गौरी न्यौपाने
नागबेली परेको पहाडको चुचुराबाट झरेको गारेटो बाटो फनक्क एक फन्को लगाउँदै बेंसी आइपुग्छ। मसिनी सधैं त्यहीं बाटामा फन्को मार्दै गाउँबेसी गर्छे।
धेरै गाउँले बेंसी झरिसके। मसिनीको बेंसीमा जग्गा छैन। भएको एक टुक्रा वारि गाँउमै छ।
गाउँ रित्तिसक्दा पनि मसिनी बासका लागि मात्र घाम डुबेपछि उकालो लाग्छे। हिजोआज गाउँबेंसी गर्ने मसिनीका सँगिनीहरू शहर पसिसके। गाउँमा फाटफुट घर छन्। आवतजावत छैन। एक टाँगो घाम छल्नुपर्छ छिमेकी भेट्न। न बोलाएकै सुनिन्छ।
रमाइलो त्यो पुरानो बस्ती अहिले सुनसान भए पनि मसिनी पुरानै समाज सम्झेर उकालोओरालो गरिरहन्छे।
बाघ र भालुको विगविगी भए पनि दैवको इच्छा मसिनीलाई देखेर पनि नदेखेझैं गरिहिंड्छन् जंगली जनावर। मसिनीलाई कुनै डर छैन यतिन्जेलसम्म डराएर पो के गर्ने आफ्नो गुँड जहाँ छ त्यहीं पुग्नै पर्यो।
श्रीमान् र काखमा भएको एउटा छोरा भूकम्पमा परेर आफूलाई एक्लै पार्ने दैवबाहेक कसैसँग गुनासो छैन मसिनीको। पीडा भुल्न ऊ सबैसँग हाँसेर बोल्छे। राम्रो लाउन र मीठो खान रहर छैन उसलाई। हुँदानहुँदा सधैं एकनास छे ऊ।
बेंसी झरेर ज्यालामजदुरी गर्छे। सबैलाई हँसाएर बोले पनि मनभरिको पीडा कसैसँग व्यक्त नगर्ने मसिनी एकदिन छोरा भुन्टेको यादले सारै विह्वल बनेर गीतबाट विरह पोख्दै थिई। त्यहीं बाटो पत्रकारको जमात हिंड्दै रहेछन्। उसको सुमधुर स्वरमा जादु देखेर छक्क परे। अधबैंसे मसिनीको स्वर रेकर्ड भयो। उत्कृष्ट स्वरमा छनोट भई। एक दिन राष्ट्रिय कलाकारमा घोषित भई। मसिनी आफ्नो जिन्दगी बदलिएको देखेर छक्क परी।
प्रकाशित: १७ फाल्गुन २०७९ ०७:२४ बुधबार