व्यस्त सडकमा गाडीहरूको घुइँचो, बाटो काट्न धेरै डर लाग्छ। बाटो काट्न सडकमा ध्यान केन्द्रित गरिरहेको छु।
एक जोडी युवा कानमा मोबाइलको एयरफोन राखेर बाटो काटिरहेका छन्। अकस्मात जोडले हुइकिंदै आएको एउटा गाडीले हानेर दुवैलाई लडाउँछ।
विचरी युवती तरुनी हुँदै दुवै खुट्टा भाँचिएर अपाहिज जिन्दगी बाँच्न विवश भई। अरूहरूसँगै दुर्घटनास्थल पुग्छु। पहिलो नजर युवतीमै पुग्छ। युवती मरिसकेकी हुन्छे।
एक मनले भन्छ, ‘ठिकै भो,अपाहिज जिन्दगीभन्दा मरेकै बेस!’
अब मेरो नजर युवकमाथि पर्छ। अन्तिम अवस्थामा प्वाकप्वाक गरिरहेको हुन्छ। विचरा बाँच्यो भने प्रेमिकाको मृत्युको अकल्पनीय शोक सहन विवश हुनेछ। मान्छेको घुइँचो बढिरहेको हुन्छ। हेर्दाहेर्दै युवकको पनि मृत्यु हुन्छ।
सोच्छु, ‘ठिकै भो प्रेमिकाको मृत्युको पीडा सहनु परेन। मरेकै बेस!’
दुवैको एउटै चिहान। दुवैको दुःखै सकियो। आश्चर्य दुई ज्यानको निधन भएकोमा मन ढुक्क हुन्छ।
पुलिसको गाडी साइरन बजाउँदै आउँछ। यो मन के भएको होला? यो मन दुई ज्यानको निधनमा दुःखमनाउसम्म गर्न नसक्ने सम्वेदनाहीन दुर्घटनाग्रस्त अपाहिज भैसकेछ।
प्रकाशित: ९ फाल्गुन २०७९ ०४:४० मंगलबार