइ र आराम सबै समेट्दै, सँगाल्दै अविच्छिन्न हिँडाइ एक नियमित क्रम हो। पुग्नुको प्रतिफल अतिशय प्रेमिल, हार्दिक र अनुभूतिको विशालतामा विस्तारित नहोला भन्न सकिँदैन। त्यही विशालतामा तैरिँदै यात्राका तमाम अनुभूतिलाई आत्मसात गर्न सक्नुको सफलता निकै ठुलो हुन्छ।

अनुभूति भन्नु जीवन–यात्राका भोगाइहरूको अभिव्यक्ति हो। तिनै भोगाइका अभिव्यक्तिहरूमा पाइन्छ मिठा मिठा कोसेलीहरू। मन छुने दृश्यमय आकृतिका अनुभूतिमय भावहरू।

मैले पनि यस यात्रामा साँचेको सुख सुन्दर छ। मैले खोजेको दृश्य–सौन्दर्यको सुख आफैमा अलग्ग यात्रा–वृत्तान्तको मिठासले भरिपूर्ण छ। जहाँ मैले भेट्नु छ जीवनमा असीम आनन्द खोज्न आएका पर्यटकहरू। र, जीवनयापनका लागि परिश्रममा रमाउने नेपाली ज्यानहरू।

हिँडाइको साइत जुर्नुअघि गन्तव्यको पहिचान हुन्छ। त्यसपछि त्यस गन्तव्यका विशेषताका भलिभाँती विशेषताहरू खोजिन्छ। हेर्नुपर्ने दृश्यका नालिबेली बटुलिन्छ। बस्ने ठाउँको सुविधा र अन्य सेवाबारे बुझिन्छ। मौसम र मानिसको व्यवहार पनि जान्ने मन हुन्छ। बाटोको अवस्था र बोक्नुपर्ने लुगा, खाना आदिको व्यवस्था पनि गरिन्छ। यीलगायत गन्तव्य स्थानका खास दर्शनीय स्थानहरूको जानकारी जम्मा गरिन्छ।

वास्तवमा घुम्ने योजनाको चाँजोपाँजोसँगै त्यस स्थानले आँखा लोभिरहन्छ। मन त्यतै तानिरहन्छ। गन्तव्य नपुगेसम्म त्यहाँका बारे अनेक खुलदुलीले मन चञ्चल भइरहन्छ।

यात्रा भन्नु जीवनको भोगाइमा अर्को नयाँ अनुभूतिको प्राप्ति रहेछ। जीवनलाई केही फरक सोचाइ प्रदान गर्ने अवसर रहेछ। हिँडाइका क्रममा भेटिने, देखिने र गरिने अनुभूतिहरूले नवीनतम सोचाइको क्षितिज देखाउने रहेछ। जुन क्षितिजमा पुगेपछि यात्राको अनन्त र अविराम गन्तव्यको अर्को ढोका खुल्ने रहेछ।

साँच्चै कति सुन्दर छ प्रकृति! कति मनोरम र कति रङ्गीन छ संसार। आँखाले देखेसम्मका दृश्यमा मनको संलाप साह्रै प्रीतिकर हुन्छ। त्यही प्रीतिले भावनाका भेल बग्छन्। अनुभवका अभिलेख लेखिन्छन्। विचारका विम्ब निर्माण हुन्छन्। प्रकृतिले धेरै भावना दिन्छ। अनुभव र विचारको सिलसिलालाई व्यापक र विस्तार गर्छ।

अन्ततः यात्रा सुखद बन्छ। यात्रा स्मरणीय रहन्छ। पाइला–पदचापका कस्तै कठिनाइ भए पनि हिँड्नुको सास्ती केही लाग्दैन। ठेस लागे पनि, रात परे पनि केही हुँदैन। केवल पुग्नुको हतारोले शक्ति बढाइरहन्छ। धैर्य गर्न सिकाइरहन्छ। आँखाहरू दृश्य–दर्शनमा व्यस्त भइरहन्छन्।

अनुभूतिका मिठा–मिठा कोसेली बटुलेर ल्याउने सपना मनभरि सजाएर हिँडेको छु यात्रामा। यो यात्रा आफैमा रोमाञ्चक पनि छ, चुनौतीपूर्ण र चमत्कारमय पनि किनभने सगरमाथा फेदीसम्म पुग्ने सपना चानचुने हुन सक्दैन। सामान्य होइन र हुँदैन पनि।

मेरो यो यात्रा एक प्रदीप्त जीवनको पहिलो बिहानी हुने छ। यात्रा–निबन्धको पृष्ठपानामा नव आलोक बनेर लेखिने छ, आफूलाई कत्ति पनि नलुकाइ अनुभूतिहरूमा। कतै नढाँटी, नछक्याइ मनहरूलाई। यथार्थ भोगाइका दस्तावेज निर्माणमा अलिकति कोसिस बन्ने छ यो यात्राको कोसेली। अनुभूतिका मिठा–मिठा कोसेलीहरू वैयक्तिक भावनाका उच्छवास मात्रै हुने छैनन्। सगरमाथा फेदीसम्म जीवन र प्रकृतिको अविराम अभिलेख पनि हुने छ। शुभयात्राको मङ्गल कामना मेरा पाइला र पदचापहरूलाई।

प्रकाशित: १८ कार्तिक २०८० ०२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App