२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार वितरण कार्यक्रम सम्पन्न

नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा बर्सेनि  वितरण गरिंदै आएको राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार वर्ष २०७९ का बाट विभिन्न स्रष्टालाई सम्मान गरिएको छ।

बिहीबार काठमाडौंको पर्यटन बोर्डमा प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीको अध्यक्षता तथा वरिष्ठ कवि बैरागी काइँलाको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा वरिष्ठ कलाकार किरण मानन्धरलाई अमूल्य कलाश्री सम्मान अर्पण गरिएको थियो।

त्यसैगरी कार्यक्रममा समालोचक प्राडा लक्ष्मण गौतमलाई १ लाख रुपैयाँ राशिको कलाश्री पुरस्कार, साहित्यकार भूपिनलाई ७५ हजार रुपैयाँ राशिको स-सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार, ललित फोटोग्राफर जगदीश तिवारीलाई ६० हजार रुपैयाँ राशिको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार, डा. टंक उप्रेतीलाई ५० हजार रुपैयाँ राशिको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार र गायिका मेलिना राईलाई ५० हजार रुपैयाँ राशिको पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार अर्पण गरिएको हो।

कलाकार किरण मानन्धरले आफूले पाएको सम्मान राष्ट्रका युवा कलाकारलाई समर्पण गर्न चाहेको बताए। उनले आफूले इन्जिनियरिङको पढाइ छोडेर कला क्षेत्रमा लागेको फल पाएको पनि बताए। सम्मानले अझ अगाडि बढ्ने प्रेरणा दिएको उनको भनाइ थियो।

राष्ट्रिय कलाश्री पुरस्कार विजेता प्राडा लक्ष्मणप्रसाद गौतमले आफूले पाएको पुरस्कार समस्त समालोचना जगतले पाएको बताए। साहित्यलाई साहित्यइतर क्षेत्रसम्म पुयाएको भन्दै उनले प्रतिष्ठानको प्रशंसा गरे।

स-सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारका विजेता कवि भूपिनले पुरस्कारले अझ काम गर्ने प्रेरणा दिएको बताए। हवाई चालक बन्ने सपना छोडेर सिर्जनामा लागेको र आफूले सिर्जनाको विमान उडाउने प्रयास गरिरहेको जिकिर गरे।

संस्थाका प्रमुख संरक्षक डा. विमल कोइरालाले यो संस्था प्रज्ञा र अभिव्यञ्जनाको यात्रामा हिंडिरहेको बताए। सभ्यताको आधारभूमि भनेको कला-साहित्य हो भन्दै कलासाहित्य शाश्वत हुने उनले बताए। प्रमुख अतिथि बैरागी काइँलाले कलासाहित्यको उत्थानमा प्रतिष्ठानले पुर्‍याएको विशिष्ट योगदानको प्रशंसा गरे।

कार्यक्रमलाई सम्बोधित गर्दै अध्यक्ष मोमिलाले यो एक सामूहिक कार्य भएकाले सबैको निरन्तर साथसहयोगको आवश्यकता रहेको बताइन्। उनले संस्थाले पन्ध्र वर्षे मार्गचित्र कार्यान्वयन गरिसकेको भए पनि अझ निरन्तर क्रियाशील भएर काम गरिरहने बताइन्।

कार्यक्रममा समालोचक महेश पौड्यालले सम्मानित र पुरस्कृत स्रष्टाहरूको परिचय दिएका थिए।

प्रकाशित: १२ फाल्गुन २०७९ ०२:४९ शुक्रबार

अक्षर