युरोप-अमेरिका गएकाको पत्तो छैन
खाडी गएको छोरो पक्कै फर्कन्छ
कि बाकस डोर्याउँदै हाँस्दै फर्कन्छ
कि त बाकसभित्र चुपचाप फर्कन्छ।
उसका सपना धेरै छैनन्
त्यसैले स्वप्नजालमा ऊ पर्दैन
साउको रिन र सन्तानको फी तिर्न गएको ऊ
पोल्टो भरिएलगत्तै फर्कन्छ
कि बाकसभरि खेलौना बोकेर फर्कन्छ
कि बाकसभरि बिलौना बनेर फर्कन्छ।
ऊ फर्कन्छ भन्ने आशाले वृद्ध आँखा खुलै छन्
ऊ फर्कन्छ भन्ने विश्वासले घाम अझै ढलेका छैनन्
कि ऊ बाकसभरि भरोसाको उज्यालो लिएर फर्कन्छ
कि त ऊ बाकसभरि निराशाको अँध्यारो बनेर फर्कन्छ।
भिरपाखोमा कटेरो बनाउनु छ उसलाई
त्यसैले अपार्टमेन्टको किस्ता जालमा ऊ अड्कन्न
सन्तानसँगै खेल्दै गरेका बाआमाको तस्बिर खिच्नु छ
त्यसैले टावर अगाडिका तस्बिर पोस्ट गरेर मात्र बस्दैन
ऊ बाकसभरि खुसी खिच्ने क्यामेरा बोकेर फर्कन्छ
कि त बाकसमा आफै श्यामश्वेत तस्बिर बनेर फर्कन्छ।
अभावको जिन्दगीलाई सहज बनाउन हिँडेको ऊ
असहज बस्तीमा आफूलाई भुलाउँदैन
लेकमा ठडिएको हो ऊ
त्यसैले खाडीमा धसिने छैन
परिवारलाई अक्सिजन लिन गएको ऊ
उत्साहको सिलिन्डर भरेर फर्कन्छ
कि बेली-चमेलीको सुसेली गाउँदै फर्कन्छ
कि त बाकसभरि ओइलाएको फूल फर्कन्छ।
युरोप-अमेरिका गएकाको पत्तो छैन
खाडी गएको छोरो पक्कै फर्कन्छ
कि बाकसभरि वन्दना भरेर फर्कन्छ
कि त बाकसभित्र समवेदना बनेर फर्कन्छ।
प्रकाशित: ३० भाद्र २०८० ०४:०५ शनिबार