काठमाडौं- २०७२ वैशाख १२ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकसंस्कृतिसम्बन्धी विशेष लोकवार्ता चल्दै थियो। उद्घाटन सत्र सकिएलगत्तै सुरु भएको कार्यपत्र प्रस्तुतिमा लोकसंस्कृतिका विविध आयामका बारेमा चर्चा हुँदै थिए। आर्यन न्यौपानेले साहित्यकार अभि सुवेदीको नाटक ग्रन्थमा केन्द्रित कार्यपत्र भ्याएका मात्र थिए कि अचानक पुरै धर्ती हल्लन थाल्यो। ‘त्यसपछि कोही टेबुलमुनि लुके कोही कुर्सी समाएर बसे,’ साहित्यकार सुवेदीले भने ,‘हल्लिन नछाडेपछि भित्ता र भरेङ समाउँदै बाहिर निस्कियौं।’ न्यौपानेले त्यो कार्यपत्र प्रस्तुत गर्दा पुराना पुराताŒिवक संरचनाका चर्चासमेत गरेको सुवेदीले सम्भि्कए। जुन त्यही दिन आएको महाभूकम्पमा परी चकनाचुर भएका थिए। त्यसपछि बाँकी लोकवार्ता अधुरै रह्यो।
विभिन्न कठिनाइका बाबजुद दुई वर्षपछि शनिबार अधुरो लोकवार्ता फेरि मञ्चमा उत्रिएको थियो। भूकम्पले भत्किएका संरचना बनेका छैनन्। तर, ती संरचनासँग जोडिएका सांस्कृतिक महŒवका चर्चा गरिने लोकवार्ता यसपालि बल्ल टुंगियो। दुई वर्षअघि अलपत्र परेका लोकसंस्कृतिसम्बन्धी कार्यपत्रमाथि रोचक बहस भए।
अभि सुवेदीले सहजीकरण गरेको अंग्रेजी सत्रमा आठवटा कार्यपत्र प्रस्तुत भए। जसमा भिमनारायण रेग्मीले नेपाली समाजमा गरिने पाँडे गाली र भट्टे सरापको प्रस्तुति दिए। पहाडी क्षेत्रमा खेतीपाती, घरछिमेक ,साँधसीमाना जोडिँदा सामान्य वैमनस्य बढ्थ्यो,' रेग्मीले भने, 'त्यसपछि सुरु हुन्थे पाँडे गाली। त्यसका हात कोढले झर्न नसक्नु ..किरा पर्न नसकेको ..आदि आदि।' भैंसी, गाईबाख्रा अरुका बालीमा पस्दा होस् वा बारीको घाँस कसैले काट्दा होस् धारे हात लाउँदै गाली गर्ने चलन रहेको उनले बताए।
त्यस्तै, राजकुमार सुवालले अभौतिक संास्कृतिक सम्पदा, आदिवासीय ज्ञान र बौद्धिक सम्पत्ति चोरीका विषयमा कार्यपत्र प्रस्तुत गरे। सलिल सुवेदीले परम्परागत संगीत वर्तमानमा फ्युजनको संगीतमा परिवर्तन भएको उल्लेख गरे।
त्यसपछि माधवप्रसाद पोखरेलको सहजीकरणमा अर्को सत्र चल्यो। जसमा प्रवीण पुमाले लोकअभिनयको अध्ययनका बारेमा कार्यपत्र प्रस्तुत गरे। उनले किराँत समुदायले गर्ने संास्कृतिक ताङतुङे चराको नक्कल गरेर अभिनय गर्ने परम्पराबारे प्रष्ट पारे।
डा.ध्रुवप्रसाद भट्टराईले पाल्पाका दलित समुदायका विवाहमा भनिने पद्यात्मक लोकमन्त्रको विश्लेषण गरे। ‘बाहुन नगए पनि ब्राह्मणले गर्ने कर्मकाण्डका सबै नियम दलित समुदायले गर्ने गरेको पाएको छु,’ उनले भने। त्यस्तै डा.कुलराज निरौलाले संगिनी गान, डा.रुद्रलक्ष्मी श्रेष्ठले सरस्वतीको अध्ययन, तुलसी प्रवासले गल्लै लाहुे लोकगीतका बारेमा कार्यपत्र प्रस्तुत गरे।
तेस्रो सत्रमा भने प्रा.डा.जीवेन्द्र देव गिरीको सरुमा रानी लोकगाथा, गणेश बाम्बुले राईले राम्दले भाका, डा.कान्छी महर्जनले मनमैजुको भोटो जात्रालगायत आधादर्जनभन्दा बढी कार्यपत्र प्रस्तुत भए।
उद्घाटन सत्रमा आयोजक नेपाली लोकवार्ता तथा संस्कृति समाजले निकालेको चारवटा पुस्तक विमोचन गरिएको थियो। डिस्कोर्स अन फल्कलोर, लोकवार्ता विमर्श, उराँव लोकवार्ता तथा लोकजीवन र धिमाल लोकवार्ता तथा लोकजीवन पुस्तक विमोचन गरिएको हो।
प्रमुख अतिथि सत्यमोहन जोशीले लोकसंस्कृति संरक्षण गर्न नेपालको आफ्नै संस्कृति युनिभर्सिटी तथा कलेज हुनुपर्ने औंल्याए। ‘विविध संस्कृतिको देश नेपालको राष्ट्रिय एकता कायम गर्न यिनै संस्कृति प्रयोग गर्न सकिन्छ ,’ उनले भने ,‘यसले विदेशमा पनि नेपालको छुट्टै पहिचान गराउँदछ।’
समाजका अध्यक्ष तथा अनुसन्धानविद् तुलसी दिवसले नेपाल १४० भन्दा बढी भाषाभाषी भएको देश भएको उल्लेख गरे। आचरण र व्यवहारमा सांस्कृतिक चेतनाले जग नबसालेसम्म लोकसंस्कृतिको संरक्षणमा कठिनाइ हुने उनको भनाइ थियो।
संस्कृति मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले २०६७ को संस्कृति नीति नै परिमार्जन गर्नुपर्नेमा जोड दिए। अहिले सांस्कृतिक चेतनासँगै पहिचानको चेतना बढेको भन्दै उनले कानुनसँगै व्यवहारिक चेतनाको विकास हुनुपर्ने बताए।
प्रकाशित: २४ वैशाख २०७४ ०५:१५ आइतबार