१९ असार २०८१ बुधबार
image/svg+xml
कला

तिम्रो जन्मदिन

कविता

तारा पराजुली

प्रिय!

आज तिम्रो जन्मदिन

यो न चिसो न तातो

कपास जस्तो नरम मुलायम याम

तिम्रै राज त हो।

आजको दिन

यी चौडा सुकिला सडकहरू  

आशाका रेलमार्ग/सुरुङमार्ग

साहसले फर्काई ल्याएको

निरोगी आयु

खुशी या बाध्यताका

कुनै युग्महरूका कुरा नगरौं

किनकि परिवर्तनको नाम तिमी आफैं हौ।

यी गोरेटोका कुरा नगरौं

किनकि तिमी आफैं

सबैभन्दा लामो बाटो हौ

थकान र गन्तव्यको पनि कुरा नगरौं

ताकि, तिमी कहिल्यै थकाक्ने यात्री र

आफैं सुन्दर गन्तव्य पनि हौ

यो अप्ठेरो अव्यवस्थित

भूगोलको पनि कुरा नगरौं

जब तिमी आफैं अलग र अब्बल व्यवस्था हौ।

जगेर्ना वनजस्तो

तार घेरा गर्नु छैन तिमीलाई

कारण तिमी आफैं शक्ति र सुरक्षा हौ।

यो समय तिमीलाई

कुनै आचरण, इमान र आदर्शको अध्याय

घोकाऊँ पनि छैन

थाहा छ,

तिमी आफैं सर्वोत्तम व्यवहार हौ।

सत्य हो,

आजको दिन तिम्रो शुभकामनामा

धेरै शब्द खपत गर्न मन छैन

ता कि, तिमी आफैं सर्वमान्य भाषा हौ

लिपि हौ

व्याकरण र सिंगो ग्रन्थ हौ।

किनारसँग पराजित नदीको प्रवाहझैं

तिम्रो आगमनमा

तमाम उज्यालोहरू

आफूलाई फिक्का सम्झिँदै सर्माइरहेको यो समय

बाहिर गहिरो अँध्यारो छ

नडराऊ

यो पनि नभनौं

जब तिमी आफैं उज्यालो हौ।

संसारमा तिमी मात्र यस्तो इमान हौ-

जसले आफू काँडै काँडै टेकेर

अरूलाई फूलको बाटो बनाइदियौ

आफू अन्धकारको हजार माइल बाटो हिंडेर

अरूलाई आँखाभरिभरि

पैतालाभरि उज्यालो राखिदियौ

हजार रहर बन्दक राखेर

कैयौंका ओठमा खुशीका थुँगाहरू फुलाइरह्यौ।

प्रिय!

आजको दिन धेरै भन्नु छैन

भन्नै पर्ने एउटा कुरा छ-

आज बर्सौंपछि

झुल्किंदै गरेको एउटा उज्यालोले

झोलाभरि निरोगी विसासय आयु र

अनुहारमा चम्किलो आभा

उपहार लिएर आइपुगेको छ

एउटा चहकिलो सूर्य

तिम्रो जन्मदिन मनाउन।

प्रकाशित: १५ पुस २०७९ ०४:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App