२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

नवरात्रमा शक्तिको महिमा

संस्कृति

प्रत्येक वर्ष हिन्दु धर्मालम्बीले धुमधामका साथ मनाउने महान् चाड नवरात्र शक्तिको महिमा दर्साउने उल्लासमय अवसर हो। ‘अथर्ववेद,’ ‘मार्कण्डेय पुराण’ र ‘देवीभागवत’ आदि ग्रन्थहरूमा देवीलाई शक्तिकी मूल मानिएकाले आश्विन शुक्लपक्षको शारदीय नवरात्रलाई दसैं मानिएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको शुभ–मुहूर्तमा घरघरमा देवी भवानीको स्थापना, आह्वान र विसर्जन हुन्छ। नवरात्रको पहिलो दिनको शुभ–साइतमा जौको जमरा रोपेर सुरु हुने बडादसैं दसौं दिनमा मान्यजनबाट आशीर्वचनसहित टीका, जमरा र प्रसाद ग्रहणसँगै समापन हुन्छ। शक्ति उपासनाको यस पर्वलाई मोहनीको नाममा समेत मनाइन्छ। यद्यपि विगतमा प्रत्येक चार ऋतुमा दसैं मनाउने प्रचलन रहेको ‘देवी भागवत’ मा उल्लेख छ।

देश तथा विदेशबाट ठुलाबडाको आशीर्वाद लिन दसैंमा घर फर्कनेको लर्को लाग्छ। सरकारले दिने लामो बिदाले पारिवारिक जमघट, नातेदारसँग भेटघाट, इष्टमित्रसँग पुनर्मिलन, विदेश भ्रमण, पिङ र मनोरञ्जनको अवसर जुट्छ।

नयाँ लत्ताकपडा र थरीथरीका व्यञ्जनसहित खानपान र भोज–भतेरको आयोजना हुन्छ। ठाउँ ठाउँमा पण्डालहरू बनाएर दुर्गाको मूर्ति स्थापना गरी पूजा हुन्छ र पूजित मूर्ति दसैंको एकादशीको दिन विसर्जन हुन्छ। नवरात्रको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यत्र तत्र सर्वत्र बज्ने ‘मालश्री धुन’ ले धार्मिक उमंगको वातावरण सिर्जना गर्छ।

नवरात्रमा शक्तिकी देवीको आराधनाले मनभित्रका सम्पूर्ण आकाङ्क्षा पूर्ण हुने धार्मिक मान्यता छ। भौतिक/शारीरिक/मानसिक कष्टबाट मुक्ति तथा शान्तिका लागि महाकाली, महालक्ष्मी र महासरस्वतीको उपासना अलौकिक मानिन्छ।

महाकालीले जगत्को संहार, महालक्ष्मीले पालनपोषण र महासरस्वतीले ज्ञानको सञ्चार गर्ने शास्त्रीय मान्यता छ। महाअष्टमी र महानवमीको देवी पूजामा शक्तिको प्रार्थना हुन्छ, जसले अर्थ, काम, मोक्ष र धर्म प्राप्ति हुनुका साथै रोग, दोष र शोकको निवृत्ति गर्छ। यश, बल र आयु वृद्धिका साथै धनधान्य, सौभाग्य र आरोग्यका लागि नवरात्रभर गरिने चण्डीपाठभित्र जप, तप र ध्यानको विशेष महत्व छ।

महाकाली, महालक्ष्मी र महासरस्वतीले ब्रह्माण्डीय धर्मअनुरूप लोककल्याणका खातिर युद्धद्वारा असुरहरूको सर्वनाश गरेका प्रशस्त उदाहरणहरू छन्।

कतिपयले शक्तिकी देवीलाई प्रसन्न तुल्याउन खड्ग स्थापना गरी आराधनाका साथ पशुबलि दिँदै (अ)प्राविधिक रूपमा हातहतियारको देवत्वकरण गर्छन्। यद्यपि वेद र महाभारतले हातहतियार र युद्ध विज्ञानलाई ब्रह्माण्डीय धर्मअनुरूप प्रमाणित गर्छ भन्ने बहस अमेरिकाको चर्चित पत्रिका ‘बिजनेस इनसाइडर’ ले समेत गरेको छ।

महान् वैज्ञानिक अलबर्ट आइन्स्टाइनको आध्यात्मिक विश्वासयुक्त फरक अवधारणामा ब्रह्माण्डीय धर्म (कस्मिक रिलिजन) ले वैज्ञानिक कार्यमा आफूलाई कसरी स्थिर ग¥यो तथा एक–अर्काबाट त्यसलाई अलग गर्नु दृष्टिगत भ्रम भएको दर्साउँछ। यसर्थ पूर्वीय संस्कृत दर्शनबाट ज्ञान, भक्ति र शक्तिको ब्रह्माण्डीय स्वरूप उजागर हुन्छ।

नवरात्रभर प्रेतमा चढ्ने चामुण्डा, राँगोमा चढ्ने वाराही, साँढेमा चढ्ने माहेश्वरी, हात्तीमा सवार हुने इन्द्राणी, गरुड वाहन हुने वैष्णवी, मयूर वाहन हुने कौमारी, हंसमा बस्ने ब्राह्मी र सिंहमा चढ्ने सिद्धिदात्री लगायत थुप्रै शक्तिदात्रीहरूको महिमा ‘दुर्गासप्तशती’ ग्रन्थमा उल्लेख छ।

देवी भवानीले शिवजीको अनुरोधमा दुर्ग नामक दैत्यलाई युद्धपश्चात् नष्ट गर्दाको स्वरूप दुर्गा हो। मधु र कैटभ नामक दानवहरूलाई ब्रह्माको प्रार्थनाबाट नष्ट गर्दाको स्वरूप महाकाली हो। तीनै लोकको कल्याणका खातिर गौरीको शरीरबाट उत्पत्ति भई शुम्भ, निशुम्भ र धूम्रलोचनजस्ता दैत्यलाई नष्ट गर्दाको स्वरूप महासरस्वती हो। त्यस्तै चण्ड र मुण्ड दैत्यहरूलाई नष्ट गर्दाको स्वरूप चामुण्डा हो।

नवरात्रको पहिलो दिन अर्थात् घटस्थापनाको बिहानै उज्यालो नछिर्ने गरी राखिएको पूजाकोठामा अष्टमंगलको चिह्न भएको पूर्णकलशको स्थापना गरिन्छ। चोखो र सफा बालुवामा जौको जमरा उर्मानका लागि जौ रोपेर पितृ, इष्टदेवी र कूलदेवीसहित शैलपुत्रीको आह्वान हुन्छ।

शुद्ध जलले भरिएका घडाहरूमा नवदुर्गाका नौ रूप क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको प्रतिमूर्ति मानेर गोबरले लेपन गरी नौवटा आसन बनाई घडावरिपरि समेत जौ छरिन्छ। विधिपूर्वक न्यासध्यानका लागि केशरले षट्कोण बनाई चन्दन, अबिर, अक्षता र फूलमाला चढाइन्छ।

नैवेद्यमा गाईको ध्युबाट बनेको मिठाई, फलफूल चढाएर शंख, घण्ट र डमरुको धुनसहित धुप बत्ती बाल्दै जगज्जननी भगवतीको प्राणप्रतिष्ठा हुन्छ।

नौ दिनको नित्य पूजा पूर्व प्रत्येक दिन पूजाकोठा प्रवेश गर्नुअघि शरीर, मन र आत्मा शुद्ध राख्न गौमूत्रको सेचन अनिवार्य छ। ‘कालिका पुराण’ ग्रन्थले घट अर्थात् कलशमा सप्तद्वीप, सप्तसागर, सम्पूर्ण देवीदेवता एवम् तीर्थहरूको उपस्थिति जनाएको छ।

दोस्रो दिन चुम्बकीय शक्तियुक्त ब्रह्मचारिणीको सख्खर चढाएर पूजा हुन्छ। तेस्रो दिनको पूजामा ध्वनियुक्त शक्तिकी स्वरूप चन्द्रघण्टाको आराधनाका लागि गाईको दुधबाट बनेका परिकारसहित ऐना, सिन्दुर, पोते र गाजल चढाइन्छ।

चौथो दिनमा पञ्चामृतसहित मालपुवा चढाएर रासायनिक शक्तिस्वरूपा कूष्माण्डाको पूजा हुन्छ। पाँचौं दिनमा केराको भोग लगाउँदै धोती, साडी र वस्त्र चढाएर हिउँजस्तो सेतो वर्णकी आकर्षक स्कन्दमाताको पूजा हुन्छ। तेत्तीस कोटि देवगणको प्रार्थना पश्चात् क्रोधरूपी तेजबाट उत्पन्न भएकी, महिषासुर राक्षसको वध गरेकी र महिषासुरमर्दिनी नामले प्रख्यात कात्यायनीको गच्छेअनुसार गर–गहनासहित मह चढाएर छैटौं दिनमा पूजा हुन्छ।

सातौं दिन अर्थात् फूलपातीमा अशुभ र अज्ञानको कालको रूपमा चिनिएकी, डरलाग्दी र विनासिनी स्वरूपमा अवतरित भएकी नवदुर्गा भवानीलाई पंखा र छाता अर्पण गरी पूजा हुन्छ।

सन्ध्याकालमा फूलपातीका रूपमा केरा, दारिम, धानको बाला, कचु, बेलपत्ता, अशोकको पात र जयन्ती नवपत्रिका आदि पूजाकोठा÷देवीघरमा भित्र्याइन्छ।

उपत्यकाको संस्कृतिको विरासतका लागि कालो दौरा सुरुवालमा सेतो छालाको पेटारोसहित पछाडि भरुवा बन्दुक भिरेका, खुकुरी, ढाल, तरबार र शिरमा चाँदतोडा पहिरिएका, नेपाली सेनाको शार्दूल गुल्मको फौजले गोरखाबाट बाजागाजासहित ल्याएको फूलपाती काठमाडौंको हनुमानढोका दरबारको दसैंघरमा भित्र्याइन्छ।

काठमाडौंको टँुडिखेलमा राष्ट्र तथा सरकार प्रमुखसहित उच्च पदस्थ कर्मचारी वर्ग र विदेशी नियोगका पाहुनाहरूका साथै सर्वसाधारणको उपस्थितिमा सेनाले तोप र बन्दुक पड्काएर हर्षबढाइँ गर्छ। देशैभर सेनाले हर्षबढाइँ गरेपछि फूलपाती भित्रिएको र दसैं चढ्किएको मानिन्छ।

आठौं दिन अर्थात् महाअष्टमीमा अत्यन्तै शान्त स्वभावकी भद्रकाली स्वरूपकी महागौरीको नरिवल चढाएर पूजा हुन्छ। कन्या पूजाको महत्व अपरम्पार भएकाले नव कन्याहरूको विशेष पूजा हुन्छ। वैदिक मन्त्रसहित बलिका रूपमा कुभिण्डो, बेल, नरिवल, उखु र पशुको छेदन हुन्छ।

रात्रिकालमा ध्वन्यात्मक शब्दयुक्त कालरात्रि पर्व मनाउनुका साथै सेनाले हनुमानढोका दरबार परिसरमा पशुपन्छीको बलि दिने परम्परा छ। तथापि पछिल्लो समयमा पशु बलिको प्रचलन कम हुँदै गएको छ। यद्यपि शास्त्रले मनुष्यमा अवस्थित काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य (डाहा) जस्ता दुर्गुणहरूको नास, त्याग र बलिदान गर्ने कार्यलाई बलि मानेको छ।

नवौं दिन अर्थात् महानवमीमा अर्धनारीश्वरको रूपमा प्रसिद्ध कान्तिमय दिव्य सिद्धिदात्रीको पूजा हुन्छ।

देवीको चार हातद्वारा अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व गरी आठ सिद्धि प्राप्त हुने मान्यता छ। यस दिन ‘सप्तसती’ र ‘देवीभागवत’ ग्रन्थहरूको पाठ पूर्ण गरी वैदिक मन्त्रसहित हवन हुन्छ।

बटुकद्वय गणेश र भैरवलगायत दुई वर्षदेखि दश वर्षसम्मकी नौवटी कुमारी कन्याहरूलाई देवीको रूप मानेर टीका, प्रसाद र दान–दक्षिणा दिएर प्रसन्न गरिन्छ। यसै दिन विश्वकर्माको पूजा गरी पाटपूर्जा, कलकारखाना, हातहतियार र वाहनमा यथोचित बलि दिइन्छ।

काठमाडौंमा अवस्थित तलेजु भवानीको मूल रूप महिषासुरमर्दिनी भएकाले नवदुर्गागणमा समाहित तन्त्रप्रधान र गुप्त रूपमा उपासित वर्षमा एक दिन मात्र खुल्ने मन्दिर महानवमीमा दर्शनार्थीका लागि खुल्छ।

त्रिपुरासुन्दरी देवीलाई अष्टमातृका गणमा समावेश गरी नवदुर्गाका रूपमा पूजा गरेपछि वत्सलादेवी, जयवागेश्वरी, गुह्वेश्वरी, ब्रह्मायणी, शोभाभगवती, नरदेवी, कालिकास्थान, मैतिदेवी, माहेश्वरी, वैष्णवी, कौमारी, इन्द्रायणी र वाराही लगायतको दर्शन गर्ने चलन छ।

दशौं दिन अर्थात् विजयादशमीमा असत्यमाथि सत्यको विजय भएको, श्रीरामले रावणसँग युद्ध जितेको र दुर्गा भवानीले महिषासुरको वध गरी विजय प्राप्त गरेको शुभ–अवसरको खुसियाली मनाइन्छ।

घरघरमा अपराजिता देवीको पूजा गरी दुर्गा पूजाको विसर्जन गरिन्छ। दही तथा अक्षता मुछिएको रातो टीका, हरियो–पहेंलो जमरा, रातो–सेतो कपडाको माला र प्रसादसँगै कालो तिलक (ध्वाँसो) को टीका ग्रहण गरे शत्रुमाथि विजय प्राप्त हुने, राज्य दाहिना हुने र हाँकेको–ताकेको पूरा हुने विश्वास छ।

तान्त्रिक रूपमा थापिएको ध्वाँसोले शरीरमा तेजतŒवको वृद्धि गर्ने भएकाले तान्त्रिक पूजामा ध्वाँसो अनिवार्य छ।

शुभ–मुहूर्तमा वैदिक मन्त्रोच्चारणसहित मान्यजनको आशीर्वादबाट टीका–जमरा र प्रसाद ग्रहण गर्दै टीकाटालोको कार्यक्रम सुरु हुन्छ, जुन कोजाग्रत पूर्णिमासम्म अविरल रूपमा चल्छ।

अणु–परमाणुमा तेजतत्त्व र ध्वनितत्त्व हुन्छ भन्ने वैज्ञानिक प्रमाण भएकाले देवीलाई ईश्वरीय शक्तिको स्वरूप मानेर सत्त्व खोजे शक्ति भेटिन्छ भन्ने तर्क अनुरूप नवरात्रमा ध्यान गर्न अपरिहार्य छ।

दुःख–कष्ट, रोगव्याधि र दरिद्रताबाट मुक्तिका लागि गर्ने जप, तप र ध्यानको विधि फरक–फरक छ। साधकले आफ्नो मनलाई मूलाधार चक्रमा स्थिर गर्ने ध्यान, नित्य पूजाअर्चनाको क्रममा मणिपुर चक्रमा गर्ने ध्यान, अनाहत चक्रमा मनलाई स्थिर गर्ने ध्यान, विशुद्ध चक्रमा गर्ने ध्यान, आज्ञा चक्रमा गर्ने ध्यान, ललाटमा गर्ने ध्यान, मष्तिस्कमा गर्ने ध्यान र मध्य कपालमा गर्ने साधनाको महत्व छ। विपस्यनाको ध्यान गर्ने अवधारणा उपरोक्त ध्यान र साधनासँग धेरथोर मेल खान्छ।

आचार्य रजनीश भन्छन्, ‘धर्मसँग यस्तो रहस्यमय चाबी छ, जसले हृदयको ढोका खोलिदिन्छ र जहाँबाट अमृतको वर्षा हुन्छ, त्यही चाबीको नाम हो ध्यान। यही ध्यानबाट घट्ने चामत्कारिक घटनाबाट साधक परम सन्तुष्ट हुन जान्छ।’

ध्यानबाट भक्ति, भक्तिबाट ज्ञान र ज्ञानबाट मोक्ष प्राप्ति हुन्छ। मोक्ष प्राप्तिका लागि तन शुद्धि, तनबाट मन शुद्धि, मनबाट आत्मा शुद्धि, आत्माबाट मस्तिष्क शुद्धि र मस्तिष्क शुद्धि पश्चात् विषयादि झमेलाबाट अलग हुनु सत्य हो। शक्तिको महिमाका सन्र्दभमा ‘सत्यभन्दा ठुलो कुनै धर्म छैन, झुटभन्दा ठुलो कुनै पाप छैन’ अर्थात् ‘नास्ति सत्यात् परोधर्मो नानृतात् पातकं परम्।’

धुवाँले जसरी आगोलाई, धुलोले ऐनालाई, जालोले गर्भलाई र सालनालले गर्भस्थ शिशुलाई छोपिदिन्छ, त्यसरी नै अज्ञानले ज्ञानलाई छोप्ने हुँदा ज्ञानरूपी सत्यको प्रकाशले अज्ञानरूपी असत्यको अन्धकार हटाई सुख, शान्ति र समृद्धिको कामना गर्नु हितकर छ।

‘वसुधैव कुटुम्वकम्’ को अथाह भावनाबाट ओतप्रोत नवरात्रले ध्यान, भक्ति र शक्तिको मार्ग अभिप्रेरित गर्ने प्रार्थना अत्यावश्यक छ। नवरात्रको पवित्र पर्वले निर्देशन गरेको शक्तिको महिमा अथाह भएकाले समस्त जगत्का लागि साधनाको स्रोत बनेको छ।

प्रकाशित: ४ कार्तिक २०८० ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App