१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

ओरालो झरेर उकालो चढ्छु

निबन्ध

ओरालो झरेर म उकालो चढ्छु। बगेर उँधोतिर म माथिमाथि धेरै माथि पुग्छु। ओरालोको मेरो यात्रा तर उकालोको शिखर–सफलता! म नभए संसारै पानी प्यासले काकाकुल। म कति भाग्यमानी, कति सौभाग्यशाली। अक्करे भिरको चट्टानमा पनि रसाएर बगिदिन्छु। पखाल्छु, सफा सिनित्त पार्छु, वेग मार्छु। ओरालै बाटो मेरो गन्तव्य–यात्रा। सगरदेखि सागरसम्मको दुरी। विश्राम भन्ने शब्द छैन। थकाइ महसुस गर्ने फुर्सद छैन।

ओरालोलाई उकालोको भरथेग। ओरालोले उकालोलाई समात्न सक्दैन। उकालोले ओरालोलाई रोक्न सक्दैन। ओरालोको अस्तित्व जीवन्त हुन्छ।

बग्दै–बग्दै तल–तल। झर्नु झर्दै झन्–झन् तलतिरै। उकालो उचाइ यात्रा होइन। ओरालो झरेर, बगेर सागर भेट्टाउने मेरो लक्ष्य। म उँभोतिर होइन, उँधोतिर कुद्दाकुद्दै। अविच्छिन्न, अविरल  बगेर तलतिर।

भन्नेहरूले भन्छन्। भन्दै गरून्।

‘ओरालो झर्नु भनेको असफलता र अवनतिको खाडलमा जाकिनु हो। ओरालो लाग्नु भनेको सबै कुराबाट एक्लिनु हो। ओरालो भनेको अपशकुनको बाटो हो।

झरिन्छ तल र माथि पुग्नलाई उठ्न सकिँदैन। प्रगति बाधक बन्छ। प्रयास खेर जान्छ। प्रशस्ती कसैले गर्दैनन्। प्रचुर सम्भावनाहरू सबै धुलामा मिसिन्छन्। उठ्न सकिँदैन। जुट्न कठिन हुन्छ।’

परन्तु होइन, हुँदैन यस्तो अगति अवस्था ओरालो झरेर। ओरालै झरेर भेटिन्छ समथर भूमि र पुगिन्छ गन्तव्यसम्म। ओरालो झरेपछिका सम्भावनाहरू धेरै हुन्छन्। जस्तो कि उकालो चढेपछि त्यहाँभन्दा माथि उकालो कता जाने, के गर्ने ? गन्तव्य टुंगिन्छ र यात्रा रोकिन्छ। आखिर पुनः ओरालो नझरी फेरि अर्को सुखको दिन भेटिन्न। सफलता पाउन ओरालै झर्नुको विकल्प छैन।

यहाँनिर कवि तुलसी दिवसको निम्न कविता पंक्ति सम्झनामा आउँछन्।

कवि लेख्छन् :

उकालो चढ्दा–चढ्दै

उकालो नै सिद्धिएपछि

उकालो चढ्नेको पनि

केही लाग्दो रहेनछ।

अतः म ओरालै कुदिरहन्छु। ओरालै हिँडिरहन्छु। ओरालैमा मेरो जिन्दगी। यसमै मेरो मोजमस्ती। यही कर्ममै भेटेको छु जीवनका अनेक आयामहरू। देखेको छु हाँसोका छचल्कन र आँसुका हृदयविदारक दृश्यहरू पनि। एक्लै पनि दगुरिरहन्छु। दिन पनि उसरी नै अँध्यारो आंँसीको रातमा पनि त्यसरी नै पानी म, नदी भएर, खोलाखहरे, झरना, छहरा भएर बगिरहन्छु–बगिरहन्छु।

मेरो कुदाइमा विश्राम हुँदैन। मेरो यात्रामा अवरोध हुँदैन। म कतै छेकेर छेकिन्न। पर्खाल, पहाड कसैले कुनै छेकबारले मेरो यात्रा रोकिन्न। कसैले अवरोध गरे तिनैलाई बगाएर लैजान्छु आफैसँग। ओरालो झारेर आफैमा समाहित गराइदिन्छु।

बग्नु नै मेरो कर्म। ओरालो झर्नु नै मेरो धर्म। हरपल म मेरो यही कर्मधर्म  निर्वाहमा निरन्तर।

ओराल्नु भनेको झर्नु हो, खस्नु, भुइँमै थचारिनु। तर, मेरो यात्रामा कति सुन्दरताको संयोजन हुन्छ। मलाई देखेर, मलाई भेटेर दुःख बिर्सिनेहरू छन्। मसँग रमाएर मस्तले प्रफुल्लित हुनेहरू छन्। कति सांगीतिक राग सुसेलिन्छ। कति बोट–वनस्पतिको उपस्थिति हुन्छ। पुष्पयौवन मेरै स्वागतमा हुन्छ। लतालहरा मैसँग अँगालिन आउँछन्। चराचुरुंगी मेरै लयमा चिरबिराउँदै बेग मार्छन्। मलाई नै पिएर तृप्त हुन्छन्। गर्मीमा मसँगै चोबलिएर पखेटा फट्फटाउँछन्, आङ तन्काउँछन्। मैमाथि बाकटे हान्न तन्नेरी धाउँछन्। पौडिँदै–पौडिँदै मैसँग बग्छन्। रमाउँछन्, आनन्दले अघाउँजी हुन्छन्।

ठाउँअनुसार मेरा अनेकौं रूप र रङ हुन्छन्। हेर्दा म पानी, देख्दा पनि उही नाम। तर कहिले धमिलो, कहिले हरियो र निलो, कहिले सेतो सफा। धमिलिन्छु, सङ्लिन्छु, पोखिन्छु, बयलिन्छु, बतासिन्छु। मलाई नपिई प्राणीको जीवन छैन। म प्राण भरिदिन्छु। म प्यास बुझाइदिन्छु।

झरना बनेर कतै वेगले हाम फाल्छु तलतिरै, कतै मिसिन्छु अर्काे भँगालोसँग। शान्त, सुस्तरी कहिल्यै नबगेजसरी बगिरहन्छु। कहिल्यै सिधा सललल, कहिले नागबेली बग्दै जान्छु। तथापि एकैछिन रोकिन्नँ। रोकिनु हुँदैन मैले। कतै रोकिएर म जमिरहें भने विस्फोट भएर अर्को अप्रिय घटना घट्न सक्छ। त्यसको दोष मैले भोग्नुपर्छ।

एकछिन मबिना कोही बाँच्दैनन्। म कति आवश्यक, म कति महत्त्वपूर्ण। थाहा छ सबैलाई। मेरो अभाव हुनु हुँदैन कहिल्यै, कतै पनि। जहाँ पनि र जहिल्यै म चाहिन्छु। म पानी पानी नभई हुँदैन। तर म घमण्ड गर्दिनँ। सधैं आफ्नो कर्तव्यबोधले सचेत।

म मेरो काम गरिरहन्छु। ओरालो झरेर पनि सफलताको शिखर चुमिरहन्छु। सौन्दर्यको बिस्कुन फिँजाइरहन्छु। हेर्नेलाई आनन्दित पारिदिन्छु। पिउनेलाई प्यास मेटाइदिन्छु। कहिले इन्द्रेणी रङमा बिछट्टको विम्ब देखाइदिन्छु।

म प्रकृतिको अनुपम वैभव। अत्यावश्यक जलसम्पदा। म नभए कहाँ हरियाली। उर्वर रहँदैन भूमि। सुक्खा खडेरी प्रकोपले मरुभूमि बन्छ जमिन।

रहँदैन जीवन–प्राणको अस्तित्व सुरक्षित र सन्तुलित। मबाटै सिञ्चित संसार–समग्र। मौसमअनुसार कहिले म सुक्छु पनि, कहिले मूल फुट्छु।

म प्रकृतिको अनुपम वैभव, अत्यावश्यक जलसम्पदा। म नभए कहाँ हरियाली। उर्वर रहँदैन भूमि। सुक्खा खडेरी प्रकोपले मरुभूमि बन्छ जमिन।

बर्खाको बेला त भेलबाढीमा डरलाग्दो रूप लिएर बग्छु। स्वतन्त्र बगिरहने मेरो बाटो छेक्ने कतिपय अवरोधलाई बगाउँछु पनि। दैवीप्रकोपको यस्तो घटनाले कतिको घरपरिवारै सखाप हुन्छ। मैले कसैलाई बचाउन, जोगाउन, केही गर्न सक्दिनँ किनभने मेरो बाटो छेकेर मलाई अवरोध गरेपछिकै परिणाम हुन् यस्ता दुर्घटना घटित हुनु। जलमग्न जमिन हुनु र बाढीपहिरोको प्रकोप ऋतुमासअनुसारको परिवर्तन हो। बर्सातको याममा पानी पर्छ, पर्नुपर्छ, परिरहन्छ। मनसुनी वर्षाले बबन्डर पनि गर्छ। प्रकृतिको नियम पालना गर्नैपर्छ मैले।

माथिमाथि हिमाली पाखादेखि पहाडी कन्दरा, लेकबेंसी हुँदै तराईको समथल भूभागमा पनि ठाउँअनुसारको मेरो गति हुन्छ। कतै खेतीभूमिलाई सिँचाइ, कतै पिउने पानीको व्यवस्था। अनकन्टारको पखेराबाट बग्दै झर्छु, सिँचाइ गर्दै बग्छु। प्यासले प्याकप्याक्ती परेकालाई अमृतरूपी पानी पियाएर हिँड्छु। मलाई पिएर बाँच्नेहरू सबै। म सबैलाई प्यास बुझाएर पनि भरिपूर्ण सधैं। सकिन्नँ कहिल्यै, रित्तिन्नँ कदापि म पानीको भण्डार। म विशुद्ध पानी हुँ पानी। स्वाद र रङविहीन, झरेर ओरालो तर कठिन उकालो यात्राभन्दा पनि उन्नत काम गरिरहेछु।

प्रकाशित: ३० भाद्र २०८० ००:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App