२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

नियत

लघुकथा

‘अनलाइन’ कक्षा सुरु भयो। राजमतीले मोवाइल किनी। सत्र हजारको मोबाइल राजमतीको हातमा सलबलाउन आइपुग्यो। शिक्षकहरूले ‘फेसबुक एकाउन्ट’ खोलिदिए। ‘म्यासेन्जर ग्रुपमा’ जोडिदिए। फोटाहरू ‘पोस्ट’ गर्न सिकाइदिए। ‘लाइक’, ‘कमेन्ट’ र ‘म्यासेज’ गर्ने तरीका सिकाइदिए। ‘फ्रेन्ड रिक्वेस्ट’ पठाउन र ‘एसेप्ट’ गर्न सिकाइदिए।

फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ आउन थाले। सबैलाई ‘एड’ गर्दै गई राजमतीले। प्रिन्स नाम गरेको केटालाई पनि ‘एड’ गरी राजमतीले। ‘एड गर्नु भएकोमा आभारी छु।’ प्रिन्सले ‘म्यासेज’ पठायो।

खुसी हुँदै राजमतीले पाँच मिनेट लगाएर ‘धन्यवाद’ लेखी।

दोस्रो दिन प्रिन्सले फेरि ‘म्यासेज’ लेख्यो। ‘हजुरले पोस्ट गरेका तस्वीरहरू मन परे। कहाँका हुन्?’

राजमतीले ‘आफ्नै घर नजिकैका’ भनेर जवाफ दिई।

‘हजुरको घर कहाँनिर छ?’ पुनः सोध्यो।

‘बर्दिया, बाँसगढी’ भनेर साँचो ठेगाना बताई राजमतीले। ‘एकदिन घुम्न आउनुपर्ला’ प्रिन्सले ‘म्यासेज’ लेख्यो।

‘हुन्छ’ भनेर जवाफ दिई उसले।

कुराकानी हुन थालेको एक हप्ता भएको थियो। प्रिन्सले एकाबिहानै ‘म्यासेज’ लेख्यो, ‘बाँसगढी, लक्ष्मणा अन्टी हुनुहुन्छ। आज बाँसगढी आउँदैछु। हजुरको घर कहाँनिर हो?’

राजमतीले छोटो जवाफ दिई,‘राजमार्गदेखि उत्तर।’

राजमतीले प्रिन्सको घर सोधी,‘हजुरको कता नि?’ 

प्रिन्सले अकमकाउँदै उत्तर दियो,‘बल्ल आज सोध्यौ त? अँ कोहलपुर।’

‘के हाम्रो भेट हुन सक्छ?’ प्रिन्सले राजमतीसँग भेट्ने इच्छा राख्यो। राजमती अकमकाई।

‘आज त मेरो काम छ।’ भेट्न अप्ठेरो मानेकाले झुट बोली राजमती।

‘ठिक छ नि,म भोलि नै आउँला।’ प्रिन्सले भेट्न कर गर्‍यो। नाइँनास्ति गर्न सकिन।

भेट्ने स्थान र समय आफैंले तय गरी राजमतीले। भेटघाट गोप्य राख्न चाहन्थी ऊ। मन मिल्ने साथी देवकासँगै आधी घण्टा पहिले पुगी तोकिएको स्थानमा। प्रिन्स तोकिएको समयमै आयो। इमानदार रहेछ भनेर मक्ख परी। धेरै टाढासम्म सोची उसले।

जंगलको थोरै भित्र गए उनीहरू। राजमतीले खोजेकै यस्तै थियो। प्रिन्स खाइलाग्दो थियो। केहीबेर कुराकानी भयो। प्रिन्सको मन स्थिर देखिंदैनथ्यो। मोबाइल निकाल्यो र फटाफट नम्बरहरू डायल गर्‍यो। मोबाइलबाट ‘तपाईंको ब्यालेन्स सकिएको छ। पुनः रिचार्ज गर्नुहोला’ भन्ने आवाज सुनियो।

‘राजमती हेर न, साथीलाई फोन गर्नु थियो। ब्यालेन्स सकिएछ तिम्रो मोबाइल लेऊ न’ भनेर मोबाइल माग्यो। राजमतीले मोबाइल दिई। नम्बर डायल गर्दै ऊ बाटोतिर गयो। बाइक नजिकै पुग्यो। राजमती र देवकाले जंगलबाटै हेरिरहेका थिए।

प्रिन्सले मोबाइल गोजीमा हाल्यो। बाइकमा चढ्यो र सुइँकुच्चा ठोक्यो। राजमती र देवका पछ्याउँदै अगाडिसम्म गए। एकैछिनमा ओझेल पयो राजमतीको प्रिन्स।

प्रकाशित: १९ फाल्गुन २०७९ ०७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App