२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

पत्रकार विश्वकर्माको ‘भूराजनीतिक भार’सार्वजनिक

पत्रकार बाबुराम विश्वकर्माको दोस्रो पुस्तक ‘भूराजनीतिक भार’ सार्वजनिक भएको छ। राजधानीमा आयोजित एक समारोहका बिच अतिथि पूर्व न्यायाधीश कल्याण श्रेष्ठ, नेता मिनेन्द्र रिजाल, परराष्ट्र तथा सुरक्षा मामिलाविज्ञ डा. ईन्द्र अधिकारी र वरिष्ठ पत्रकार कुन्दन अर्यालको अतिथ्यमा पुस्तक लोकार्पण भएको हो।

पुस्तकमाथि टिप्पणी गर्दै पूर्व न्यायाधीश कल्याण श्रेष्ठले पुस्तकमा दुई ठूला राष्ट्रसँग भौगोलिक रूपमा छिमेकी राष्ट्र रहे पनि ती सम्बन्धबाट नेपालले उचित राजनीतिक व्यवस्थापन गर्न नसक्दा  छिमेकी राष्ट्रहरूबाट लाभ लिन नसकेको विषय सरल रूपमा उठाइएको बताए। दुई ठूला छिमेकी राष्ट्रको छिमेकी भएर पनि आफ्नै  राष्ट्रिय सुशासन नहुनुले छिमेकीहरूसँगको सम्बन्धमा समेत अस्थिर भएर गएको बताए।

‘आन्तरिक मामिलामा बलियो थियो भने परराष्ट्र सम्बन्ध बलियो हुने थियो, पूर्व न्यायाधीश श्रेष्ठले बताए। उनले भने, ‘घरको व्यवस्था राम्रोसँग गरेको भए बाहिरी हस्तक्षेप सम्भव थिएन’ उनले भने।

सोही क्रममा श्रेष्ठले अबको परराष्ट्र नीतिमा पुनरावलाेकन नहुने गरी नीतिका साथ अघि बढ्नुपर्ने पुस्तकमा उठाइएको बताए।

‘छिमेकीसँगको संवादको हैसियत गुमाइसकेको विषयमा पुस्तकमा उल्लेख गरिएको छ’ उनले भने। पुस्तकले पाठक समक्ष कौतुहलता उठाएको बताए।

पुस्तकको विषयमा बोल्दै नेता तथा डा. मिनेन्द्र रिजालले नेपालमा दलहरूले पुस्तकले परराष्ट्रनीतिको विषयमा महत्त्वपूर्ण कुरा उठाएको बताए।

परम्परागत रूपमै नेपालको छिमेकीसँगको सम्बन्ध कडा राष्ट्रवादबिना नै देशभक्तिको नीति लिएको स्मरण गरे।

सोही क्रममा वरिष्ठ पत्रकार कुन्दन अर्यालले पुस्तक अवधारणामा आधारित भएको बताए। ‘पहिल्यै अवधारणा बनाएर पुस्तक लेखिएको देखिन्छ’ उनले भने। पुस्तकमा परराष्ट्र सम्बन्धसँग जोडिएको अनेक प्रश्नको विर्मश गरिएको बताए।

परराष्ट्र तथा सुरक्षा मामिला विज्ञ डा. इन्द्र  अधिकारले सीमित वर्गले मात्र कुरा गर्ने परराष्ट्र मामिलाको पुस्तक आम पाठकले बुझ्ने गरी लेखिएको बताइन्।

‘म यस क्षेत्रको जानकार भएर पनि धेरै नयाँ विषयमा उठान भएका छन्’ उनले भनिन्। सरल भाषामा लेखिएको पुस्तक धेरेका लागि रुचिको पुस्तक बन्ने देखिएको अधिकारीले बताइन्।

पुस्तकका लेखक बाबुराम विश्वकर्माले सक्रिय पत्रकारितामा विश्राम लिएको अवधिमा पुस्तक लेख्न सफल भएको बताए।

सरल भाषामा र विभिन्न जिज्ञासाहरूको जवाफ दिने गरी पुस्तकमा विषयवस्तु समेट्ने प्रयास गरेको बताए। ‘यसअघि नभनिएको वा नलेखिएका विषयहरू पुस्तकमा पस्किने प्रयास गरेको छु, पाठकहरूको धेरै जिज्ञासा पुस्तकले मेटाउनेछ भन्ने आशा लिएको छु’ उनले भने।

नेपालमा ठूलो चर्चा र विवाद बनेको एमसिसी लगायत  राष्ट्रिय/ अन्तर्राष्ट्रिय चर्चाका विषयहरू पुस्तकमा समेटिएको बताए। १४ विभिन्न शीर्षकमा लेखिएको सो पुस्तक २ सय ५३ पृष्ठ रहेको छ। कोल्टे कुटनीति र सन्तुलनको खोजी, राजनीतिक समझदारी, नागरिकलाई थाहा नभएको बीरआरआई, नेपाल,अमेरिका र चीन, सीमा विवाद र गोप्य प्रतिवेदन लगायत शीर्षक उल्लेखनीय छन्। इन्डिगो प्रकाशनले प्रकाशन गरेको  पुस्तकको बजार मूल्य ६ सय रुपैंया रहेको छ। विश्वकर्माको यस अघि २०६३ मा ‘दलित र द्धन्द्ध’ विषयक पुस्तक प्रकाशन भइसकेको छ।  

प्रकाशित: २१ श्रावण २०८० ०५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App