९ मंसिर २०८१ आइतबार
image/svg+xml
भिडियो

राष्ट्रकविमा समर्पित नेपथ्यको ‘ऐनाझ्याल’ (भिडियो)

काठमाडौं– यसैसाता सय वर्ष पुगेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई समर्पित गर्दै लोकरक ब्याण्ड नेपथ्यले ‘ऐनाझ्याल’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ। यस गीतलाई नेपथ्यले सन् २०१० मा तयार पारेको अल्बम ‘ऐनाझ्याल’ मा समेटेको थियो। त्यसपछि एक वर्षसम्म ब्याण्डले लगातार आफ्ना कन्सर्टहरुमा यसै गीतलाई ‘ओपनिङ सङ’ (प्रारम्भ गीत)का रुपमा प्रस्तुत गरेको थियो। 

गीतको शब्दले भन्छ–

‘ऐनाझ्यालको पुतलीलाई उड्ने बाटो छैन

भूल पार्यो उज्यालाले, अँध्याराले होइन’

अर्कोतिर उज्यालो संसार देखिरहेको पुतलीलाई सिसाको झ्यालले रोकिदिँदाको मनोदशा गीतमा प्रस्तुत भएको छ। पञ्चायत कालको प्रारम्भताका यो गीतको रचना गरेको राष्ट्रकवि घिमिरेले बताउँदै आएका छन्।

‘राजा महेन्द्रले बोलीमा प्रजातन्त्र भनेता पनि व्यवहारमा छल गर्दै स्वतन्त्रता नदिइरहेको परिस्थितिमा यस गीतको रचना गरेको थिएँ,’ घिमिरेले भनेका छन्, ‘त्यतिबेला यस गीतको राजनीतिक अर्थ छैन भनेर बच्नकै निम्ति दस वर्ष पुरानो रचना हो भन्नुपरेको थियो।’

यसरी घिमिरेले तयार पारेर संग्रह गरिरहेको गीतलाई नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङले संगीतवद्ध पारेका हुन्।केवल गितारको सहारामा अघि बढेको यो गीत धुनहरुबाट भन्दा पनि शब्दको भावलाई नै सम्प्रेषण गर्नेगरि तयार पारिएको छ।

‘तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ सालमा शासनसत्ता हातमा लिएपछि मैले यो गीतलाई संगीतवद्ध पारेको थिएँ,’ गायक गुरुङ भन्छन्, ‘झण्डै चालिस वर्षको अन्तरालमा दोहोरिएको राजनीतिक परिस्थितिलाई उतिबेलाको शब्द र पछिल्लो समयको संगीतले जोड्ने काम गरेको थियो।’ त्यसको लगत्तै प्रस्तुत भएको नेपथ्यको अल्बम ‘ऐनाझ्याल’को नामकरण नै यसै गीतबाट गरिएको थियो।

‘व्याण्डले उतिबेलै कन्सर्टमा ओपनिङ सङका रुपमा प्रस्तुत गर्दाका भिडियो फुटेजहरु हाम्रो संग्रहबाट निकालेर यो भिडियो तयार पारिएको हो,’ नेपथ्यलाई व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘गीतलाई संगीतवद्ध पार्दाकै चरणमा खिचिएका राष्ट्रकविका तस्बिरहरु पनि यसमा समेटिएको छ।’

नेपथ्यले बिहीबार विज्ञप्ति जारी गर्दै आगामी शनिबार राजधानीको स्वयम्भूमा नेपथ्यको रजत वर्ष उत्सवलाई निरन्तरता दिँदै कन्सर्टको आयोजना गर्न लागेको बेला ब्याण्डले त्यसैको पूर्वसन्ध्यामा नेपाल र नेपालीत्वको स्तुतीमा सय वर्ष बिताएका राष्ट्रकविको सम्झनास्वरुप यो गीतलाई प्रस्तुत गरेको जनाएको छ। हेर्नुहोस् भिडियो।

प्रकाशित: ११ आश्विन २०७५ ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App