२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

कवि तिवारीको ‘अब तिम्रो पालो’ प्रकाशित

साहित्यकार नारायण तिवारीको कवितासंग्रह ‘अब तिम्रो पालो’ प्रकाशनमा आएको छ। २०३९ सालबाट कवितायात्रा सुरु गरेका तिवारीको यो ११औं कृति हो।

कवि तिवारी कथा तथा कविता लेखनमा सक्रिय साहित्यकार हुन्। कविताबाट सुरु भएको उनको साहित्ययात्रा कथामा विस्तारित भएर पुनः कवितामै आइपुगेको छ।

लामाछोटा ६३ कविता सङ्गृहीत ‘अब तिम्रो पालो’मा देश, प्रकृति, जातीय विभेद, प्रताडित वर्ग, सङ्कीर्ण समाज, आर्थिक असमानता, अन्याय र यिनका कारक तत्व लगायतका सन्दर्भलाई सरल–सुबोध्य भाषामा प्रस्तुत गरिएको छ।

कवि तिवारीले कृतिमा आफ्नै गाउँघरको परिवेश र जनजीवनका पीडा तथा राजनीतिक बेथितिका विरुद्ध आवाज उठाएका छन्। यस संग्रहका धेरै कविताहरू वैचारिक धारमा बहेका छन्। संग्रहका अधिकांश कविता राजनीतिक चेतले ओतप्रोत छन्।

संग्रहका अधिकांश कविताको विषयवस्तु भुइँमान्छे र उनीहरूको समुन्नति रहेको पाइन्छ। राजनीतिक परिवर्तन गरिबी, रोग र भोकले आक्रान्त जनताका लागि मलम बन्नुपर्ने विचार उनले कविताहरूमा व्यक्त गरेका छन्।

डिभी परेर अमेरिका पुगेका नेपालीको मनोभावना, मुलुकका लागि मर्न तयार सच्चा नेपालीका कथा, प्रजातन्त्र ल्याउने तर सम्हालेर राख्न नसक्ने राजनीतिक शासकप्रतिको असन्तुष्टि, संविधान निर्माणप्रति नागरिक चासोजस्ता विषयलाई संग्रहमा प्राथमिकताका राखिएको छ।

प्रस्तुत कृति साझा प्रकाशनले प्रकाशन गरेको हो।

प्रकाशित: २७ श्रावण २०८० ०३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App