यस वर्ष चेपाङ समुदायले सामूहिक रूपमा छोनाम (न्वागी) पर्व मनाउने भएका छन्। शुक्रबार सामूहिक रूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ संघ वाग्मती प्रदेश सचिव तथा इच्छाकामना गाउँपालिका-६ का वडाध्यक्ष लक्ष्मण चेपाङले बताए। उनका अनुसार चितवन, धादिङ, गोरखा र मकवानपुरका चेपाङ धादिङको च्याङलीमा जम्मा भएर न्वागी मनाउँदै छन्।
‘चेपाङ संघको तर्फबाट उत्सवका रूपमा सामूहिक पर्व मनाउन लागिएको हो’, उनले भने, ‘उत्सवमा सहभागी हुन नपाउनेले आआफ्नो घर र समुदायमा मनाउनुहुनेछ।’
उनका अनुसार चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ। यस छोनाम पर्वका दिन घैया धानको चामल, पिंडालु, निबुवा, घिरौला लगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ। यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको उनले बताए।
वर्ष दिनमा कम्तीमा नौ महिना जंगली कन्दमूल र सिस्नो खाएर प्राण धान्दै आएको लोपोन्मुख चेपाङ जातिले भदौ २२ गते मिठोमसिनो खाएर मुख फेर्ने इच्छाकामना गाउँपालिका वडा नं २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताए।
उनका अनुसार भिरपाखामा बस्ने चेपाङ जातिले पाखापखेरामा लगाएका मकै लगायत फलफूल भदौमा पाक्ने भएकाले यसै महिनामा छोनाम पर्व मनाउने गरिएको इतिहास छ। छोनाममा चेपाङ झाँक्री (पान्दे)ले ढ्यांग्रो ठोक्दै कुखुराको बलि चढाउँछन्। यस दिन चेपाङ केही काम नगरी रमाइलो गर्छन्।
नाताकुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन्। छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको मानिन्छ। यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भाषामा छोनाम भन्छन् भने खस नेपाली भाषामा न्वाँगी भनिन्छ।
चेपाङ समुदायले प्रत्येक वर्षको भदौ २२ गते मनाउने न्वाँगी पर्वको अवसरमा बागमती प्रदेश सरकारले प्रदेशका तीन जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले चेपाङ बाहुल्य जिल्ला मकवानपुर, चितवन र धादिङसहित तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो। नेपालमा ८४ हजार तीन सय ६४ जना चेपाङ छन्। सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजारको हाराहारीमा चेपाङ समुदायका मानिस बसोबास गर्छन्।
चेपाङ राप्ती नदी उत्तर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शृंखला वरिपरिको रैथाने बासिन्दा मानिन्छन्। मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङको घना बसोबास छ।
प्रकाशित: २१ भाद्र २०८० ०७:५२ बिहीबार