६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

ट्वान्टी-२० विश्वकप क्रिकेट २०२२: अस्ट्रेलिया र इङ्ल्यान्ड बीचको खेल पनि वर्षाले रद्द

बहुप्रतीक्षित आयोजक अस्ट्रेलिया र इङ्ल्यान्डबीचको खेल वर्षाका कारण स्थगित हुँदा ट्वान्टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को समूह १ तालिका थप रोमाञ्चक बनेको छ।

शुक्रबारलाई तय भएका दुईमध्ये पहिलो आयरल्यान्ड र अफगानिस्तानबीचको खेल पनि वर्षाका कारण स्थगित भएको थियो। यससँगै चार टोलीले समान एकएक अंक जोड्दा सेमिफाइनल समीकरण थप जटिल भएको छ। टस नभई स्थगित भएसँगै अस्ट्रेलिया-इङ्ल्यान्ड बीचको खेल जारी विश्वकपमा वर्षाका कारण रद्द भएको चौथो खेल हो। सुपर १२ अन्तर्गत समूह ‘बी’ को खेलमा दक्षिण अफ्रिका र जिम्बाब्वेले पनि वर्षाका कारण अंक बाँड्नुपरेको थियो। न्युजिल्यान्ड र अफगानिस्तान बीचको खेल पनि वर्षाले रद्द भएको थियो।

‘आजको खेलबाट धेरै समर्थक निराश हुनुपरेको छ। दर्शकले यस खेललाई बहुतै प्रतीक्षा गरेका थिए। वर्षाले खेल नहुँदा हामी खेलाडीसहित सबैलाई पीडा भएको छ,’ इङ्ल्यान्डका कप्तान जोस बट्लरले भने, ‘यस खेल दुवै टोलीका खेलाडीलाई व्यक्तिगत करियर निखार्ने मौका हुने थियो। खेलाडीहरूले विश्वकपजस्तो खेलबाट सुखद नतिजाको अपेक्षा राख्ने गर्दछन्। खेलमा यस्तो हुन्छ। स्वीकार गर्नुको विकल्प छैन।’

यस्तै अस्ट्रेलियाका कप्तान आरोन फिन्चले पनि वर्षाका कारण खेल गुमाउनुपर्दा दुःख लागेको प्रतिक्रिया दिए। उनले पछिल्लो साता वर्षा भइरहँदा क्रिकेट नहुनु सबैका लागि पीडादायी क्षण भएको बताए। उता अघिल्लो खेल पनि गुमाउनुपरेको विषयलाई जोड्दा अफगानिस्तानका खेलाडीले पनि पीडा भएको महसुस सुनाए। राम्रो लयमा भइरहेको अवस्थामा खेल गुमाउनुपर्दा अनुभव लिने अवसर पनि गुमेको प्रक्रिया दिएका छन्। दुवै टोली जित निकाल्दै तालिकामा अब्बल हुन चाहन्थे।

यससँगै जारी विश्वकपमा इङ्ल्यान्डले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो। तर वर्षाका कारण इङल्यान्ड आयरल्यान्डसँग डकवर्थ लुइस पद्धतिको आधारमा ५ रनले स्तब्ध भएको थियो। त्यस्तै अस्ट्रेलिया पहिलो खेलमा न्युजिल्यान्डसँग ८९ रनले पराजित भएको थियो। अस्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हराएको थियो। दुवै टोलीले अब दुई/दुई खेल खेल्न बाँकी छ।

इङ्ल्यान्डले अब मंगलबार न्युजिल्यान्ड र शनिबार श्रीलंकासँग खेल्नेछ। यी दुवै खेलमा फराकिलो अन्तरले जित निकाल्न सके रनरेटको आधारमा इङ्ल्यान्ड बलियो हुनेछ। अस्ट्रेलियाले सोमबार आयरल्यान्ड र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ। अस्ट्रेलियाको नेट रनरेट कमजोर हुँदा फराकिलो जित आवश्यक पर्दछ। सुपर १२ को समूह १ मा न्युजिल्यान्ड २ खेलमा १ मा जित र एकमा अंक बाँड्दै ३ अंकका साथ शीर्ष स्थानमा छ।

इङ्ल्यान्डको ३ खेलमा १ मा जित, १ मा हार र १ खेल रद्द हुँदा ३ अंकका साथ दोस्रो स्थानमा छ। आयरल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ मा अंक बाँड्दै तेस्रो स्थानमा छ। अस्ट्रेलिया ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै चौथो स्थानमा छ। श्रीलंका २ खेलमा १ मा जित र १ मा हारसहित पाँचौं स्थानमा छ। अफगानिस्तान ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाँड्दै पुछारमा छ।

सुपर १२ को समूह २ मा भारत २ खेलमा जित निकाल्दै ४ अंकका साथ शीर्ष स्थानमा छ। दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा अंक बाड्दै ३ अंकका साथ दोस्रो स्थानमा छ। जिम्बाब्वे २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ तेस्रो स्थानमा छ। बंगलादेश २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ। पाकिस्तान र नेदरल्यान्ड्स अंकविहीन छन्।

प्रकाशित: १२ कार्तिक २०७९ ०१:३५ शनिबार

ट्वान्टी-२० विश्वकप क्रिकेट २०२२