पारिवारिक विरासत धान्न पढ्नुपर्थ्यो, व्यवस्थापन तर उनले रोजिन्– फेसन डिजाइन। व्यवसायमा जमेका परिवार र आफन्तको 'सर्कल' छाडेर उनी दौडन चाहिन्, छुट्टै दौड। पारिवारिक पहिचानभन्दा भिन्न दौडमा सहभागी हुन सजिलो कहाँ छ र? दौडको सपना देख्न जति सजिलो छ, धावनमार्ग छिचोलेर जित्न उत्तिकै अप्ठेरो।
पूर्वी मोरङको उर्लाबारीस्थित पशुपति बोर्डिङ स्कुलबाट एसएलसी सकेर आफ्नै मर्जीको दौड जित्न निस्केकी निकिता चाण्डकका लागि धावनमार्गमा खडा भए धेरै अवरोध, भेटिए 'स्पिड ब्रेकर'। तर, उनी उठिन् ठेस लागेर दौड्दादौड्दै लडेको धावक उठेझैँ। 'स्पिड ब्रेकर'ले लडखडाएको सवारी सम्हालिएझैँ। अनि, लडेर पनि हिम्मतका साथ उठ्ने त्यही आत्मविश्वासले बन्न सफल भइन्– पहिलो पटक माडवाडी समुदायबाट मिस नेपाल।
यसपटक मिस नेपाल प्रतिस्पर्धाले एकाएक चर्चा बटुल्यो सँगसँगै युवापुस्तामाझ लोकप्रिय सामाजिक सञ्जालमा विवाद पनि। अनि, चर्चा र विवादको केन्द्रमा थिइन्–निकिता अर्थात् मिस नेपाल– २०१७।
०००
कुनैबेला ठूलो तामझाम, चर्चा र विरोध हुने मिस नेपाल प्रतियोगिताको चर्चा केही वर्षदेखि सेलाएको थियो। एक महिना अघिदेखि हुने चर्चा–परिचर्चा प्रतियोगिताकै दिन समेत कम हुन थालेको थियो। तर, यसपटक मिस नेपाल प्रतिस्पर्धाले एकाएक चर्चा बटुल्यो, सँगसँगै युवापुस्तामाझ लोकप्रिय सामाजिक सञ्जालमा विवाद पनि। अनि, चर्चा र विवादको केन्द्रमा थिइन्– निकिता अर्थात् मिस नेपाल–२०१७।
प्रतियोगिताको 'रिजल्ट' आउनेबित्तिकै सामाजिक सञ्जालमा एकथरीले भने– मिस नेपाल समावेशी भयो। अर्काथरीले भने– मिस नेपालमा गैरनेपालीलाई ताज पहिर्याइयो। तर, न मिस नेपाल समावेशी भएर निकिताले ताज जितेकी थिइन्, न त उनी गैरनेपाली नै थिइन्। उनले त ताज जितेकी थिइन्– आफ्नै आत्मविश्वास, मेहनत र क्षमताले।
०००
पढाइमा अब्बल निकिताका अभिभावकले उनलाई डाक्टर बनाउने सपना देखेका थिए। एसएलसीपछि उनले एकाएक परिवारको सपनाविरुद्ध विद्रोह गरिन्– मोडल बन्ने निर्णय सुनाएर। सुरुमा बुझाउन गाह्रो भयो। बिस्तारै उनले सबैलाई 'कन्भिन्स' गराइन्– फेसन डिजाइनर बन्छु भनेर। अनि मन जितेरै पुगिन्– भारतको बेंग्लोरस्थित 'जिडे इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी'।
फेसन डिजाइन पढ्दै गर्दा उनले दौडन चाहेको दौडका लागि 'अफर' आए। आएका अवसर उनले गुमाउँथिन् किन? बेंग्लोरमै उनले केही विज्ञापनमा मोडलिङ गरिन्। दौडको सपना देखेर मात्र कहाँ हुन्छ र? दौडन जान्नु पनि पर्यो। निकितालाई पनि त्यस्तै भयो। 'मोडल हुन क्याटवाक जान्नैपर्ने रहेछ,' उनी भन्छिन्, 'सुरुमा जान्दिनँथेँ, त्यसैले अभ्यास गर्ने क्रममा लडेर थला नै परेँ नि।'
अढाई वर्षे बेंग्लोर बसाइमा उनी व्यावसायिक र्याम्प मोडल बनिसकेकी थिइन्। उनी प्रवेश गरिसकेकी थिइन्, मोडलिङको धावनमार्गमा। मात्र बाँकी थियो, तेज गतिमा दौड्न। एक–एक उनी दौडने धावनमार्गमा अवरोध आयो। बेंग्लोरको फेसन बजार एक्कासि खस्कियो। निकिताको र्याम्प मोडलिङमा ब्रेक लाग्यो। उनी पटक–पटक मोडलिङका 'अफर'बाट 'रिजेक्ट' हुन थालिन्। बेंग्लोरको तातोमा आर्थिक अभावको पारो माथि उक्लँदा उनलाई 'डिप्रेसन'को जरोले समायो।
झट्ट हेर्दा बलिउड अभिनेत्री दीपिका पादुकोणजस्तै देखिने निकितालाई कुनै बेला पादुकोणलाई भएजस्तै 'डिप्रेसन'ले गाँजेको थियो। त्यसैबेला उनको हातमा पर्यो, 'द सेक्रेट' नामक पुस्तक। जुन उनका लागि 'डिप्रेसन' भगाउने बुटी बन्यो। 'बुकमा आत्मसम्मान र नयाँ शैलीमा क्षमता प्रस्तुत गर्न प्रोत्साहित गरिएको थियो,' दीपिकाकै शैलीमा मुस्काउँदै निकिताले भनिन्, 'त्यसले मलाई नयाँ शैलीले करिअर डेभलप गर्न इन्स्पायर्ड गर्यो।'
पुस्तकबाट प्रेरित भएर उनी 'नेपाल फेसन विक'मा सहभागी हुन गत वर्ष पहिलोपटक काठमाडौं आइन्। कार्यक्रममा उनले मिस नेपालका आयोजक 'द हिडेन ट्रेजर'का प्रतिनिधिबाट मिस नेपालबारे जानकारी पाइन्। बेंग्लोरको र्याम्प मोडलिङ अनुभव समेत खुलाएर उनले मिस नेपाल बन्न आवेदन दिइन्। लामो समय भारत बसेकी उनले प्रतियागितामा सहभागी हुन नेपाली भएको पहिचान स्वरूप राहदानी नै बुझाउनुपर्यो।
०००
नेपालभरका प्रतिस्पर्धीलाई पछारेर मिस नेपाल बनेकी माडवाडी सुन्दरी निकिताले मिस कन्पि्कडेन्ट र पब्लिक च्वाइस अवार्ड पनि पाएकी छन्। यो उपाधि चुम्नुमा आफ्नो मेहनत र आत्मविश्वासले मुख्य भूमिका खेलेको उनको बुझाइ छ। 'करिब अढाई वर्षको मोडलिङ करिअरबाट सिकेका कुरा मिस नेपाल प्रशिक्षणका बेला काम लाग्यो,' निकिता भन्छिन्, 'र्याम्प मोडलिङले आत्मविश्वास बलियो बनाइसकेको थियो।'
नेपालभरबाट छनोट भएका १९ प्रतियोगी उत्तिकै उत्कृष्ट थिए। तर, ताज भने निकिताकै शिरमा सजियो। 'बाहिर बसेर प्रतियोगीलाई मूल्यांकन गर्न जति सहज हुन्छ, प्रतियोगी बन्दा उत्तिकै असहज हुने रहेछ,' उनी भन्छिन्। जब मिस नेपालका रूपमा उनको नाम घोषणा भयो, उनलाई शून्य–शून्य लाग्यो। अनि एकैछिनमा बनिन्– प्रफुल्लित।
०००
अभिनेत्री बन्ने रहर पालेकी उनी फिल्मकी सोखिन हुन्। 'मिस नेपालको प्रशिक्षण चलिरहेका बेला पनि फिल्म हेर्न फुर्सद मिलाउँथे,' उनी भन्छिन्, 'म नेपाली फिल्म चाहिँ कम हेर्छु, प्रशिक्षणका बेला तीनवटा नेपाली फिल्म हेरें।' मिस नेपाल भए पनि नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्ने सुन्दरी पनि छन्। निकिताले पनि मिस नेपालको एक वर्षे कार्यकाल सकिएपछि अभिनयमा लाग्ने सोच बनाएकी छन्। अभिनय सिक्ने रहर पहिलेदेखि लागेको भए पनि उनले एक वर्षसम्म भने आफूलाई सामाजिक क्षेत्रमा क्रियाशील बनाउने योजना बुनेकी छन्। उनको रुचि गायन र नृत्यमा पनि उत्तिकै छ।
व्यवसायमा जम्ने मारवाडी समुदायबाट सौन्दर्य क्षेत्रमा लाग्ने कमै छन्। त्यसको सिकार निकिता पनि भइन्। मिस नेपाल घोषणालगत्तै सामाजिक सञ्जालबाट उनले दुईथरी प्रतिक्रिया पाइन्। एकथरीले मधेसी मूलकी मिस नेपाल बनाएर सुन्दरी प्रतियोगितालाई समावेशी बनाएको प्रतिक्रिया दिए भने अर्कोथरीले गैरनेपालीलाई मिस नेपाल बनाएको आरोप लगाए।
मिस नेपालबारे मधेसी मूलको विवाद भइरहँदा सायदै धेरैलाई थाहा होला अधिकांश माडवाडी आफूलाई मधेसीका रूपमा चिनाउँदै छन् भने धेरै मधेसीले माडवाडीलाई मधेसीका रूपमा लिँदैनन्। यो विवादले निकिताको भने मन दुखेको छ। 'मिस नेपाल उपाधिका लागि मेरो मेहेनत र परिश्रमको ठूलो योगदान छ,' उनी भन्छिन्, 'धेरैलाई प्रतिस्पर्धामा उत्रिएर संघर्ष गर्नुभन्दा आरोप लगाउन सजिलो हुन्छ, मैले क्षमता र भाग्यले मिस नेपालको उपाधि जितेकी हुँ।'
मिस नेपाल भएपछि सामाजिक सञ्जालमा उनका 'फलोअर्स' बढेका छन्। इन्स्टाग्राम र फेसबुकमा उनका फ्यान पेज धेरै छन्। उनी फेसबुक, भाइबर, इन्टाग्राम र ह्वाट्सएप प्रयोग गरे पनि खासै सक्रिय भने छैनन्। 'नियमित गतिविधिको जानकारी लिन सामाजिक सञ्जालमा आबद्ध भएकी हुँ,' उनी भन्छिन्, 'मिस भएपछि दिनैपिच्छे केही न केही पोस्ट गरिरहेकी छु।'
मिस नेपालको एकवर्षे कार्यकालमा उनी युवालाई प्रोत्साहित गरी सामाजिक कार्यमा सहभागी गराउने योजनामा छिन्। नेपालको प्रतिनिधित्व गरेर मिस वर्ल्डमा उत्कृष्ट सफलता हात पार्ने उनको धोको छ। त्यसका लागि तयारीमा पनि लागिसकेकी छन्।
प्रकाशित: २७ जेष्ठ २०७४ ०४:२३ शनिबार