३ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्षमा नृपेन्द्रलाल श्रेष्ठ

नेवाः पत्रकार राष्ट्रिय दबूको चौथो महाधिवेशन तथा दसौं साधारणसभाले नृपेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

ललितपुरको ज्वागलमा शनिबार आयोजित महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुनिल महर्जन तथा उपाध्यक्षहरूमा खुलातर्फ सुरेन्द्रभक्त श्रेष्ठ, महिलातर्फ रचना श्रेष्ठ र उपत्यका बाहिरतर्फ सन्दीप श्रेष्ठलाई निर्वाचित गरेको छ। महासचिवमा कृष्णकुमार (केके) मानन्धर चुनिँदा सचिवमा राजु नापित र कोषाध्यक्षमा बाबुकाजी साँछे श्रेष्ठ चयन भएका छन्।

सहसचिवहरूमा खुलातर्फ प्रजित शाक्य, महिलातर्फ सुनिता महर्जन र उपत्यका बाहिरतर्फ विजयराम कर्माचार्य चुनिएका छन्। महाधिवेशनले तेजनारायण महर्जनलाई सहकोषाध्यक्ष बनाएको छ। सदस्यहरूमा सदस्यहरूमा रत्नकृष्ण श्रेष्ठ, अनुप श्रेष्ठ, दानदास श्रेष्ठ, पूर्णभक्त दुवाल, मीना बज्राचार्य, अनिता डंगोल, उत्तम श्रेष्ठ (गण्डकी प्रदेश), लेखा समिति संयोजकमा विगेन तुलाधर निर्वाचित भएका छन्। कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यको चयन निर्विरोध रूपमा गरिएको नवनिर्वाचित सहकोषाध्यक्ष महर्जनले बताए। समितिको बैठकले बाँकी पदाधिकारी तथा सदस्य मनोनयन गर्ने उनले जानकारी दिए।

कार्यक्रमको उद्घाटन गर्दै उपप्रधान तथा भौतिक तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न सरकार लागिपर्ने बताए। उनले जनताले परिवर्तनको अनुभूति गर्न सक्ने गरी सामाजिक, आर्थिक रूपान्तरण गरी समृद्धि हासिल गर्ने सरकारको उद्देश्य रहेको स्पष्ट पारे। कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले दबूबाट स्थापित विभिन्न पुरस्कार पनि प्रदान गरे। नरेशवीर शाक्यलाई ज्ञानदेवी मणिरत्न स्थापित लुमन्ति पुरस्कार, सूर्यप्रसाद लाकौललाई वाङमय शताब्दीपुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार, सरस्वती कर्माचार्यलाई ज्ञानज्योति-लक्ष्मीप्रभा लुमन्ति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो।

त्यस्तै सुरेश श्रेष्ठले श्रीराम स्मृति न्हूजः पत्रकारिता पुरस्कार, सुरेश ख्वाकः श्रेष्ठले बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार र अनुशा बज्राचार्यले भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार ग्रहण गरेका थिए।

कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष पवित्र वज्राचार्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुर्धन राई, दबूका राष्ट्रिय अध्यक्ष सुरजवीर बज्राचार्यले स्वर्गीय पत्रकार सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघका संस्थापक सभापतिको रूपमा मान्यता दिई उनलाई न्याय दिनुपर्ने बताए। श्रेष्ठले २००८ सालमै पत्रकार संघ स्थापना गरी पत्रकारहरूलाई संगठीत गर्ने काम गरेका थिए। हाल पत्रकार महासंघका संस्थापक अध्यक्षका रूपमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई मान्दै आइएको छ। कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले दबूको स्मारिका ‘लुमन्ति पौ’ पनि विमोचन गरेका थिए।

प्रकाशित: २४ पुस २०७९ ०१:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App