नेकपा एमालेले ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोट मापदण्ड तय गर्दै निर्वाचनको विकल्प खुला गरेको छ। पार्टीको केन्द्रीय संगठन विभागले महाधिवेशन प्रतिनिधि चयनमा चुनाव पनि गर्न सकिने विकल्प खुला गरेको हो। विभागले दुई दिनअघि गरेको निर्णयअनुसार सकेसम्म सर्वसम्मत नभए निर्वाचन प्रक्रियाबाट प्रतिनिधि छान्न सकिने छ। यसका लागि केन्द्रबाट प्रतिनिधि खटाइएको छ।
विभागले यही मंसिर १३ गते महाधिवेशन प्रतिनिधिहरू छनोट गर्न अन्तरपार्टी निर्देशिका जारी गरेको छ। निर्देशिकामा प्रतिनिधि छनोटको व्यवस्थापकीय गृहकार्य कमिटी इन्चार्ज र पदाधिकारीले बेलैमा गर्नुपर्ने र छनोटको काम १३ गते सम्पन्न हुनुपर्ने भनिएको छ। प्रतिनिधि छनोट सकेसम्म सहमतिका आधारमा र सहमति नभए स्वस्थ प्रतिस्पर्धाबाट गर्नुपर्ने छ।
विभागबाट २०८२ चैतसम्मका लागि पार्टी सदस्यता नवीकरण प्रमाणित संख्याका आधारमा प्रतिनिधि छनोट गर्नुपर्नेछ। विभागले तोकेका भूगोल/दलित/मजदुर निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोट प्रक्रियामा सहभागी हुनसक्ने सदस्यहरूको संख्या ७ गतेभित्र यकिन गरिसक्ने, भूगोलको निर्वाचन क्षेत्रमा सदस्य रहेका केन्द्रीय जनसंगठन, केन्द्रीय विभाग र प्रदेश कमिटीका सदस्यले आफू कुन क्षेत्रमा सहभागी हुने हो भन्नेबारेमा ६ गतेभित्र सम्बन्धित जिल्ला कमिटीलाई लिखित जानकारी गराई त्यसको बोधार्थ विभागलाई दिनुपर्ने निर्देशिकामा उल्लेख छ।
प्रतिनिधि हुन चाहिने न्यूनतम योग्यता पार्टी विधानको धारा ६३ (१) मा उल्लेख भएबमोजिम हुनुपर्ने छ। त्यस्तै विशेष आरक्षण गरिएको ४० वर्ष उमेरमुनिबाट प्रतिनिधि बन्न पार्टी सदस्यता प्राप्त गरेको कमसेकम ७ वर्ष पुगेको हुनुपर्ने र उमेरका सन्दर्भमा २०८२ मंसिर १३ गतेसम्म ४० वर्ष नकटेको हुनुपर्नेछ छ।
प्रतिनिधि छनोटसम्बन्धी सूचना १० गतेभित्र भरपर्दो माध्यमबाट सबै पार्टी सदस्य गराउन विभागले निर्देश गरेको छ। कुनै सदस्यले समयमा जानकारी नपाएमा त्यसप्रति सम्बन्धित कमिटीको नेतृत्व जवाफदेही हुनुपर्ने छ। त्यस्तै चयन भएका प्रतिनिधिहरूको फोटोसहित विवरण सम्बन्धित कमिटी प्रमुखले १५ गतेभित्र विभागमा पठाउनुपर्ने छ।
विभागका अनुसार खटिएका केन्द्रीय प्रतिनिधिहरुले तोकिएको कार्यक्षेत्रभित्र प्रतिनिधि छनोट प्रक्रियामा समन्वय र सहजीकरण गर्ने, विभागको निर्णय कार्यान्वयनमा ताकेता गर्ने, स्वच्छ तथा कमरेडली वातावरणमा विधिसम्मत छनोट सम्पन्न गराउन सहयोग गर्नेछन्।
त्यस्तै केन्द्रीय प्रतिनिधिहरुले प्रतिनिधि छनोट प्रक्रियामा आउन सक्ने अस्पष्टतालाई स्पष्ट पार्ने, समस्या आएमा समाधानका लागि अग्रसरता लिने, छानिएका प्रतिनिधिहरूको विवरण तोकिएको समयभित्र विभागमा पठाउन ताकेता गर्ने छन्।
विभागले भानुभक्त ढकाललाई जनसंगठन र सम्पर्क समन्वय कमिटीअन्तर्गतका निर्वाचन क्षेत्रहरू हेर्ने जिम्मेवारी दिएको छ। केन्द्रीय प्रतिनिधिका रुपमा शेरधन राईलाई भोजपुर, तेह्रथुम, धनकुटा, पाँचथर, इलाम, ताप्लेजुङ संखुवासभा, सुनसरी, मोरङ र झापा हेर्नेगरी खटाइएको छ।
त्यसैगरी विशाल भट्टराईलाई खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुां, सुमनराज प्याकुरेललाई सिरहा, सप्तरी, महोत्तरी, धनुषा र सर्लाही, ज्वाला साहलाई रौतहट, बारा र पर्सा, आनन्द पोख्रेललाई काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, चितवन, गणेश पहाडीलाई सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र मकवानपुर तथा सुजिता शाक्यलाई उपत्यका विशेष प्रदेश अन्तर्गतका जिल्ला हेर्ने जिम्मेवारी दिइएको छ।
त्यस्तै सम्झना देवकोटालाई गोरखा, लमजुङ, तनहुँ, मनाङ र नवलपुर, गोविन्द नेपालीलाई बाग्लुङ, मुस्ताङ, पर्वत, कास्की, स्याङ्जा र म्याग्दी, लीला गिरीलाई रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, नवलपरासी (पश्चिम), गुल्मी, जीवन गौतमलाई बाँके, बर्दिया, प्युठान, रुकुम र रोल्पा, लक्ष्मी पोख्रेललाई कर्णाली प्रदेशका सबै जिल्ला, लालबहादुर थापालाई दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बझाङ, बाजुरा र अछाम, लीला भण्डारीलाई कैलाली र कञ्चनपुर, माधव ढुंगेललाई केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय विभागहरू, काशीनाथ अधिकारीलाई अन्तर्राष्ट्रिय कमिटी र भारत प्रवासको जिम्मेवारी दिइएको छ।
संगठन विभागका प्रमु्ख काशीनाथ अधिकारीका अनुसार जिम्मेवारीसहित खटाइएका केन्द्रीय प्रतिानिधिहरुले पार्टीको मिसनलाई कार्यान्वयन गर्न सहजीकरण गर्नेछन्। ‘केन्द्रीय नेताहरुले महाधिवेशन प्रतिनिधि छनोटमा सहजीकरण गर्नेछन्’, अधिकारीले भने।
संगठन विभागले महाधिवेशन प्रतिनिधि छनोटका लागि अन्तरपार्टी निर्देशिका जारी गरे पनि मधेस प्रदेशका केही जिल्ला र बागमती प्रदेशका जिल्लाको सदस्यता प्रमाणीकरण हुन सकेको छैन। मधेस प्रदेशका धनुषा,महोत्तरी, सिरहालगायतको सदस्यता प्रमाणीकरण हुन सकेको छैन। विधान महाधिवेशनमा पेस भएको धनुषाको तथ्यांकअनुसार त्यहाँ एमालेका ४९ हजार ६ सय ६६ जना संगठित सदस्य छन्। अहिले सदस्यता संख्या बढाउन लागिएकाले पनि प्रमाणीकरण हुन बाँकी रहेको एक नेताको दाबी छ।
यस्तै सिन्धुपाल्चोकमा ९ हजार ३ सय ७८ जना संगठित सदस्य रहेकोमा दुइटा गाउँपालिकामा सदस्यता थप गरेर ल्याइएको र त्यसको प्रमाणीकरण हुन बाँकी रहेको विभाग स्रोतले जनाएको छ। महोत्तरीमा ३३ हजार संगठित सदस्य रहेकोमा अहिले बढाइएको छ। सिरहामा १४ हजार संगठित सदस्य रहेको तथ्यांक भए पनि संख्या केही बढेको स्रोतको दाबी छ।
संगठन विभागका प्रमुख अधिकारीका अनुसार केही जिल्लामा सदस्यता प्रमाणीकरण गर्न बाँकी छ। ‘कहींकहीं विवरण अभिलेखका हिसाबले प्रमाणीकरण भैसकेको छैन, विधान महाधिवेशनकै सदस्यता प्रमाणीकरण हो, अभिलेखका आधारमा विवरण नमिलेमा केही तलमाथि हुन सक्छ’, उनले भने। एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ।
प्रकाशित: ५ मंसिर २०८२ ०६:२२ शुक्रबार



-1200x560-600x400.jpg)