५ आश्विन २०८१ शनिबार
image/svg+xml
निर्वाचन विशेष

धाँधलीको आरोपमा पर्साको छिपहरमाईमा मतगणना स्थगित, पुनःमतदानको माग

पर्साको छिपहरमाई गाँउपालिकामा मतगणनाका लागि खटेको कर्मचारी टोली निवर्तमान गाउँपालिकाका अध्यक्ष समेत रहेका नेकपा एमालेका उम्मेदवारको पक्षमा धाँधली गरेको विपक्षीहरूले आरोप लगाएका छन्।

आइतबार दिउँसो २ बजेदेखि नेपाली काँग्रेस र जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार र प्रतिनिधिहरूले उजुरी दिंदै मतगणना स्थगित गराएका छन्। मतगणनामा मिलोमतो गरेको प्रमाण फेला परिसकेका कर्मचारीलाई पक्राउ गरी कारवाहरी चलाउन, गाउँपालिकाको वडा नम्बर २ को चेरगाँहा मतदान केन्द्रमा पुनः मतदान गराउन र यसपछि मात्र अर्को कर्मचारी टोली खटाएर मतगणना गराउन माग गर्दै नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका नवीनकुमार सिंह र नेताहरूले सोमबार वीरगञ्जमा पत्रकार सम्मेलन नै गरेका छन्।

काँग्रेसका पर्सा जिल्ला प्रवक्ता रमेशनाथ पाण्डेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा, ‘मतदान र मतगणना दुवैमा धाँधली गरिएको’ सिंहले आरोप लगाए। वीरगञ्जमा सोमबार भएको पत्रकार सम्मेलनमा काँग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार सिंहले वडा नम्बर २ को चेरगाहा मतदान केन्द्रमा खसेको मतभन्दा २० मत बढी निस्केको र मतपत्रहरूमा अधकट्टी निस्साहरू पनि जोडिएकै अवस्थामा फेला परेकाले बुथ कब्जा गरी मत छापिएको पुष्टि भएकाले उक्त मतदान केन्द्रका पुनः मतदान हुनुपर्ने काँग्रेस उम्मेदवार सिंहले दावी गरे।

आइतबार दिउँसो करिब २ बजे नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार मनोज साहको एक हजार ५ सय ९० मतलाई कर्मचारीले एक हजार ६ सय २० भनेर घोषणा गरेका थिए। यसको विरोधमा हंगामा भएपछि त्यसलाई सच्याउने कार्य पनि भएको थियो। तर, त्यस घटनापछि त्यहाँ मतगणना स्थगित छ।

गत संख्या निर्वाचन आयोगमा पठाउँदा तथा घोषणा गर्दा जानाजान गडबडी गरेको फेला परेपछि मिलोमतो भएको थप पुष्टि भएपछि त्यसै कर्मचारी टोलीसँग मतगणना गराउन नसकिने सिंहले बताए। एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार मनोज साहले नियुक्त गरेका करारका कर्मचारी मतगणनामा खटाइएकाले उनीहरूले पक्षपात गरेको काँग्रेस उम्मेदवारको भनाइ छ।

त्यहाँका एक कर्मचारी शम्भु साहकानुले मतगणनामा गडबडी गरेको पुष्टि भइसकेकाले उनलाई हिरासतमा राखी अनुसन्धान बढाउनुपर्ने उनको भनाइ छ। गत शुक्रबार भएको मतदान रद्द गरेर पुन मतदान गरिए मात्र गाँउपालिकाको मतगणना सुरु हुन दिने सिंहले बताए।

‘चेरगाहा मतदान केन्द्रमा धाँधली भएको पर्याप्त प्रमाण हुँदाहुँदै पनि मतदान रद्द गरी पुनः मतदानको मिति घोषणा गरिएन भने अवस्था भयवाह हुनसक्छ,’ सिंहले भने, ‘जनताको मत अधिकारको खेलवाड हो, यसलाई सच्याउन लगाउने क्रममा हामी जेल जान पनि तयार छौं।’

मृत्यु भइसकेका र विदेशमा रहेका मतदाताको नाममा पनि मत खसाइएकाले मतदानमा रुजु भएको मतदाताको सूची आफूहरूले ३ दिनदेखि निवेदन दिएर माग गर्दा पनि गाउँपालिकाका प्रमुख निर्वाचन अधिकृत मुकुन्द निरौलाले नदिएकाले उनको मिलोमतो यसबाट पुष्टि हुन्छ भनी सिंहको तर्क छ। आफूले निर्वाचन कार्यालयसँग तीन दिनदेखि सूचना माग्दा सुनवाइ नभएपछि सोमबार पत्रकार सम्मेलन गर्न बाध्य भएको उनले बताए। पत्रकार सम्मेलनमा, पूर्व जिल्ला सचिव किशोरी साहकानु र गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवारहरूको उपस्थिति थियो।

निर्वाचन अधिकृतको भनाइ

आइतबार दिउँसो एमाले उम्मेदवार साहको मत एक हजार ६ सय २० भनी घोषणा गरिएको मतगणना परिणम पछि एक हजार ५ सय ९० नै ठहर भयो। त्यसपछि कर्मचारीविरुद्ध उजुरी परेर मतगणना स्थगित भएको हो। ‘यहाँ खटेका कर्मचारीहरूले गल्ती गरेको उजुरी नै आएपछि अब ती कर्मचारीहरूलाई खटाएर मतगणना गराउन सक्ने स्थिति रहेन।

अर्को कर्मचारी टोली नआएसम्म मतगणना स्थगित गरिएको छ,’ छिपहरमाई गाउँपालिकाका प्रमुख निर्वाचन अधिकृत मुकुन्द निरौलाले नागरिकलाई भने, ‘मतगणनाको परिणम सार्वजनिक गर्ने क्रममा गडबडी भएको कुरा सही हो, नेपाली र अंग्रेजी अंक मिसिएर चिन्नमा गडबडी भएको हुन सक्छ।’ उनले यसलाई कर्मचारीबाट भएको सामान्य प्राविधिक त्रुटि भने। निरौलाले राखेको सर्वदलीय छलफल निष्कर्षमा पुग्न सकेन।

‘गल्ती एकपटक पो हुन्छ, यहाँ बारम्बार भएको छ। शनिबार राति पनि दुईतीन पटकसम्म यस्तो गडबडी गर्ने प्रयास भयो, विरोध भयो तर सुधार देखिएन,’ स्थानीय जनता समाजवादी पार्टीका समर्थक अशोक कुशवाहाले भने, ‘यो कर्मचारीबाट भएको सामान्य मानवीय त्रुटि नभएर सुनयोजित पक्षपातका गतिविधि भनी एमाले बाहेकका दलहरूको राय छ।’

प्रकाशित: ३ जेष्ठ २०७९ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App