१० आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

पाकिस्तानविरुद्ध सजग हुनेछौं- इङ्ल्यान्ड

इङ्ल्यान्डका कप्तान जस बटलरले भारतमाथिको रबाफिलो जितले आइतबार पाकिस्तानविरुद्ध हुने ट्वान्टी-२० विश्वकप फाइनलमा कुनै अर्थ नराख्ने प्रतिक्रिया दिएका छन्।

सेमिफाइनलमा भारतलाई १० विकेटले लज्जापूर्ण हार चखाएको इङ्ल्यान्डका कप्तान बटलरले आइतबार उपाधि भिडन्तमा पछिल्ला खेलको नतिजाले आत्मविश्वास बढाउने भए पनि अन्य पक्षमा अर्थ नरहेको प्रतिक्रिया दिएका हुन्।

आइतबार पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड एकदिवसीय र ट्वान्टी-२० फरम्याटका दुवै क्रिकेटमा विश्व च्याम्पियन बन्ने लक्ष्यमा छ। त्यसका लागि सून्यबाट नै सुरु गर्नुपर्ने उनको भनाइ छ। ‘पछिल्लो खेल(भारतसँग)ले धेरै आत्मविश्वास बढेको छ। तर, त्यो जितले फाइनलमा अर्थ राख्दैन,’बटलरले भने, ‘आइतबार सुरुबाटै काम गर्नुपर्छ। पाकिस्तान बलियो टोली हो। त्यसैले हरेक समय उनीहरूसँग ट्रफीका लागि संघर्ष गर्छौं।’

बटलरले आइतबारका लागि राम्रो तयारी गरिरहेको र सकेसम्म उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। ओपनरद्वय बटलर ८० रन र एलेक्स हल्स ८६ रनमा अविजित रहँदै भारतमाथि रबाफिलो जित निकाल्दै पाकिस्तानसँग भेट पक्का गर्‍यो। शनिबार पत्रकार सम्मेलनमा उपस्थित हुँदा बटलर मेलबर्न क्रिकेट मैदानमा हुने फाइनलका लागि निकै उत्साहित देखिन्थे।

मौसम विभाग अनुसार आइतबारको मौसममा पनि राम्रो हुन नसक्ने अनुमान गरिएको छ। इङ्लिस टोलीलाई चोटले पनि सताएको छ। डेविड मालन र तीव्र गतिका बलर मार्क वुड दुवै चोटका कारण सेमिफाइनलमा थिएनन्।

तर, उनीहरूमा केही सुधार आएको कप्तान बटरलले बताए। उनीहरूको स्थान फिल साल्ट र क्रिस जोर्डनले लिन सक्छन्। फाइनल अगाडि पत्रकार सम्मेलनमा कप्तान बटलर निकै उत्साहित देखिन्थे। ‘विश्वकप फाइनल खेल्ने पाउनु नै ठूलो सम्मान हो। हामी निकै उत्साहित छौं। टोली फाइनलको लागि तयार छ,’बटलरले भनेका छन्।

एकदिवसीय क्रिकेटको डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्ड यसपटक ट्वान्टी-२० विश्वकप पनि जित्दै इतिहास रच्ने लक्ष्यमा छ। इङ्ल्यान्डले सन् २०१९ मा न्युजिल्यान्डलाई हराउँदै विश्वकप जितेको थियो। बटलर पनि त्यो टिमका सदस्य हुन्। एकदिवसीय विश्वकप विजेता इङ्लिस टोलीका बेन स्टोक्स, क्रिस वक्स, आदिल रसिद र वुड अहिले पनि ट्वान्टी–२० टोलीमा छन्। बटलरले विश्वकप विजेता भइसकेको अनुभवले आइतबार सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

पाकिस्तानको उत्कृष्ट बलिङ

इङ्ल्यान्डको ब्याटिङ तल्लो क्रमसम्म राम्रो छ। तथापि, पाकिस्तानका तीव्र गतिका बलर साहिन साह अफ्रिदी र मोहम्मद नवाजसामू उनीहरूले निडरतापूर्वक ब्याटिङ गर्न सक्छन् या सक्दैनन् भन्ने मुख्य प्रश्न हो।

पाकिस्तानले पहिलो खेलमा भारतलाई नतिजा सुम्पिएको थियो। दोस्रो खेलमा पनि तुलनात्मक रूपमा कमजोर जिम्बाब्वेसँग स्तब्ध भएपछि पाकिस्तानको सेमिफाइनल यात्रा नै कठिन थियो। यी खेलमा हार हुँदा पाकिस्तानको तीव्र गतिका बलरको प्रदर्शन निराशाजनक नै रह्यो। यस विश्वकपको पावर प्लेमा पाकिस्तानले राम्रो बलिङ गर्दै आइरहेको छ। ६ ओभरभित्र दोस्रो उत्कृष्ट किफायती रनरेटमा बलिङ पाकिस्तानको छ। बटलरले त्यसतर्पm आफ्नो ध्यान गएको बताए।

‘तीव्र गतिका बलर उत्पादन गर्न पाकिस्तानको लामै इतिहास छ। तर, पनि हामी अन्य टोलीजस्तै पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गर्छौं। पाकिस्तानले कडा प्रतिस्पर्धा दिन्छ भन्ने लागेको छ,’इङ्ल्यान्डका कप्तान बटलरले भनेका छन्।

यता, पाकिस्तानका कप्तान बाबर आजमले आफ्नो टोलीमा उर्जा थपिएकाले लगातार चार जित सम्भव भएको र ट्वान्टी-२० विश्वकपको फाइनल पनि जित्ने विश्वास व्यक्त गरेका छन्। सन् २००९ को ट्वान्टी-२० विश्वकप च्याम्पियन पाकिस्तान पनि फेरि त्यो सफलता दोहोर्‍याउने लक्ष्यमा छ। ‘हामीले सुरुका दुई खेल गुमायौं। तर, त्यसपछि राम्रो प्रदर्शन गर्दै लगातार चार खेल जित्यौं,’पत्रकार सम्मेलनमा आजमले भने, ‘डरभन्दा पनि उत्साहित छु। हामीमा रहेको दबाब हटिसकेको छ। अझै एक खेल जित्दै उपाधि उचाल्ने लक्ष्यमा छौं।’

बलिङमा साहिन र नवाज तथा ब्याटिङमा आजम र मोहम्मद रिजवानको प्रदर्शनले पाकिस्तानको जित निर्भर रहनेछ। पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष रमिज राजाले शुक्रबार नै आफ्नो टोलीसँग भेटेका थिए।

सन् १९९२ मा इङ्ल्यान्डलाई हराउँदै पाकिस्तानले एकदिवसीय विश्वकप उचाल्दाको अनुभव साट्दै राजाले आफ्नो टोलीको उत्प्रेरणा दिएका थिए। त्यतिबेला राजा पनि पाकिस्तानी टोलीका सदस्य थिए। ‘पिसिबीका अध्यक्ष नै आएर सन् १९९२ को विश्वकप जित्दाका अनुभव सुनाउनु भयो। यसले टोलीको मनोबल पनि बढ्नेछ,’आजमले भने।

प्रकाशित: २७ कार्तिक २०७९ ०२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App