१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

'सेरोगेसी'मा 'कारखाना'

काठमाडौं- महिलाले जीवनमा लिएको गलत निर्णयले उसको जीवनमा आइपर्ने उतारचढावलाई कथा बनाएर निर्माण गरिएको फिल्म 'कारखाना'को ट्रेलर सार्वजनिक भएको छ। कमलपोखरीस्थित बिग मुभिजमा सोमबार औपचारिक  कार्यक्रमका बीच निर्माण समूहले  ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा प्रेम, पीडा र एक्सनका दृश्य समेटिएका छन्।  फिल्मका निर्देशक अमरदीप सापकोटाले फिल्ममा रोमान्टिक कथासँगै सामाजिक सन्देश पनि समेटिएको बताए। 'फिल्मको केन्द्रमा नारी र उसले भोग्ने जीवन छ,' फिल्मका लेखकसमेत रहेका सापकोटाले भने,'फिल्ममा प्रेम, पीडा, र सामाजिक सन्देशलाई एउटै रङमा मिसाउने प्रयास गरेका छौं।' निर्देशक सापकोटाले फिल्म सेरोगेसी अर्थात भाडामा सन्तान जन्माउने विषयको वरिपरि रहेर निर्माण गरिएको जानकारी गराए। उनले आफूले मास्टर्सको थेसिस सेरोगेसीमै गरेकाले फिल्ममा यही विषय उठाएको बताए।

'अनुसन्धानका क्रममा देखा परेका रोचक तथ्यलाई कथामा रुपान्तरण गरेको हुँ। तथ्यलाई आवश्यकता अनुसार फिल्ममा प्रयोग गरेको छु,' सापकोटाले भने।  

फिल्ममा सुशिल श्रेष्ठ, वर्षा सिवाकोटी नविन लम्साल र मौसमी मल्ल केन्द्रिय भूमिकामा छन्। कार्यक्रममा वर्षाबाहेक अरुको उपस्थिति थिएन। कार्यक्रममा उपस्थित वर्षाले  आफ्ने विगतका फिल्ममा भन्दा 'कारखाना'मा फरक किसिमको भूमिका गरेको दाबी गरिन्। 'जुन विषयमा कारखाना बनेको छ, यो विषयमा नेपालमा त फिल्म बनेको छैन नै सायद विश्वमै पनि बनेको छैन भन्ने लाग्छ। मेरा लागि यो विशेष फिल्म हो ,' उनले बताइन्। नायिका जेविका कार्की र सौगात धितालले पनि फिल्ममा आफ्नो भूमिकाबारे बोलेका थिए।

फिल्मका निर्माताद्वय सुदिप खड्का र अमर बज्राचार्यले फिल्मको कथा सस्पेन्स रहेकाले दर्शकले फिल्म रुचाउने दाबी गरे। उनीहरुले फिल्म निर्माणका क्रममा आफूहरुबीच कहिलेकाहीँ बेमेल हुने गरेको स्वीकार्दै समूहमा काम गर्दा त्यस्तो समस्या आउने बताए।

डिऊ फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा मौसमी मल्ल, नविन लम्साल, विकास उप्रेती, सुपि थापा, रजक शाही, घनश्याम गिरी र सुजित केसीको पनि अभिनय छ। असार १६ मा रिलिज हुने फिल्ममा हर्कुलिस बस्नेत, अनिल शाही र कल्याण सिंहको संगीत, अमरदीप, दयाराम दाहाल र सुशिल पोखरेलको पटकथा तथा संवाद, अनन्त घिमिरेको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी र नवराज उप्रेतीको छायांकन छ।

प्रकाशित: २६ वैशाख २०७४ ०४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App