१२ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

सुरु भयो लोकबाजा तथा फिल्म महोत्सव

काठमाडौं– बिहीबार जब गायिका मिनु वाइबाले झलकमान गन्धर्वका गीत सांरगी रेट्दै राष्ट्रिय नाचघरमा गाइन्, तब उपस्थित दर्शक थपडी मार्न बाध्य भए । गन्धर्व समुदायमा पनि महिलाले सांरगी बजाउँदैनथिए । तर मिनु अर्कै समुदायकी महिला भएर पनि सारंगी बजाइन् ।

‘नेपाली लोकभाका बोल्ने बाजा र गीतसंगीत हराउँदै गएका छन्,’ उनी भन्छिन्, ‘अर्को पुस्ताले बिर्सने डर छ, त्यसैले हामी सडकमा यस्ता बाजा बजाउँदै हिँड्छौं ।’ उनलाई मादलमा बाबुराजा महर्जनले साथ दिएका थिए । दोहोरो सारंगीका लागि बेलायतकी एलिजाबेद थिइन् । उनलाई यो बाजा निकै मनपर्छ । त्यसैले पनि मिनुकै साथ लागेर सिक्दै बजाउँदै थिइन् ।

यस्तै खालका स्थानीय मौलिक बाजा तथा स्थानीय महत्वका फिल्म प्रवद्र्धन गर्न बिहीबार राष्ट्रिय नाचघरमा छैटौं अन्तर्राष्ट्रिय लोकबाजा तथा फिल्म महोत्सव सुरु भएको छ । नेपाल संगीत संग्रहालयको आयोजनामा भएको महोत्सवको पहिलो दिन मिनुले सारंगी बजाएजस्तै अस्मिता ढुंगानाले मारुनी नृत्य प्रस्तुत गरिन् ।
महोत्सवका अवसरमा नेपाली तथा विदेशी छोटा तथा लामा फिल्मको प्रतिस्पर्धात्मक प्रदर्शनी गरिँदैछन् । महोत्सवमा बंगलादेश, कम्बोडिया, ओमान, चिलीलगायत देशका फिल्मको प्रदर्शनी गरिने महोत्सव संयोजक रामप्रसाद कँडेलले बताए ।

शनिबारसम्म चल्ने महोत्सवमा तीनदेखि ३० मिनेटसम्मका फिल्म र ३० देखि ९० मिनेटसम्मका फिल्मबीच भिन्नाभिन्नै प्रतिस्पर्धा हुनेछ । ‘मेरो सारंगी, तिम्रो सारंगी’ लगायतका नेपाली छोटा फिल्म पनि महोत्सवमा सामेल छन् ।

स्थानीय मौलिक कलासंस्कृति झल्काउने बाजा तथा फिल्महरुको विश्वव्यापी संरक्षण हुन जरुरी रहेको सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले बताए । ‘यस्ता महोत्सवले जनचेतना फैलाउने कार्यसँगै आपसी सांस्कृतिक आदानप्रदान गर्छ,’ थापाले भने ।

प्रकाशित: १० मंसिर २०७३ ०६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App