अपराध

अवैध लागुऔषधसहित देशभरबाट २६ जना पक्राउ

देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

टोखा नगरपालिका–९, गोंगबुबाट ३ ग्राम ब्राउनसुगरजस्तो पदार्थ र १० थान मोबाइलसहित पवन सम्वाहाम्फे (२६, झापा), कम्लेश मैनाली (२८, पाँचथर) र समिर राई (३२, पाँचथर) लाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग गोंगबुले उनीहरूलाई पक्राउ गरेको हो।

झापा: भद्रपुर नगरपालिका–५, मेचीपुलबाट ३ ग्राम ४ मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित संजय चौधरी (२९, बिर्तामोड) लाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। भारतबाट नेपाल आउँदै गरेका तीनजनामध्ये दुई जना फरार भए, संजयलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त पदार्थ फेला परेको हो। फरार दुईजनाको खोजी भइरहेको छ।

गौरादह नगरपालिका–१ बाट १ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित सुजन कन्दङ्वा (२९) र आयुष विश्वकर्मा (२०) लाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। सुजनको घर तलासी गर्दा उक्त पदार्थ फेला परेको हो।

कैलाली: धनगढी उपमहानगरपालिका–७, बेलीबाट १ ग्राम ६९० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दिपेश बस्नेत (१९) लाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। मोटरसाइकलमा सवार उनलाई लागुऔषध नियन्त्रण ब्यूरो र वडा प्रहरी कार्यालय धनगढीले पक्राउ गरेको हो।

टिकापुर नगरपालिका–९, खक्रौलाबाट १ ग्राम २९० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित निराजन बडुवाल (२३), सुरेश विक (२०) र अनमोल विक (२२) लाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कालाकुण्डा र लागुऔषध नियन्त्रण ब्यूरोले उनीहरूलाई पक्राउ गरेको हो।

सोही स्थानबाट ९०० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित हिक्मत रावत (१९, बर्दिया) र छवि विक (२८, बर्दिया) लाई बिहीबार साँझ पक्राउ गरिएको छ।

कास्की: पोखरा महानगरपालिका–२, नालामुखबाट ८३ ट्याब्लेट टापेन्टाडोलसहित सुरज सुनार (३५, सुनसरी) लाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। सिआरभी विन्दवासिनीले उनलाई पक्राउ गरेको हो।

पोखरा–१८, अँधेरीकुनाबाट १०० ट्याब्लेट टापेन्टाडोलसहित गोरे पुन (५१) र शंकर घलेल (२७) लाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। उनीहरूको स्कुटर पनि बरामद भएको छ।

चितवन: राप्ती नगरपालिका–५, चौकीडाँडाबाट २ किलोग्राम गाँजासहित इमान थिङ (२४) लाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। उनको मोटरसाइकल पनि बरामद भएको छ।

खैरहनी नगरपालिका–८ बाट २ किलो ५०० ग्राम गाँजासहित सरिता गुरूङ (२५, धादिङ) लाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उनको कोठा तलासी गर्दा गाँजा फेला परेको हो।

बर्दिया: बढैयाताल गाउँपालिका–२, फुटाहबाट १७० मिलिग्राम ब्राउनसुगरजस्तो पदार्थसहित अमन थारू (२४) लाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। भारतबाट साइकलमा आउँदै गरेका उनलाई प्रहरी चौकी जमुनीले पक्राउ गरेको हो।

सुनसरी: धरान–१६, गणतन्त्र मार्गबाट २७० ट्याब्लेट ट्रामाडोल, २७० ट्याब्लेट कोलिवान, २९ ट्याब्लेट स्पास्पेन र ३७ हजार नगदसहित गोपाल राई (३०) लाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

कञ्चनपुर: बेलौरी नगरपालिका–१०, सडकघाटबाट २ ग्राम ६७० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित आशिष राना (२२), सुरेश खुना (२४) र श्याम चौधरी (३५) लाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

बारा: कलैया उपमहानगरपालिका–६ बाट १,०३५ ट्याब्लेट नाइट्राभेटसहित धिरेन्द्र कुशवाह (१९), सुमन चौहान (२०), प्रदिप कुमार साह (२४) र मुकेश साह कलवार (२६) लाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। साइकलमा सवार धिरेन्द्र र सुमनबाट १,०२० ट्याब्लेट र अटोमा सवार प्रदिप र मुकेशबाट १५ ट्याब्लेट बरामद भएको छ।

प्रकाशित: २३ जेष्ठ २०८२ १८:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App