२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

जहाँ विपीका नाममा चार दशकदेखि कोठा खाली छ

प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (विपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि  उनकै नाममा खाली छ। भरतपुर महानगरपालिका-२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ। त्यतिबेला विपी सुत्ने काठको खाट सफा तन्नाले ढाकेर राखिएको छ।

‘घर बनेपछि यो कोठामा विपी कोइरालाबाहेक अहिलेसम्म कोही पनि सुतेको छैन’, ९० वर्षीया गौरीदेवीले भनिन्। उनका श्रीमान स्व. श्यामकृष्ण प्रधानसँग विपीको निकट सम्बन्धका कारण परिवारको एक सदस्यका रूपमा प्रधान परिवारले उनलाई लिने गरेको थियो।

२००६ सालमा बन्दीपुरमा प्रधानको विपीसँग चिनजान भएपछि उक्त  सम्बन्ध बाँचुञ्जेलसम्म रहिरह्यो। गौरीदेवीले भनिन्,‘अरू नेता आउँदा पनि विपीको कोठामा कसैलाई पनि बस्न दिइएन।’

कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा लगायत नेता आउँदा पनि कोहीलाई माथिल्लो तला र कोहीलाई भुइँ तलामा सुत्ने व्यवस्था गरिएको उनी बताउँछिन्।

‘घर बनेदेखि विपी यही घरमा बस्नुभएको हो’, गौरीदेवीले भनिन्। छतमा मन्दिर भएको घरको अगाडितर्फ दुईतिर ठूला झ्याल भएको पहिलो तलाको खुला कोठामा विपी बस्थे। रातो रङको यो घर २०२६ सालमा निर्माण भएको हो।

घरको पहिलो तलामा आराम गरिरहेकी गौरीदेवीले भनिन्, ‘विपी बाबुले गिरिजा बाबुलाई भनेको मलाई अहिले पनि सम्झना छ। ‘गिरिजा चिन्यौं, घरको परिवार जस्तै हो, जहिले पनि यही आएर बस्नु है।’

गौरीदेवीको मामाको छोरा धर्मभक्त माथेमालाई राणा शासकले मारेकाले उनमा क्रान्तिकारी जोश भएकाले पनि विपीप्रतिको श्रद्धा बढी भएको हो।

‘विपी घरमा आएपछि सुरक्षाकर्मीले घरबाहिर घेर्ने गर्थ्याे। कहिले के हुन्छ, थाहा हुँदैनथ्यो’, त्यतिबेलाको सम्झना गर्दै उनले भनिन्,‘यही घरमा बसेर विपीबाबुले राजनीतिक योजना बनाउनुहुन्थ्यो।’

विपी कति पटक घरमा आए गौरीदेवीलाई यकिन सम्झना छैन।

उनले भनिन्,‘कति पटक आउनुभयो/आउनुभयो। चितवनमा आउँदा होस् वा पूर्वपश्चिम अन्य जिल्लामा जाँदा उहाँ यही बस्नुहुन्थ्यो।’

विपीले सादा खाना रुचाउने गरेको गौरीदेवी बताउँछिन्। उनले भनिन्, ‘माछामासु खाएको मलाई थाहा छैन, दही, दूध, सादा खाना नै खानुहुन्थ्यो। म सोध्थें, ‘विपी बाबु के खाने? तपाईले जे पकाउनुहुन्छ, त्यही खान्छु भन्नुहुन्थ्यो।’

विपीले थोरै खाना मीठो गरी खाने गरेको उनलाई सम्झना छ।

जिल्लाभर जहाँ घुमे पनि बेलुका सुत्न विपी यही घरमा आउने गरेको गौरीदेवीले सम्झिन्। साँझ विपी भन्नुहुन्थ्यो, ‘जहाँ घुमे पनि आफ्नै घर जस्तो लागेर यही आउन मन लाग्छ।’

विपी आउँदा विवाहको घर जस्तै हुने गरेको उनले बताइन्। थोरै खाने र चिटिक्क परेर हिंड्ने विपीको बानी थियो।

गौरीदेवीले भनिन्, ‘मेरो कान्छी छोरी नम्रतालाई ‘छोरी मेरो कपडामा आइरन गदिदेऊ’ भन्नुहुन्थ्यो र चिटिक्क परेर हिंड्नुहुन्थ्यो।’

तनहुँ र चितवनमा महिला संघको स्थापना गरेकी प्रधानले विपीको उपचारका लागि नारायणगढ बजारमा आर्थिक संकलन समेत गरिन्।

उनले भनिन्,‘मैले बजार घुमेर आर्थिक सङ्कलन गरें, म आफूले त दिने नै भएँ, अरूले पनि दिए।’

विपीसँगै कांग्रेसका शीर्ष नेताको बस्ने थलो यही घर हो। पछिल्ला वर्षमा नेताहरू यो घरमा त्यति पुग्दैनन्। विपीको देहावसानपछि देश उँभो लाग्न नसकेको गौरीदेवीको भनाइ छ।

उनले भनिन्, ‘कसैलाई पनि कांग्रेस बन्न उत्साह छैन।’

साराका सारा विदेश जान थालेकामा चिन्ता व्यक्त गर्दै उनले भनिन्, ‘विपी भएको भए, साराका सारा कहाँ विदेश जान्थे, यही काम पाउँथे। विपी जस्तो नेता न कांग्रेसले न देशले नै जन्मायो।’

गौरीदेवीका ससुरा लालप्रसाद खरदारको जागिर छाडेर पार्टीमा लागेको भए पनि पार्टीले अहिले आफ्नो घर बिर्सिएकामा उनलाई चिन्ता छ। गौरीदेवीलाई विपी बस्ने त्यो कोठामा जाँदा अहिले पनि बिपीको झल्को आउँछ। राति अबेर सुत्ने कोइरालालाई बिहानीपख चिया लिएर उनी जाने गरेको स्मरण गौरीदेवीलाई अहिले पनि ताजै छ।

गौरीदेवीका कान्छा छोरा सुबोधलाई बालमानसपटलदेखि विपीको स्मरण ताजा छ। विपी चितवन आउँदै गर्दा बुवा श्यामकृष्णले गाडीमा विपीसँग राखेर गाउँ डुलाएको उनी सम्झिन्छन्। गाडी पछिपछि नेविसंघका विद्यार्थी हुने भए पनि उनलाई के हुन्छ भर थिएन। ठाउँठाउँमा प्रहरीले रोकेर सोधपुछ गर्थ्याे।

बाह्र/तेह्र वर्षको कलिलो उमेरको विगतलाई सम्झँदै सुबोधले भने, ‘विपी हाम्रो परिवारको सदस्य जस्तै हुनुहुन्थ्यो । उहाँको निधन हुँदा मेरो दाइ सुवासले कपाल खौरिनुभएको थियो।’

आफ्नो घरमा विपी आउँदा घरवरिपरि खाकी बर्दी लगाएर प्रहरीले घेरेको स्मरण उनलाई ताजै छ।

सुबोधले भने, ‘म घरको कौशीमा लुकेर खाकी बर्दी लगाएका प्रहरी हेर्थेँ।’

सबैले विपीलाई निकै मान्ने आफूले पाएको उनले बताए। उनले भने, ‘सबैले विपीलाई देवता जस्तै गरी सम्मान गर्थेँ।’

प्रकाशित: २४ भाद्र २०८० ०६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App