१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

रातो कोट

लघुकथा

अनन्त अर्याल

वर्षौंदेखि भित्ताको किलामा झुन्डिएको कोटले मेरो मनमा अलिक पहिल्यैदेखि कौतुहल जगाएको थियो। रातो-रातो रङको तर धुवाँसोले विरूप कोट किन राखेको होला? कहिल्यै लगाएको पनि देखेको छैन। यस्तै कुराहरू मनमा खेल्दै गर्दा एकदिन डराईडराई बुबासँग सोधें। बुबाको कम बोल्ने बानी थियो। उहाँले भन्नुभयो, ‘तँलाई किन चाहियो! उहिल्यै हजुरबाले सिलाई राखेको...!’

म डरले चुप लागें तर बुबाको मनले के ठान्यो कुन्नि।

उहाँ कोटबारे रहस्य खोल्दै भन्नुभयो, ‘यो कोटको डिजाइन जर्मनको हो। तर, सिलाइ भने रुसी मास्टरले गरेका। उहिल्यै राणाहरूलाई मेख मार्न तेरा हजुरबाले सिपालु दर्जीलाई भनेर तयार पारेको कोट हो। यसमा जर्मन डिजाइन र रुसी सिलाइको नक्कल छ।’

- किन त नलगाएको? धोएको पनि छैन?

मैले आफ्ना कुरा नसक्दै बुबाले भन्नुभयो, ‘लगाउन पनि त अवसर हुनुपर्छ, चानचुने कोट परेन। तेरा हजुरबाले सिलाउनुभयो मात्रै, आङमा नपारी जानुभयो। मैले त आँखाले देखेको भर हो। हेर्दाहेर्दै रङ उडिसक्यो।’

- अनि बुबा, कोटको कल्लर र बाहुलापछि थपेजस्तो छ नि?

‘हो,कल्लरमा चिनियाँ डिजाइनको संस्करण छ। बाहुलाचाहिं अस्ति भर्खर हाम्रै आङ सुहाउँदो गरी मिलाएको नेपाली संस्करण।’

बुबाले कोटको इतिहास बताउँदै जानुभयो। मलाई भने कतिबेला भित्ताबाट कोट हटाऊँ भन्ने लागेको थियो। बुबाको आज्ञाकारी छोरा डराईडराई भनें, ‘बुबा, नलगाउने भएपछि यो यहाँबाट हटाइदिए हुन्न र!’

बुबा एक्कासि पड्कनुभयो, ‘तँ जान्ने नबन। लगाउनै पर्छ भन्ने छ र! यो आफैंमा इतिहास हो। संग्रहालयमा लगेर राखौंला।’

बुबाले सम्झाउने मोडमा भन्नुभयो, ‘पुराना कुराको पनि महत्त्व बुझ न बाबु। तँ त आधुनिक मात्रै हुन खोज्छस्!’

प्रकाशित: ४ फाल्गुन २०७९ ०७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App