१० आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

ब्लाटरको पश्चात्ताप: कतारलाई आयोजना दिनु गलत

विश्व फुटबलको प्रशासकीय निकाय फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरले १२ वर्षअगाडि कतारलाई विश्वकप आयोजकका रूपमा छनोट गर्नु गल्ती भएको प्रतिक्रिया दिएका छन्।

एक स्विस पत्रिकासँगको कुराकानीमा ८६ वर्षे ब्लाटरले आफ्नै कार्यकालमा कतारलाई विश्वकप आयोजना अधिकार दिनु गल्ती भएको बताएका हुन्। भ्रष्टाचारको आरोपमा गत जुलाईमा मात्र ब्लाटर र मिचेल प्लाटिनीले ६ वर्षपछि अदालतबाट सफाइ पाएका थिए। त्यसपछि पहिलोपटक सञ्चा रमाध्यममा कुरा गर्दै ब्लाटरले आफ्नै नेतृत्वमा भएको निर्णय गलत रहेको स्विकारेका हुन्। ‘यो धेरै सानो राष्ट्र हो,’ कतारका बारेमा बोल्दै उनले भने, ‘फुटबलको विश्वकप आयोजना गर्नु भनेको सबैभन्दा ठूलो हो। त्यसको तुलनामा कतारलाई त्यो आयोजना दिनु गल्ती भएछ।’

सन् १९५४ मा स्विट्जरल्यान्डपछि विश्वकप फुटबलको आयोजना गर्ने कतार सानो राष्ट्र हो। कुल ३२ राष्ट्रले आठ स्टेडियममा कुल ६४ खेल खेल्नेछन्। विश्वकपका लागि भनेर सन् २०१० देखि नै दोहामा धेरै संरचना निर्माणका काम भएका थिए। यसपटक आगामी नोभेम्बर २० देखि विश्वकप सुरु हुँदै छ, जहाँ करिब १२ लाख अन्तर्राष्ट्रिय समर्थक कतार पुग्ने आकलन गरिएको छ। यद्यपि, आयोजक राष्ट्रमा सीमित मात्रामा बस्ने स्थान रहेपछि कतारको आलोचना हुन थालेको छ। केही समर्थक छेउका राष्ट्रबाट यात्रा गरेर विश्वकप हेर्न आउन बाध्य हुने सञ्चार माध्यमको भनाइ छ।

‘त्यो समय खराब छनोट भएछ। त्यस समय म नै अध्यक्ष रहेकाले त्यसको जिम्मेवारी लिन्छु,’ ब्लाटरले भनेका छन्। यद्यपि, ब्लाटरले आफूले अमेरिकालाई नै मत दिएको दाबी गर्दै आइरहेका छन्। विश्वकप २०२२ को आयोजनाका लागि फाइनल चरणमा दाबेदार पाँच राष्ट्रमध्ये कतारले अमेरिकालाई हराएको थियो। कतारले विश्वकप आयोजनामा सफलता पाउनुको पछाडि तत्कालीन फ्रान्सका राष्ट्र«पति निकोलस सर्कोजी र मिचेल प्लाटिनीबीचको बैठकलाई मान्ने गरिन्छ। यो बैठकले नै कतारको पक्षमा मत जान ठूलो भूमिका खेलेको चर्चा छ।

कतारले जित्नु भनेको अमेरिकामाथि विजय प्राप्त गर्नु सरह मान्दै तत्कालीन राष्ट्रपति सार्कोजीले पेरिसमा त्यो बैठकको प्रबन्ध मिलाएका थिए। त्यसपछि मात्र कतारले सन् २०१० को डिसेम्बर २ मा सफलता पाएको हो। मिचेल प्लाटिनी त्यति बेला फ्रेन्च फुटबलका अध्यक्ष थिए। पछि उनी युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएका अध्यक्ष र फिफाका उपाध्यक्ष बनेका थिए। प्लाटिनीले त्यो जिम्मेवारी पाएसँगै सार्कोजीले उनलाई आफ्नो राष्ट्रपति निवासमा समेत आमन्त्रण गरेका थिए, जहाँ कतारका राजकुमार शेख तमिम बिन हमाद अल थानीको उपस्थिति थियो।

सार्कोजीकै दबाबमा प्लाटिनीले युरोपका मत कतारको पक्षमा जान मद्दत गरेको ब्लाटरको दाबी छ। पेरिसमा सम्पन्न त्यो बैठकपछि फ्रान्सका राष्ट्रपति सार्कोजीले टेलिफोनमार्फत प्लाटिनीलाई निर्देशन दिएको ब्लाटरको भनाइ छ। ‘प्लाटिनी र उनको युइएफए टिमकै मद्दतमा कतारले विश्वकप आयोजनाको दाबेदारीमा महत्त्वपूर्ण चार मत पायो। त्यसपछि मात्र कतारले अमेरिकालाई १४-८ ले हराएको हो।’ सन् २०१५ मा नै ब्लाटरले पेरिस बैठकबाट यो नतिजामा भूमिका खेलेको प्रति संकेत गरेका थिए। ‘सार्कोजीले मलाई कतारमा मत राख भनेर कहिल्यै भनेका छैनन्। तर, के राम्रो हो, होइन भन्नेबारे म नै स्पष्ट थिएँ,’ प्लाटिनीले सात वर्षअगाडि नै भनेका थिए।

तर, अमेरिकन अधिकारीले भने मत हाल्न भनेको प्लाटिनीको दाबी थियो। ब्लाटरले आयोजना दिनु गलत भएको बताए पनि सन् २०१० देखि त्यहाँ भएका श्रम शोषण र मानव अधिकार हननबारे कतारको आलोचना गरेका छैनन्। यद्यपि, फिफाका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनो केही वर्षयता कतारमा नै बस्ने गएको प्रति ब्लाटरले आलोचना गरेका छन्। तथापि, ब्लाटरले कतारमा स्टेडियम बनाउँदा मृत्यु र घाइते भएका कामदारलाई क्षतिपूर्ति दिन कोष निर्माणका लागि अमेरिका, इङ्ल्यान्ड र विभिन्न संघ संस्थालाई आग्रह गरेका छन्। तर, कतार सरकारले भने त्यसलाई ब्लाटरको नाटकको संज्ञा दिएको छ।

‘जब अध्यक्ष र कतार एउटा डुंगामा सबार हुन्छन् भने फिफाले अरू के नै गर्न सक्छ र,’ ब्लाटरले इन्फान्टिनोको दोहामा बस्ने निर्णयप्रति आलोचना गर्दै भनेका छन्। तथापि, फिफाले त्यसप्रति कुनै प्रतिक्रिया भने जनाएको छैन। सन् २०१८ को विश्वकप फुटबलमा रसियाले ब्लाटर र प्लाटिनीलाई अतिथिका रूपमा आमन्त्रण गर्दा फिफाले प्रतिबन्ध लगाएको थियो। त्यससिछ ब्लाटरले स्विट्जरल्यान्डको जुरिचमा रहेको आफ्नै अपार्टमेन्टमा बसेर विश्वकप हेरेको स्विस सञ्चारमाध्यमको भनाइ छ। 

प्रकाशित: २३ कार्तिक २०७९ ०२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App