२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

साहित्यकारलाई मनको सलामी!

स्मृति

यो हप्ता सामाजिक सञ्जाल, रेडियो, टेलिभिजनहरूमा निरन्तर दुःखद खबर सम्प्रेषण भए। मंगलबारको सामाजिक सञ्जालका अभिव्यक्ति र तस्बिर हेर्दा एकादुई पानामा अन्य गतिविधिका तस्बिर तथा विवरण आए कि, अन्यथा सर्वत्र ‘हार्दिक श्रद्धाञ्जली !’, ‘अकल्पनीय घटना !’ जस्ता लिखत छापिए। त्यस दिन श्यामश्वेत अक्षरमा ‘हार्दिक श्रद्धाञ्जली !’ पाइरहेको एउटा अनुहारको नाम थियो-राजेन्द्र पराजुली।

साहित्यकार पराजुलीको मंगलबार बिहान बी एन्ड बी अस्पतालमा निधन भएको हो। पराजुली पचासको दशकदेखि सक्रिय कवि, कथाकार एवम् निबन्धकार हुन्। उनका ‘जन्तरमन्तर’, ‘अघोरी’, ‘कोटेश्वरको केटो’, ‘शुक्रराज शास्त्रीको चस्मा’, ‘अनायिका’, ‘सपनामा माक्र्स’, ‘जाडोमा भोक’, ‘भ्रष्ट संवेदना’, ‘विकल्प यात्रा’लगायतका कृति प्रकाशित छन्।

पत्रकारितामा पनि लामो अनुभव बटुलेका पत्रकार पराजुलीले नागरिक, राजधानी, नेपाल समाचारपत्र, आर्थिक दैनिक, हिमाल अबर, बाह्रखरी लगायतका सञ्चारसंस्थामा काम गरेका थिए।

सधैं कथा, कविता, निबन्ध, नाटक आदि सुनाउने–देखाउने साहित्यकारले मंगलबार पशुपति आर्यघाटमा बाक्लो उपस्थिति जनाएर श्रद्धाका साथ पराजुलीलाई बिदाइ गरे। एकैछिन अगाडि नजिकैको सोलामा एक सैनिक अधिकृतलाई बिदाइ गरिएको थियो।

सैनिक अधिकृतको बिदाइमा सेनाको एक टुकडीले सलामी अर्पण गरेर सम्मान प्रकट गरेको थियो। एकैछिनपछि त्यहीं नजिकै पराजुलीको अन्तिम बिदाइ गरियो। पराजुलीको बिदाइमा सैनिक बाजा घन्केनन्, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राई, उपकुलपति विमल निभा लगायतका सयौं साहित्यकारका शालीन मनले सम्मानस्वरूप ‘कोटेश्वरको केटो’को महाप्रस्थान भन्दै सलामी अर्पण गरे।

२०२१ सालमा कोटेश्वरमा जन्मेका पराजुलीको प्रथम कथा नयाँ सन्देश साप्ताहिकमा प्रकाशित भएको थियो। उनका कवितासङ्ग्रह, उपन्याससमेत प्रकाशित भएका छन्, तापनि कथाकारका रूपमा बढी चर्चा पाए। पछिल्लो समय उनी नयाँ उपन्यास लेखनमा जुटेका थिए। यद्यपि लेखनरत उपन्यासले टुङ्गो नपाउँदै उनले देह त्याग गरे।

पराजुली दुरुह साहित्यको पक्षमा थिएनन्। ‘साहित्य यदि जीवन हो भने जीवनका जटिलतालाई सरल ढंगले लेख्न सक्नु पो खुबी हो त, सरल र सामान्य घटनालाई पनि प्रयोगको नाम दिएर जटिल बनाउँदा कहाँ खुबी देखिन्छ र?’ साहित्यसम्बन्धी पराजुलीको अभिव्यक्ति हो यो।

उनको जीवन अनि व्यवहार सरल थियो, यद्यपि लेखनमा भने कठोर देखिन्थे, यथार्थ घटनालाई निर्भीक भएर अभिव्यक्ति दिने लेखक। ‘राजेन्द्र पराजुली निर्भीक, आलोचनात्मक विवेक र खरो बागीपनले बनेका मानिस हुनुहुन्थ्यो। जतिसुकै रुखो कुरा होस्, सामुन्ने नै भनिदिने, अग्रज-अनुज कसैलाई पनि चिप्ला शब्दले कुरा नगर्ने, आफ्नो विवेकको ठहर भैसकेपछि कुनै हालतमा सम्झौता नगर्ने। विवेक, आत्मसम्मान र स्वाभिमानलाई व्यक्तिगत लाभहानीले नतौलने,’ लेखक सरिता तिवारीद्वारा सामाजिक सञ्जालमा व्यक्त यस भनाइले पनि उनको निर्भीकतालाई नै प्रस्ट पार्छ।

‘उमेर-अवस्था पुगेर जानु त प्राकृतिक नियम नै भयो तर समय अगावैचाहिँ कोही पनि जान नपरोस्। हामीलाई लागेर नहुने रहेछ, नियतिलाई नलागेपछि। जीवन न हो, यो जीवनको के भर? कहिले, कहाँ, कतिखेर के हुन्छ भनेर कसैलाई पत्तो नहुने !’

भिडबाट निराशाका यस्ता आवाज सुनिन्थे। २०६२ साल जेठ २५ गते दार्जिलिङ भ्रमणमा गएका बेला साहित्यकारको टोली खर्साङ घुमघामका लागि चढेको गाडी दुर्घटना पर्दा कवि विनय रावलको निधन भएको थियो भने पराजुली गम्भीर घाइते भएर बाँच्न सफल भएका थिए।

पराजुलीलाई अन्तिम बिदाइ गर्दा यो घटनालाई पनि धेरैले सम्झिरहेका थिए। यस घटनालाई पराजुलीको शारीरिक-मनोवैज्ञानिक परिवर्तनको मोडका रूपमा लिने गरिन्छ। ‘यस घटनाअगाडिका पराजुली र पछाडिका पराजुलीमा परिवर्तन आयो। त्यसपछाडि शारीरिक-मानसिक रूपमा उहाँ अलि शिथिलजस्तो देखिनुभयो,’ नागरिक दैनिकमा सँगै पत्रकारिता गर्दाको अनुभव सुनाउँदै लेखक/चिन्तक अच्युत कोइरालाले बताए, ‘यद्यपि उहाँको लेखनशैली तथा अनुजहरूप्रति गर्ने लेखकीय सद्भाव लोभलाग्दो हुन्थ्यो। अभिव्यक्ति प्रस्ट गर्न सक्ने क्षमता उहाँमा थियो।’

‘मृत्यु नै अन्तिम सत्य हो तथापि सर्जकलाई भने आफ्ना सिर्जनात्मक कृतिहरूले सधैंभरि बचाइराख्छ अर्थात् जीवित राख्छ। साहित्यकार एवम् पत्रकार राजेन्द्र पराजुलीको असामयिक निधन हुनु साहित्य एवम् पत्रकारिता जगत्का लागि मात्रै नभई राष्ट्रकै लागि पनि अपूरणीय क्षति हो,’ साहित्यकार उषा शेरचनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्।

लेखक खगेन्द्र सङ्ग्रौला सामाजिक सञ्जाल ट्विटरमा लेख्छन्, ‘जीवनको अवसानमा तिमी मेरो अघि लागेको सुन्नुपर्ला भन्ने मेरो मनको कुनै कुनामा थिएन, आफ्ना जीवन्त शब्दहरूमा हाम्रो स्मृतिमा तिम्रो सदैव बास हुनेछ।’

सामाजिक सञ्जाल फेसबुकमा कवि विप्लव ढकाल लेख्छन्, ‘फेरि साँझ परेको छ। म विचारशून्य बनेको छु। रित्तो बनेको छु। तिमी धूवाँ बनेर भरखरै महाशून्यमा प्रस्थान गर्‍यौ। म आर्यघाटबाट भर्खरै घरमा आइपुगेको छु। बाहिर झरी परिरहेको छ। म भित्रभित्रै निथु्रक्क भिजिरहेको छु।’

प्रकाशित: ३० भाद्र २०८० ०३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App