२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

आचार्य प्रभाको विधुर पुरुष सार्वजनिक

साहित्यकार आचार्य प्रभाको विधुर पुरुष सार्वजनिक भएको छ। साहित्य पोस्टले आयोजना गरेको एक समारोह बिच विधुर पुरुषको विमोचन भएको हो।

लघुकथा समाज नेपालको संस्थापक श्रीओम श्रेष्ठ रोदन, लघुकथा समाजको महासचिव सुमन सौरभ, साहित्य पोस्टको सम्पादक आश्विनी कोइराला र चलचित्र निर्देशक प्रकाश सायमीले कृतिको सार्वजनिक गरेका हुन्।

चलचित्र निर्देशक प्रकाश सायमीले नारी हस्ताक्षर कम भएको बेला अभाव र संकटसँग जुझ्दै कृति ल्याएकोमा बधाई थिए। सायमीले लेखकले लेखकले लिंग,जाति, क्षेत्र र भूगोल कसैलाई चोट नपुर्‍याई लेख्न निकै सजग हुनुपर्ने बताए।

साहित्यिक पत्रकार संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय पूर्व अध्यक्ष राधेश्याम लेकालीले नेपाली साहित्यमा डायोस्पोसरिक साहित्यकारले उल्लेख्य योगदान रहेको बताए। उनले कथाकारले घरपरिवार र साहित्यलाई सँगसँगै अगाडि बढाएको पनि बताए।

लघुकथा समाज नेपालका केन्द्रीय महासचिव सुमन सौरभले लघुकथाको अभियानमा लघुकथाकार खोज्दै हिंडिरहेको बेला कहिल्यै नपढेको र नसुनेको व्यक्तिको गहन कृति आउनु आफैंमा सुखद् पक्ष रहेको बताए। उनले लघुकथा उत्कृष्ट विधा भइसकेको र समृद्धिको यात्रामा लागेको पनि बताए।

लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले विदेश गएपछि धेरै सर्जक डलरमोहमा लागेर लेखनबाट हराउँदै गएकोमा कथाकार आचार्य प्रभा निरन्तर रूपमा लेखनमा लागिपरेको बताए।

रोदनले नेपाली लघुकथा स्थापित भइसकेकाले विदेशी विद्वानको परिभाषा रटिरहनुको औचित्य नभएको पनि बताए। उनले भने, ‘नेपाली लघुकथाको आफ्नैपन छ। पूर्णप्रसाद ब्राह्मण, जगदीश नेपाल र जयनारायण गिरी हुँदै अगाडि बढेको लघुकथाको छुट्टै स्थान छ। हामीले ओझेल परेको संस्कृति र बिर्सिएको इतिहास समेट्दै आफ्नोपनमा रमाउनुपर्छ।’

कृतिकार आचार्य प्रभाले ‘विधुर पुरुष’ मार्फत् कथामा पुरुष पीडा बोल्न खोजेकी बताइन्। उनले भनिन्, ‘पुरुषको पनि आफ्नै पीडा हुन्छ। श्रीमती नहुँदा पुरुषमा कति असह्य पीडा हुन्छ भन्ने देखाउन कृतिको नामै विधुर पुरुष राखेकी हुँ।’

प्रमुख अतिथि भागिरथी श्रेष्ठले आफूले पनि लघुकथा लेखेर ‘रंगीन पोखरी’ कृति प्रकाशन गरेको संस्मरण सुनाइन्। उनले लघुकथा समाजले लघुकथा उन्नयनमा पुर्‍याएको योगदान तथा लघुकथाको महत्त्व बढ्दै गएको चर्चा गरिन्।

लघुकथा समाज नेपालका केन्द्रीय उपाध्यक्ष तुलसीहरि कोइरालाले शुभकामना मन्तव्यको क्रममा लेखकले भाषिक सचेतना अपनाउनुपर्ने सुझाव दिएका थिए। उनले विमोचित कृतिका एकवटा लघुकथा पनि वाचन गरेका थिए।

साहित्य पोस्टका सम्पादक तथा कार्यक्रमका सभाध्यक्ष आश्विनी कोइरालाले नेपाली साहित्यका उन्नयनका लागि साहित्य क्षेत्रका सबै खाले काम गर्ने प्रतिबद्धता जनाए।

ममता मृदुलले सञ्चालन गरेको उक्त कार्यक्रम साहित्य पोस्टको सम्पादक आश्विनी कोइरालाको अध्यक्षतमा सम्पन्न भएको थियो।

प्रकाशित: २४ मंसिर २०७९ ०६:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App