६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

पिएम कप क्रिकेट: आर्मी सेमिफाइनल खेल्ने चौथो टोली

कर्णाली प्रदेशलाई १ सय ४० रनले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने चौथो टोली भएको छ।

मूलपानी मैदानमा मंगलबार २ सय ५५ रनको लक्ष्य पछ्याएको कर्णालीले २८.३ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय १४ रन बनाउँदै नतिजा सुम्पिँदा आर्मीले अन्तिम चारमा स्थान बनाएको हो। जबाफी ब्याटिङ गरेको कर्णालीका लागि विपिन रावलले ४८ रनको व्यक्तिगत योगफल बनाउँदा अर्जुन घर्तीले १७, प्रकाश जैसी र सन्दीप शाहीले समान ११/११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। कर्णालीको इनिङलाई सस्तैमा समेट्ने क्रममा आर्मीका रोहित पौडेलले सर्वाधिक ३ विकेट हात पार्दा शाहब अलाम र हरि चौहानले समान २/२ तथा जितेन्द्र मुखिया र सुशन भारीले १/१ विकेट आफ्नो नाममा लेखाए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पूरै ५० ओभरको खेलमा ६ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो। आर्मीका विनोद भण्डारीले अविजित ३७ रनको पारी खेल्दा राजेश पुलामीले २८ रन बनाए। यस्तै कुशल मल्ल र रोहित पौडेलले समान ३५/३५ रनको व्यक्तिगत स्कोर जोड्दा हरि चौहानले ३१, भीम सार्कीले २९, ओपनर अर्जुन साउदले २० तथा अनिल मण्डलले १७ रनको योगदान गरे। बलिङतर्फ कर्णालीका प्रकाश जैसीले ३ विकेट लिए। दीपेन्द्र रावतले २ विकेट लिँदा दिनेश अधिकारीले १ विकेट हात पारे।

यससँगै समूह ‘ए’ बाट आर्मी समूह उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गर्दा एपिएफ समूहविजेता बनेको छ। आर्मीले ४ खेलमा ६ अंक बनाउँदा एपिएफले ७ अंक जोड्यो। आर्मीसँग हारेको कर्णालीले जितविहीन रहँदै प्रतियोगितामा बिट मार्‍यो।

यस्तै समूह चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब समूहविजेता बन्यो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले मधेस प्रदेशमाथि १ सय ९१ रनको फराकिलो जित निकालेर समूह ‘बी’ को विजेता बनेको हो। पुलिसले दिएको २ सय ७४ रनको फराकिलो लक्ष्य पछ्याउने क्रममा मधेस प्रदेशले २९.३ ओभरमा सबै विकेट गुमाएर मात्र ८२ रन जोड्न सक्यो। जबाफी ब्याटिङ गरेको मधेसका लागि मोहम्मद आदिल  आलमले सर्वाधिक ४२ रनको पारी खेल्दा रत्न रोनाकले ११ तथा कप्तान हरिशंकर शाहले १० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यान पुलिसका बलरसामु खुलेर खेल्न सकेनन्। पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ५ विकेट निकाल्दा करण केसीले ३ तथा रासिद खानले २ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले ४९.१ ओभर सबै विकेट गुमाएर २ सय ७३ बनाएको थियो। पुलिसका लागि तीन खेलाडीले अर्धशतक बनाए। आरिफ शेखले ८६ बलमा ८ चौका र १ छक्का प्रयोग गर्दै सर्वाधिक ७३ रन जोड्दा ९६ बल खेलेका अमित श्रेष्ठले ९ चौकाको सहयोगमा ६५ रन बनाए। यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ५१ रन जोड्दा दिलीप नाथले ४० रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। बलिङतर्फ मधेसका राजेश यादव र रूपेश सिंहले समान ३/३ विकेट हात पार्दा मोहम्मद आदिल आलमले दुई तथा विशाल पटेल र हरिशंकर शाहले १/१ विकेट आफ्नो नाममा लेखाए।

यससँगै पुलिसले सबै चार खेलमा स्पष्ट जित निकाल्दै समूहतालिकामा ८ अंक जोड्न सफल भयो। पुलिस समूहविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको हो। यस्तै पराजित मधेस पनि सेमिफाइनलमा पुगेको छ। मधेसले ३ खेलबाट ५ अंक जोडेर समूह उपविजेता बनेको हो।

प्रकाशित: २३ कार्तिक २०७९ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App