१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

भुइँफूलजस्ता मान्छेको वनफूलजस्तो जीवनी

उमेश अवस्थी ‘आदर्श’

 

त्यो दुःख कति प्यारो

जसले लालित्यपूर्ण गर्भाधान बनायो।  

त्यो दुःख कति महान्

जसले सुन्दर प्रसव वेदनाजस्तो चक्र रच्यो।

त्यो दुःख कति गौरवशाली

जसले अन्त्यमा चिहानको सौन्दर्यशास्त्र लेख्यो। – (प्यारा दुःखहरूबाट)

दुःखहरू आफैमा दुःख हुन् या होइनन् ? प्रश्‍न उठेको छ। यहाँ दुःख शब्दले संघर्षपूर्ण जीवनलाई इंगित गरेको छ। कविताको सार— दुःख, संघर्ष र तनावबिनाको कुनै पनि जीवन छैन, यो ब्रह्माण्ड गतिशील बनिरहन पनि सम्भव छैन भन्ने नै हो।  

बाहिरबाहिर शान्त देखिने कवि राजेन्द्र तारकिणीका कविताहरूभित्र भने द्वन्द्व र विद्रोहको ठूलै आबाद छ। कवि तारकिणीको हालै प्रकाशित कवितासङग्रह ‘बिगन रामको मादल’भित्र जीवनका असङ्गति र समाजका विसङ्गतिलाई हृदयस्पर्शी स्वरमा कवितामार्फत अभिव्यक्त गरिएको छ। समयको पथ, कविताको शक्ति, जनताको राजनीतिप्रतिको दृष्टिकोण एवं भोगाइ, राजनीतिले जन्माएका नायक/खलनायक, देशी÷विदेशी शक्ति र हैकमको खेल, अभिलेखालयमा सञ्चित समयजस्ता विषय/परिवेशलाई कवितामार्फत प्रस्तुत गरिएको छ। यी कविताले इतिहास बोल्न सक्छन्। अझ भनौँ, कविताले भविष्यलाई मार्गनिर्देशसमेत गर्दछन्। बिगन रामको मादल आफैमा एउटा इतिहास हो र देशको वर्तमान समय कविताको सङ्ग्रहालयमा सङगृहीत छ।  

दिनहुँ हजारौँ मानिसले रानीपोखरीको वायव्य कोणमा रहेको जमलको आकाशे पुलबाट बाटो काट्छन्। त्यही आकाशे पुलमा वर्षौंदेखि एकजना दृष्टिविहीन मान्छे मादल ठोकिरहेको छ। मादलको खरी गइसक्यो तैपनि उसले मादल पिट्न छोडेको छैन। पुसको चिसोमा कठ्याङ्ग्रिएका औँलाहरूले बेस्सरी ठोक्छ मादल। मादलबाट आउने आवाजमा सङ्गीतको ताल हुनुपर्ने हो तर कविले त्यसमा उक्त व्यक्तिको आर्तनाद घन्केको महसुस गर्छन्। मादलको कुनै लय छैन। उसो त त्यो मान्छेको जीवनको पनि कुनै लय भेटिएको छैन। जसका दुवै आँखामा दृष्टि छैन, अन्तरदृष्टि त उसमा पनि छ। उसैलाई हेर्ने समाजको दृष्टिकोण बहुरङ्गी छ। आकाशेपुलमा को हिँड्छ ? कस्तो मान्छे हिँड्छ ? कसरी हिँड्छ ? कहाँसम्मको गन्तव्यका लागि हिँड्छ ? अझ भनाँै, ककसका प्रेम जोडीहरू त्यही आकाशेपुलमा चढेर रानीपोखरीको दृश्यावलोन गर्दै ‘सेल्फी’ खिच्छन् ? यसबारे अनविज्ञ छ, बिगन राम। तर बेसुर, बेहिसाब वर्षौँदेखि मादल पिटिरहेको छ। उसका आँखाले देश हेर्न खोजेका छन्। बिगन रामको भोकले देशबाट भोजन खोजेको छ। उसका औँलामा देशको धुन छ तर खरी झरेको मादलबाट कसरी गुन्जियोस् देशको असली धुन ? दुनियाँका नजरमा मगन्ते, भिखारी हो, बिगन राम। तर कविका नजरमा ऊ साधक हो। ऊ साधनाको ज्याला खोज्दै छ। देश हुनुको औचित्य खोज्दै छ, आकाशे पुलमा बसेर। र, ऊजस्तै कैयौँ पात्रहरू देशभित्र देश खोजिरहेका छन्।

उसो त समानताका कुरा व्याप्‍त छन् आज समाजमा। शारीरिक रूपमै फरक क्षमता हुनुले आत्मग्लानि बोध हुँदोरहेछ। त्यसको उदाहरण हुन्, कवि राजेन्द्र तारकिणी। शब्दको शक्तिका अगाडि विज्ञानका आधुनिक उपकरण पनि शक्तिविहीन हुन्छन्। एकचोटि सम्झौँ— स्टेफेन हकिङ, ऋषि अष्टावक्रहरूलाई। विद्या एउटा यस्तो हतियार हो, जसबाट संसार ध्वस्त गर्ने र संसारको सजावट गर्ने सुन्दर उपकरण बनाइन्छन्। बैतडीका कवि तारकिणी, जसले माध्यमिक तहको अध्ययन गर्दागर्दै अचानक आफ्ना दुवै कानको श्रवणशक्ति गुमाए। उनी कसैको ओठे आवाजलाई सुन्न नसक्लान्। त्यो स्वाभाविकै हो। तर कविले हृदयको आवाजलाई सुन्ने र शब्दको आवाजलाई देख्ने गरेका रहेछन्। यही हो— असल कवि हुनुको असाधारण क्षमता।  

भनिन्छ— सफल हुनेहरू सफलता र सुखबाट होइन, दुःखबाट माथि उठेका हुन्छन्। जसले कानले त समाजको चित्कार सुन्न सक्दैनन्, उनैले लेखेका छन् समाजको असली आवाज। यहीँ हो कविको कवित्व। चित्कार, आक्रोश, पीडामय दिनरात, घामपानी सबैलाई कविले बडो संवेदनशील भएर कविता–बिम्बमा उतारेका छन्। उनले आफ्नो व्यथा एकातिर पन्छाएर अरूका पीडा, वञ्चना, भोगाइ र आवाजलाई कवितामा उनेका छन्।

कविता लेख्न बस्दा नआएको भुइँचालो कुरेर बिगन रामको मादल हेरी समय कोलाजसँग संवाद गर्दै मङ्गली बज्यैको बिहेलाई सम्झी प्रतिध्रुवको वक्तव्यमा हस्ताक्षर अनि आत्महत्याको लेखाजोखा बुझाएर टेरोरिज्ममा निदाएका छन् कवि तारकिणी। यो यस सङ्ग्रहको खण्डगत विभाजनको एक सूत्र मानौँ। ६ वटा खण्डमा विभक्त कृतिभित्र ५५ वटा कविता छन्। ती सबैमा कुनै न कुनै रूपले समाज, समय र देश अनि मानवजीवन नै बोलेको छ।  

जब दुःखले घेर्छ मनुष्यलाई, तब उसलाई लाग्छ— यही हो जीवनको अन्तिम परीक्षा। यस्तो कहाँ हुनु ! श्‍वास रहुन्जेलसम्म अनेकन परीक्षाहरू दिइरहनुपर्छ। जब सुखको पहाडले चारैतिरबाट घेर्छ नि मनुष्यलाई, तब स्वाभाविक रूपमा लाग्छ— जीवन यसरी नै चल्छ सदा। तर त्यो पनि कहाँ हुनु ? जीवन न पूरै सुखमय छ, न दुःखमय मात्रै। आफैँमा गणित छ, मनुष्य जीवन। जो हिँड्छ दुई पाइला उहीँ पछारिन्छ। मनुष्यले जीवनको अन्तिम समयसम्म लड्दै–हिँड्दै, लड्दै–भिड्दै अनेक प्रयासहरू जारी राख्नुपर्छ। तारकिणीका कवितामा पाइने सार यही हो।

कविले एक ठाउँमा यस्तो गहन विषय उठाएका छन्— यो देशको प्रथम प्रधानमन्त्रीले विष पिएर आत्महत्या गरे। जसको टाउको आजसम्म बेलायतको म्युजियममा छ रे ! त्यसयता भएका तमाम आत्महत्याको हिसाबकिताब कसले राख्छ ? चामलको बोरा किन्न खाडी पुगेका हरेरामले खाडीमै आत्महत्या गरे किन ? कोरियाको अनकन्टार धान खेतमा भेटिएको हर्कबहादुरको सुसाइट नोट र प्रथम राष्ट्रपतिको जीवनी लेखेर शौचालयभित्र झुन्डिएका भूर्तेलको प्रसंग। कि बेलायतको म्युजिमयमा रहेको भीमसेन थापाको टाउकोले नै आजको नेपालको इतिहास ‘क्यालकुलेसन’ गरिरहेको होला ? र, कवि प्रश्न गर्छन्— त्यसपछि किन कुनै प्रधानमन्त्रीले सिंहदरबारमा आत्महत्या गरेको खबर आएन ?

एकातिर विद्रोहको राँके जुलुस छ, कविताभित्र। अर्कातिर, बुद्धरूपी मानव र विश्व भाइचाराको खोजी छ। एकातिर सामाजिक दलन र उत्पीडनमा रहेका वर्गप्रति करुणा छ, अर्कातिर प्रेमको नाउँमा बढिरहेको विकृति एवं नव–यौवनको उन्मत्त लीलाप्रति व्यंग्य छ। हरेक काव्यिक अभिव्यक्तिहरू हृदयस्पर्शी छन्। कविताभित्र वनफूलजस्ता सुन्दर बिम्बहरू छन्। हरियालीले वसन्त झकिझकाउ भएजस्तै यस सङ्ग्रहका कविताहरू बिम्ब, लक्षणा, व्यञ्जना र अलङ्कारले झकिझकाउ छन्। परिष्कारवाद, नाटकीय शैली, स्वतन्त्र अभिव्यक्ति, बोल्न नसक्नेको आवाज, आँखाले देख्न नसकिने मनको बह, कानले सुन्न नसकिने सुन्दरताको शङ्खनाद कवि तारकिणीका कविताका विशेषता हुन्। भूइँफूलजस्ता मान्छेको वनफूलजस्तो जीवनी लेखेर कविले कवितालाई मर्मस्पर्शी बनाएका छन्।  

‘नआएको भुइँचालो’मा कवि भन्छन्:

कहाँ आयो र, खै भुइँचालो ?

उः भत्केको छैन् त विभेदको गौरीशङ्कर

ढलेको छैन शोषणको पहाड

अत्याचारको केन्द्र सग्लै छ.... (पृष्ठ ३९)

यस्तै–यस्तै भएको छ आज। आँधीहुरी आउनुपर्ने र हुनुपर्ने परिवर्तनहरू सबै आइसके÷भइसके। तर समस्याहरूको जग अझै हल्लिएको छैन। बाहिरी देखावटी आवरणमा रङ नयाँ छ। समाजका भित्री जराहरू कत्ति पनि खलबलिएका छैनन्। यो कुरालाई विश्‍वास गर्नुस् या नगर्नुस्। हेपिएका भनिएका वर्गका व्यक्तिहरूले आजसम्म पनि स्पष्ट रूपमा आफ्नो नाम भन्न सकेका छैनन्। हिचकिचाउँछन् आज पनि। परिवर्तन कागजमा आएर केही हुँदैन। परिवर्तन त व्यवहारमा आउनुपर्छ हैन र ? उसो त संसारभरमा पुस्तकहरू थुप्रै छन्। पुस्तक नै नपढेपछि पुस्तकमा भएको ज्ञान प्राप्‍त गर्न कहाँ सकिन्छ र। कुरा यस्तै हो, कागजमा लेखिँदैमा कुनै परिवर्तन हुँदैन। परिवर्तन व्यवहार र जीवनशैलीमा हुनुपर्छ। जबसम्म व्यक्तिको जीवनशैली र दिनचर्यामा परिवर्तन आउँदैन, तबसम्म व्यवस्था, परिवर्तन र प्रगतिमा कुनै विश्‍वास राख्न सकिँदैन।

समाज, जीवनशैली, मानवीय स्वभाव, देश/काल/परिस्थितिको चित्रसमेत कविले कवितामार्फत चित्रण गरेका छन्। बिम्बात्मक, व्यङ्ग्य शैलीका कविता भएका कारण धेरैजसो कविताहरू बुझ्नका लागि घोत्लिनुपर्ने अवस्था छ। कतिपय कविताहरू जीवनशैली र भोगाइसँग सम्बन्धित साङ्केतिक छन्, जसको दोहोरो अर्थ लगाएर समेत बुझ्न सकिन्छ।

शारीरिक रूपमा फरक क्षमताका भए तापनि कवि तारकिणी कवित्व र मानसिक रूपमा निकै बलिया छन्। संसार परिवर्तन शरीरको क्षमताले हुँदैन, बौद्धिकताले हुन्छ। बौद्धिकता र शब्दको शक्तिसँग भौतिक शक्ति कहीँ न कहीँ पुगेर झुक्छ नै। सुन्दर बौद्धिकताको प्रस्फुटन भएको यस्तै एक उदाहरणीय कवितासङग्रह हो— बिगन रामको मादल। भौतिक, मानसिक, भावनात्मक जीवनको चिन्तन र चित्रण गरेका कविले कवितामा आध्यात्मिक जीवनको चित्रण भने त्यति गरेको पाइँदैन। कतिपय कवितामा उनको स्वर निराशाजनक पनि देखिन्छ। अर्कातिर कवितामा चैतन्य स्वरूपको कमी छ। कवितामा चिन्तन त गम्भीर छ। चिन्तनभन्दा चित्रण झन् गम्भीर छ। दृष्टान्त निकै सुन्दर छ। बिगन रामको मादलभित्रका कविताहरू पढ्दा पाठकको मन नै गुन्जायमान हुन्छ, सोच्न बाध्य बनाउँछ। यो मेरो पाठकीय मत हो ।

प्रकाशित: १७ मंसिर २०७९ ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App