२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

संसारयात्राको मैझारो

यस्तो पनि!

टोर्बजन ‘थोर’ पेडरसन सन् २०१३ अक्टोबर १० का दिन डेनमार्कबाट पानीजहाज चढे। उनले आफ्नी प्रेमिका र परिवारजनलाई ‘बाईबाई’ भने। परिवारले पनि खुसीपूर्वक बिदाबारी गरे। नगरुन् पनि कसरी? उनी संसारभर पैदलयात्रा गर्ने उद्देश्य लिएर निस्केका जो थिए!

त्यो दिन उनी घरबाट निस्कँदा कहिल्यै हवाई जहाज नचढ्ने र कम्तीमा एउटा मुलुकमा २४ घण्टा बिताउने कसम खाएका थिए। १० वर्षे अवधिमा उनी आफ्नो कसममा कायम रहे। यस अवधिमा उनले दिनको बढीमा २० डलर खर्च गरे। कतिपय अवस्थामा त उनले मनकारीहरू फेला पार्दा सुक्को खर्च गर्नु परेन।

गएको मे २४ का दिन उनी संसारका २०३ मुलुक टेकेर घर फिर्दा अन्तिम मुलुक माल्दिभ्स बन्न पुगेको थियो।

विश्व भ्रमणका बेलामा उनलाई मलेरियाले सतायो, जंगली कुकुरले खेदायो, सर्पले तर्सायो। भिसा अवधि सकिएला भनेर उनलाई जुन बेला पनि दगुराउनसम्म दगुरायो।

घर फर्कंदा उनी अझ चकित परे। त्यहाँ उनलाई भेट्न परिवारजनसँगै १५० जनाको भिड थियो।

पत्रकारले सोधे, ‘यात्रा कस्तो थियो त? अरूले पनि तपाईंकै जस्तो यात्रा गर्न खोजे के हुन्छ?’

जवाफमा टोर्बजनले भने, ‘संसार घुम्नु दुस्साहस हो। हरकोहीले सक्दैनन्। मैले चाहिँ जब पानीजहाज कम्पनीमा काम गर्थें, त्यो बेला संसारभर सामान कहाँ, कसरी, कुन अवस्थामा पुग्दो रहेछ भन्ने खुब अध्ययन गरेँ। हरेक देश, त्यहाँको हावापानी पनि अध्ययन गरेँ।’

उनका लागि सबैभन्दा सुन्दर क्षण भने कोभिड १९ को बन्दाबन्दीले ल्यायो। जीवन मरणको प्रश्नका बेला उनकी प्रेमिकाले फोनबाटै बिहे प्रस्ताव राखिन्। यस खुसीमा उनी हङकङ पुगेर हाइकिङ गर्न भ्याइन्, नेपालको सगरमाथा आधार शिविरमा टोर्बजनसँग दौडिइन्।

यसरी टोर्बजनले संसार छिचोल्न ३ हजार ५ सय ७६ दिन पूरा गरे। ३७ वटा कन्टेनर जहाज फेरे। १ सय ५८ वटा रेल, ३५१ बस, २१९ वटा ट्याक्सी, ३३ नाउ र ४३ वटा रिक्सा प्रयोग गरे। ३ लाख ५८ हजार ८ सय ८३ किलोमिटर यात्रा गरे। यो भनेको पृथ्वीको एउटा कुनोदेखि अर्को कुनोसम्मको लम्बाई पनि हो।

यत्रो महामारी र अप्ठेराका बेलामा पनि ज्यूँदै फर्कन पाउँदा ज्यादै खुसी उनी भन्छन्, ‘या त म यो ग्रहकै सबैभन्दा भाग्यमानी मान्छे हुँ, या त यो संसार असल मान्छेले भरिएका छन्। टेलिभिजनले देखाउने आतंक, द्वन्द्व, अस्थिरता चाहिँ केहीका लागि मात्र रहेछ।’

प्रकाशित: २६ श्रावण २०८० ०५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App