काठमाडौं- घुमन्ते स्वभावका जोशीले घुम्ने क्रममा संकलन गरेका ग्रामीण भाका संगालेर ‘हाम्रो लोक संस्कृति' शीर्षकको पुस्तक प्रकाशन गरेका थिए। तर, साहित्यिक कृतिको दबदबा रहने समयमा अनुसन्धानमूलक कृतिले धेरैको ध्यान तान्यो। हुँदाहुँदा पुस्तकले सोही साल स्थापना भएको मदन पुरस्कार प्राप्त गर्यो।
कार्यक्रममा पहिलो मदन पुरस्कार विजेता सत्यमोहन जोशीदेखि कान्छा विजेता रामलाल जोशीसम्म उपस्थित थिए।
औद्योगिक व्यापारिक समाचार संग्रह अड्डामा खरदारको जागिरे जोशी रातारात जागिरेबाट साहित्यकार भए। खरदारको रुपमा पाउने पैसाभन्दा मदन पुरस्कारबापत पाएको पैसा देखेर जोशी दंग परेका थिए। शनिबार यलमाया केन्द्रको ठीक्कको हलमा मदन पुरस्कार गुठीले उनीसँगै मदन पुरस्कार तथा जगदम्बाश्री पुरस्कार प्राप्त थुप्रै स्रष्टाबीच ती दिन सम्झाउँदा उतिबेलाको तस्बिर जोशीको अनुहारमा नाचिरहेको थियो। उनले आफूलाई यो स्थानसम्म ल्याइपुर्याउन मदन पुरस्कारको ठूलो हात रहेको बताए।
‘त्यो पुस्तकमा मेरो केही योगदान थिएन। त्यो सबै सम्पत्ति गाउँलेकै थियो। उहाँहरूसँग भएका चीज मैले खाली एकै ठाउँमा भेला गरेको थिएँ तर त्यसैले मेरो जीवनमा कायापलट भयो,' जोशीले भने।
जोशीले वरिष्ठदेखि कनिष्ठ साहित्यकारको उपस्थितिमा आफ्नो जीवन कायापलट भएको बृतान्त पनि सुनाए। मदन पुरस्कार पाउँदा खरदार रहेका जोशी त्यसको तीन वर्षपछि त पुरातŒव तथा संस्कृति विभागको निर्देशक नै बने। ‘२०१६ सालमा नेपाली कांग्रेसको सरकार बनेपछि सरकारले यो विभाग स्थापना गरेको थियो। ‘खै कताबाट हो, निर्देशकको रुपमा मेरो नाम सिफारिस भएछ। मलाई त थाहा पनि थिएन अरुले सुनाए तर मलाई पत्यारै लागेन। मेरै नाम गरेको अर्को कोही रहेछ भनेर चुपचाप बसें। पछि, साथीहरूले कर गरेपछि मन्त्रीलाई भेटन गएँ,' जोशीले भने, ‘परशुनारायण चौधरी विभागीय मन्त्री हुनुहुन्थ्यो। मैंले गएर मेरै नाम गरेको कोही मान्छे निर्देशक भएछ। साथीहरूले तँ होस् भनेर भनेको भन्यै छन्। बुझ्न आएको। चौधरीले मदन पुरस्कार प्राप्त गर्ने तपाईं हो कि हैन भनेर सोधे। त्यो त मैं हुँ भने पछि, त्यसो भए विभागको निर्देशक पनि तपाईं नै हो भनेर भने। पछि यही विभागअन्तर्गत रहेर हामीले कर्णाली लोक संस्कृतिका ५ भाग निकाल्यौं। त्यसले पनि मदन पुरस्कार पायो।' उनले यही पुरस्कारका कारण चीनमा चार वर्ष नेपाली भाषा पढाउने अवसर पाएको पनि स्मरण गरे।
मदन पुरस्कार गुठीले मदन पुरस्कारको गुणगान गाउन भेटघाटको आयोजना गरेको थिएन। उद्देश्य थियो, मदन पुरस्कार तथा जगदम्बाश्री पुरस्कार प्राप्त सम्पूर्ण स्रष्टालाई एकै थलोमा भेला गर्ने र हार्दिकता साटासाट गर्ने। तर, आफैंमा धरोहर बनेको मदन पुरस्कार चर्चामा छुट्ने कुरा थिएन। पोडियममा उभिएर बोल्ने हुन् वा बसेर सुन्ने, सबैलाई जोड्ने सेतु सोही पुरस्कार नै थियो। त्यसैले स्थापना भएको साल नै ‘जनरल भीमसेन थापा' शीर्षकको पुस्तकका लागि मदन पुरस्कार पाएका चितरञ्जन नेपालीले पनि पुरस्कारकै चर्चा गरे। उनले मदन पुरस्कार समितिमा रहेर दस वर्ष काम गरेको बताउँदै गुठी वा यसका संस्थापक कमलमणि दीक्षितले कहिलै पनि पुरस्कारका लागि समितिलाई दबाब नदिएको स्मरण गरे। ‘मदन पुरस्कारप्रति यस्तो आक्षेप किन लाग्थ्यो मैंले बुझ्न सकेको छैन,' उनले भने।
‘जगदम्बा श्री तथा मदन पुरस्कार स्रष्टा भेटघाट कार्यक्रम' नाम दिइएको कार्यक्रममा पहिलो मदन पुरस्कार विजेता जोशीदेखि कान्छा विजेता रामलाल जोशीसम्म उपस्थित थिए। केही समय पहिले ९५ औं जन्म दिन मनाएका मदनमणि दीक्षित पनि जोशका साथ कार्यक्रममा सहभागी थिए। ९० वर्षको उमेरमा हिँडिरहेका जोशी र मदनमणिले एक अर्काको हालचाल र स्वास्थ्यमा राखेको चासो अर्को दुर्लभ दृश्य थियो।
‘सेतो धरती'बाट मदन पुरस्कार प्राप्त गरेका अमर न्यौपानेले सम्पूर्ण स्रष्टालाई एकै ठाउँमा भेट्दा सकारात्मक ऊर्जा प्रवाह भएको बताए।
‘आज फेरि एकपटक सिर्जनशील मानिस बूढो हुँदैन भन्ने अनुभूति भयो,' उनले भने, ‘खेलाडी खेल्न छाडेपछि बूढो हुन्छ। हिरो हिरोइन पर्दामा देखिन छाडेपछि बूढा हुन्छन् तर सिर्जनशील मानिस कहिलै बूढो हुँदैन। भविष्यमा यो भेट ऐतिहासिक अवसरको रुपमा सम्भि्कइने छ।'
मदन पुरस्कार तथा जगदम्बाश्रीका कमलमणिको गत वर्ष पुसमा निधन भएपछि मदन पुरस्कार गुठीको भविष्यलाई लिएर चिन्ता र चासो प्रकट भएको पाएपछि आफूहरूले सबै स्रष्टालाई भेला गरेको गुठीका नयाँ अध्यक्ष कुन्द दीक्षितले बताए। ‘हामी दादाले छाडेर गएका कामलाई निरन्तरता दिनेछौं र नयाँ पुस्ताको सक्रियतामा गुठी तथा पुस्तकालय झन् सक्रिय हुन्छ भन्ने सन्देश दिन भेटघाट कार्यक्रम आयोजना गरेका हौं,' कुन्दले भने। उनले पुस्तकालयमा ३८ हजारभन्दा बढी पुस्तक, ५६ हजारभन्दा बढी पत्रपत्रिका, २० हजारभन्दा बढी फोटो तथा २ हजारभन्दा भिडियो पुस्तकालयमा सुरक्षित रहेको बताए।
प्रकाशित: १० वैशाख २०७४ ०२:१२ आइतबार