२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

आहा! ललितपुर

शरद् ऋतु नजिकिँदै गर्दा ललितपुरका प्रत्येक ठाउँ रमाइला देखिन थालेका छन्। रमाइलोले मानिसलाई आनन्दित तुल्याउन थालेको छ। बर्सातले ललितपुरलाई हरियाली दिएको छ र शरद्को प्रतीक्षामा छ। बाटो छेउ, पार्क, जंगल जताततै हरियालीले भरिपूर्ण भएको छ।

सहर र गाउँको संगमका रूपमा चिनिने ललितपुरमा मन र तन दुवैको आरामका लागि घुम्न सकिन्छ। ललितपुर भनिमण्डलका राजेन्द्र श्रेष्ठ ललितपुरवासी भएकोमा गर्व गर्छन्। बिहानीको झुल्के घाम र साँझपख देखिने गोधूलि साँझको मज्जा लिँदै उनी ललितपुरबाट स्वर्गीय आनन्द लिइरहेका छन्।

‘मलाई गर्व लाग्छ, ललितपुरजस्तो स्वर्गीय ठाउँमा मेरो जन्म भयो। सुन्दर सहरको सपना हरेक मानिसको हुन्छ। आज हामीले त्यो सपनालाई विपनामा देख्न सकेका छौं। फराकिलो चिल्लो सडक। सडकमा हरिया रुखहरू अनि ठाउँ ठाउँमा फूलबारी। रोपिएका फूलहरू ढकमक्क फुलेको देख्न सकिन्छ,’ ललितपुरवासी श्रेष्ठले भने।

यो वर्ष लगातार पानी परेको हुँदा ललितपुरमा हरियाली लगायत फूलहरू ढकमक फुलिरहेका छन्। काठमाडौंबाट ललितपुर प्रवेश गर्दाको आनन्द छुट्टै छ। ललितपुर महानगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाइँदै छ। नगरप्रमुख चिरिबाबु महर्जनले स्मार्ट सिटीअन्तर्गत स्वच्छ वातावरण, तालतलैया, पोखरी, हरियाली, बाइसाइकल लेन, ट्राफिक व्यवस्थापन लगायतका अन्य कार्य भइरहेको छ। त्यसको खुसी आफ्नै ठाउँमा भएको स्थानीयको भनाए छ।

बिहानीको बर्सातपछि उजाडिएका ललितपुर वरपरका डाँडाकाँडा हेरिराखौं जस्तो लाग्छ। फूलचोकी, चन्द्रागिरि, नागार्जुन, दलचोकी, लाँकुरी भन्ज्याङलगायत डाँडामा घुम्नुको मज्जा बेग्लै छ। नजिकै रहेको काठमाडौं र भक्तपुरवासीलाई धुलोधुवाँ, कोलाहलबाट थोरै हिँडेमा ललितपुर आइपुगिन्छ। बिदामा छुट्टी मनाउन आउनेहरूले बढो आनन्दको मज्जा लिने गरेका छन्। ललितपुरका सुन्दर वातावरण र हरियालीसँगै मानिसहरू रमाइलोसँग दिन कटाइरहेका देखिरहेको स्थानीय श्रेष्ठले बताए।

‘ललितपुरका फुटपाथमा पार्किङ, पसल र सहर नै कुरूप पार्नेगरी राखिएका होर्डिङ बोर्ड हटाइएका छन्। जसले गर्दा ललितपुर आकर्षक र सुन्दर देखिएको छ। हुन त ललितपुर कहिले कुरूप थियो र? ललितपुर हरियालीको खानी हो। साच्चै स्वर्गीय आनन्द पाइरहेका छौं,’ पुलचोकमा चियापसल गर्दै आएका रोसन बस्नेतले भने।

घर भक्तपुर भए पनि २५ वर्षदेखि ललितपुरमा चिया व्यवसाय गर्दै आएका बस्नेतलाई ललितपुरको मनमोहकताले बाधेको छ। उनी आफ्नै चिया पसलमा व्यस्त देखिन्छन्। उनको आफ्नो अनुहारको उज्यालो स्वच्छ र सुन्दर ललितपुरले ल्याएको बताउँछन्। उनका अनुसार मुख्य ललितपुर मात्र नभई दक्षिण ललितपुरका हरेका ठाउँ यस्ता छन्, जहाँ आनन्दको आभास हुन्छ।

‘मेरै पसल अगाडि पार्क छ। त्यो पार्कमा धेरै मान्छे आनन्द खोज्दै आउने गरेका छन्। उनीहरू हरियाली ढकमक्क फूलसँग चुमिरहेका हुन्छन्। साँझपख पार्कमा मानिस बस्ने ठाउँ हुँदैन। कति त फर्किएर जाने गरेका छन्। घण्टौं घण्टा बस्दा पनि उनीहरूलाई यो स्वच्छ ललितपुरको लत पुगेको हुँदैन। त्यो लतसँगै चियाको चुस्कीमा कति कप चिया खाएको पत्तै पाउँदैनन्,’ सुन्दर ललितपुरले गर्दा चिया व्यवसाय पनि फस्टाएको बस्नेतले बताए।

त्यस्तै राजेन्द्र, रोसन मात्र होइनन्, ललितपुरसँग खुसी भएका। उनीहरू जस्तै ललितपुरसँग माया गाँस्ने दिनेश धमला पनि एक हुन्। उनको पनि ललितपुरसँग छुट्टै माया छ। धमलाको घर धादिङ भए तापनि उनको ललितपुरसँग मायाको साइनो जोडिएको बताउँछन्।

‘खै के छ कुन्नी थाहा छैन यो ललितपुरसँग, तर मेरो नाता पुरानै छ। मेरो जन्म पाटन अस्पतालमा भएसँगै केही झुकाव भने त्यही बेला थियो। आनन्द ललितपुरले बोलाइरहे पनि ललितपुर बस्ने मौका भने जुरेको थिएन,’ उनले भने, ‘संयोगवश आफ्नो जन्मथलो ललितपुरकै एक छोरीलाई आफ्नी रानी बनाउन पाएँ। उनलाई पहिलो पटक ललितपुरमै देखेको थिएँ। जिल्लाहरूमध्येकै व्यवस्थित सहर ललितपुर आफैमा जति सुन्दर छ, त्यस्तै सुन्दर उनी छन्। ललितपुरकी रानी आफ्नै भएसँगै ललितपुर पनि आफ्नै भएकोमा गर्व छ मलाई।’

ललितपुरकै धापाखेलमा सांस्कृतिक महत्त्व बोकेको एक सुन्दर प्राकृतिक पोखरी छ। चापागाउँको जंगलभित्रको बज्रवाराही मन्दिर सधैं गइरहौंजस्तो लाग्छ। त्यस्तै उच्च स्थानमा रहेको सन्तानेश्वर मन्दिर आफैमा छुट्टै मौलिकता बोकेको छ। सुन्दर ललितपुर घुम्ने मौका नै मेरी प्रिय पत्नीबाट मिलेको हो। विगतका क्षणलाई सम्झँदा मन घायल बनाउने गरेको ललितपुरका प्रेमी धमला बताउँछन्।

जिन्दगीमा पहिलो खुसी आफू जन्मिएको स्थान ललितपुर हो। दोस्रो खुसी सुन्दर ललितपुरकै सुकुमारीसँग विवाह गर्न पाउनु हो। तेस्रो खुसी सुन्दर ललितपुरमै एक टुक्रा जमिन लिन पाउनु भाग्य हो। अब पूरै जिन्दगी ललितपुरलाई सुम्पिदिने चाहना छ। हाल दुई वर्षयता ललितपुरको रंगीन वातावरणसँग रम्दै गरेका धमलाले खुसी प्रकट गरे।

ललितपुरका मुख्य सहर जति रमणीय छन्, तीभन्दा धेरै अकल्पनीय आनन्द दक्षिण ललितपरका धेरै ठाउँहरूले दिन्छन्। ‘दक्षिण ललितपुरका विभिन्न ठाउँले मलाई बोलाइरहेका छन्। वाध्यतावश पूरै ललितपुर घुम्न पाएको छैन। पिँजडामा राखेको सुगा फुत्किएको दिनझैं मेरो भेट हुनुमा ललितपुरका अनगिन्ती रमणीय ठाउँहरूको ठुलो योगदान रहेको छ भन्ने ठान्छु,’ धमलाले भने।

उनको ठुलै प्रेम ललितपुरसँग छ। उनी साह्रै खुसी छन्। उनका अनुसार ललितपुरमा गुन्डागर्दी छैन। राजनीतिक माहोलले घेरेको छैन। ललितपुरका मानिस कोमल मनले भरिपूर्ण छन्। ललितपुरवासीलाई आनन्दको बास मिलेको छ। ललितपुरको शोभा मुख्य सडकले दिएको छ। काठमाडौं र ललितपुरको सिमाना छुट्टाएको कुपन्डोलको पुलवारि र पुलपारि धेरै फरक पाउन सकिन्छ। काठमाडौंदेखि ललितपुर प्रवेश गर्दैगर्दाको क्षणबाट स्वर्गीय आनन्द पाइन्छ। ललितपुरको मौसम चिसो र आनन्द रहेको धमला बताउँछन्।

खुला, हरियाली र ललितपुरभित्रका बगैंचाहरू सजिलै देख्न पाइन्छ। पार्टीका अव्यवस्थित गल्लीमा ढुंगा र इँट्टा छापेर व्यवस्थित सडकपेटी बनाइएको छ। यति मात्रै होइन, कुपन्डोल, पुल्चोक जावलाखेल खण्डको सडक पनि सोलार बत्तीले उज्यालिएको छ।

भूकम्पमा भत्किएका मठमन्दिरको पुनर्निर्माण पनि सकिँदै गरेको देख्न सकिन्छ। ललितपुर आफैमा सुन्दर भएका कारण विदेशबाट आउने विदेशी पाहुनालाई राम्रो सन्देश मिल्ने गरेको ललितपुरलाई माया गर्ने धमलाले अनुभव सुनाए।

धरान एक सुन्दर र व्यवस्थित सहर मानिन्छ। धरान घुमेर आएका पर्यटकलाई उक्त सहर मन नपर्नु विरलै होला। त्यसैगरी धरानकी एक स्थानीय युवती केही वर्षदेखि काठमाडौंमा बस्दै आएकी थिइन्। तर, हरेक दिन ललितपुरमा पाइला नहाली चित्तै नबुझ्ने उनी बताउँछिन्।  

‘मलाई ललितपुर साह्रै मन पर्छ। धरान र ललितपुर उस्तै छ। आफू जन्मिएको ठाउँजस्तो लाग्छ,’ उनी भन्छिन्, ‘हरेक दिन स्कुटरमा ललितपुर आउँछु। विशेष गरी सातदोबाटोबाट मास्तिर साह्रै मन छुने ठाउँ छन्। काठमाडौंभन्दा निकै चिसो छ। मलाईजस्तो खुसीको रौनक अरू कसलाई आउला र? दिन प्रतिदिन ललितपुरमा पाइला हाल्छु तर पनि धित मर्दैन।’

 उनको ललितपुरसँगको लत पनि धमलालाई भएजतिकै छ। उनी सधैं ललितपुरका पाटन दरबार, भैंसीपाटी, नख्खीपोट, झम्सीखेललगायत विभिन्न ठाउँमा जाने गरेकी छिन्। ती युुवतीले ललितपुरसँगको मज्जा लुटेकी छिन्। उनी सधैंजसो ललितपुरतिरै हुनेगरेको बताइन्।

राजधानीसँग कुम जोडेर बसेको ललितपुर प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। दक्षिण ललितपुरको पदयात्रामा ग्रामीण जनजीवन, विभिन्न जातजातिको जीवनशैली, हरिया महाभारत शृंखला, उकाली ओराली, खोलानाला हेर्दै हिँड्न सकिन्छ। तर, यति सुन्दर पर्यटकीय महत्त्व बोकेको दक्षिण ललितपुरका ठाउँमा पर्यटक र सरोकारवालाको दृष्टि पुगेको छैन। पर्यटन बोर्ड, पर्यटनकर्मी र सरोकारवालाको नजर परे दक्षिण ललितपुर पनि पूरै चम्कन सक्ने स्थानीयले बताए। ललितपुरको मुख्य व्यवस्थित सहरजस्तै दक्षिण ललितपुरमा पनि चाँडै पर्यटनको दियो बल्ने स्थानीयले आशा राखेका छन्।

जाउलाखेलस्थित १ हजार ६० वर्गमिटरमा फैलिएको पार्कले धेरैको मन जितेको छ। ललितपुर महानगरपालिकाभित्र एक दर्जनभन्दा बढी पार्क निर्माण गरिएको पूर्व प्रहरी अधिकृत सीताराम हाछेथुले बताए। ललितपुर महानगर नजिकै मिडल पार्क, पिस पार्क, गणेशमान पार्क, चिल्डे«न पार्कले अत्यधिक आकर्षण गरेको हाछेथुले बताउँछन्।

‘ललितपुर दिनदिनै आकर्षक देखिँदै छ,’ उनी भन्छन्, ‘प्राचीन सम्पदा र संस्कृतिको धनी यो सहर पछिल्लो समय थप हराभरा देखिएको छ। ललितपुरवासी खुसी देखिन्छन्। सवारी धनीसहित सर्वसाधारणलाई सहज यात्राको प्रबन्ध मिलाउने हाम्रो उद्देश्य हो। ललितपुर सुन्दर बनाउने अभियानमा स्थानीयको साथ पनि उत्तिकै छ।’

विस्तारै सवारी हाँकौं, सुन्दर ललितपुर बनाऔं, सभ्य बनौं लगायत  विभिन्न सन्देश ललितपुरका विभिन्न स्थानमा देख्न सकिन्छ। 

प्रकाशित: २३ भाद्र २०८० ०१:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App