२२ पुस २०८२ मंगलबार
image/svg+xml
कला

लघुकथा समाज नेपालबाट दुई कथाकारलाई सम्मान

लघुकथा समाज नेपालले कथाकार बाबा न्यौपानेलाई सावित्री-केशर कथा सम्मान-२०७९ र लघुकथाकार कल्याण पन्तलाई बाटुली-खिलध्वज लघुकथा सम्मान-२०७९ प्रदान गरेको छ।

प्राडा लक्ष्मणप्रसाद गौतमको प्रमुख आतिथ्यमा कथाकार न्यौपाने र पन्तलाई सम्मान गरिएको हाे। दुवै कथाकारलाई जनही २१ हजार रुपैयाँ, सम्मानपत्रको साथमा दोसल्ला ओढाई सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा लघुकथा समाज नेपालका सदस्य नवराज रिजालले सम्मानित कथाकारहरूको परिचय दिएका थिए।

सम्मानित कथाकार बाबा न्यौपानेले अटोग्राफकालीन मुक्तक लेखनबाट लेख्ने बानी परेको बताए। उनले भने, ‘पहिले प्रविधिको पहुँच थिएन। अटोमा मुक्तक लेख्दालेख्दै लेख्ने बानी पर्‍यो। गुरुप्रसाद मैनालीको नासो र विश्वेश्वरप्रसाद कोइरालाको दोषी चस्मा पढेपछि कथामा बिस्तारै रुचि बढ्दै गयाे र कथा लेख्न थालेको हुँ। स्रष्टाहरूको जमघट भएको ठाउँ भनेको तीर्थस्थल सम्मान हो। यस्तो ठाउँमा सम्मानित  हुन पाउँदा लेखनमा हौसला जागेको छ।’

अर्का सम्मानित कथाकार कल्याण पन्तले आख्यान लेख्ने काम भएको बेला लघुकथामा लागेको बताए। उनले भने,‘बुझेर र नबुझेर कविता लेख्ने धेरै पाइयो। यसैले लघुकथा लेख्ने थालेको हुँ। पोखरामा लघुकथाको नियमित गतिविधि गर्दै छु।

नेपाली साहित्यमा सिन्डिकेट छ। यस्तो अवस्थामा म जस्ता मोफसलका लेखकलाई समाजले सम्झिएकोमा थप हौसला मिलेको छ। काम गर्दै गएपछि पुरस्कार पाइने रहेछ। लघुकथा साहित्य हैन भनिरहेको बेला अक्षयदाताले सम्मानकाे व्यवस्था गरेकोमा म अत्यन्तै खुसी छु।’

पुरस्कार तथा सम्मानको संस्थापकको तर्फबाट कथाकार हरि थापाले आउँदो दिनमा पनि समाजले हाम्रो होइन राम्रो कथाकारहरूलाई सम्मान गर्ने विश्वस्त रहेको बताए।

लघुकथा समाजका सल्लाहकार अशेष मल्लले लघुकथा समाजले को योग्य छन् र कसले अहिलेसम्म पुरस्कार पाएका छैनन्, खोजी-खोजी उपयुक्त पात्र छानेर सम्मान गर्दै आएको बताए।

प्राडा लक्ष्मणप्रसाद गौतमले उचित रूपले गरेको सम्मानले संस्था आफैं सम्मानित हुने बताए। उनले भने, ‘प्रायः सबै पुरस्कार र सम्मान राजधानीमा केन्द्रित छ। तर, लघुकथा समाजले पोखरामा बसेर लघुकथाको प्रवर्द्धनमा लागेको कल्याण पन्त र उत्कृष्ट लेखन हुँदाहुँदै पनि कम सार्वजनिक भएका बाबा न्यौपाने जस्ता साधकलाई सम्मान गरेको छ। यो सम्मानले संस्था आफैं सम्मानित भएको महसुस गरेको छ।’

समाजका अध्यक्ष गोपाल अश्कको सभापतित्वमा सञ्चालित कार्यक्रमको सञ्चालन श्रीबाबु कार्कीले गरेका थिए।  

प्रकाशित: ८ फाल्गुन २०७९ ०५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App