१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

राष्ट्रिय खेलकुदको सुनिश्चितताका लागि अहिल्यै मिति घोषणा: खेलकुदमन्त्री गहतराज

फाइल तस्बिर।

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित कार्यतालिकामा गर्न सहज बनाउने गरी अहिल नै मिति घोषणा गरिएको बताएका छन्।

पोखरामा शुक्रबार साँझ पत्रकारहरुसँगको भेटघाटमा उहाँले कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुद विगतमा जस्तो लामो समयसम्म  नहुने अवस्था अब नआउने उल्लेख गरे। हरेक दुई वर्षमा हुने प्रतियोगिता नियमित सञ्चालन हुने उनको भनाइ छ।

मन्त्री गहतराजले भने, ‘हामीले दसौँ राष्ट्रिय खेलकुदको मिति अहिले नै तय गरेका छौँ। कर्णालीमा दुई वर्षभित्रमा मात्र भनेका छैनौँ, विसं २०८१ मङ्सिर २ देखि ९ गतेसम्म मिति अहिले नै घोषणा गर्दा यसको तयारीमा समेत सहयोग पुग्नेछ, प्रतियोगिताको सुनिश्चितता हुन्छ।’

खेलकुदमन्त्री गहतराजले पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद मौसमको प्रतिकूलता, चाडपर्वहरुका बीच र सार्वजनिक खरिदका केही प्रावधानका कारण चुनौती रहे पनि चुनौतीका बीचमा पनि सफल भएको बताए।

नवौँ राष्ट्रिय खेलकुद आयोजनाले अन्तर्राष्ट्रिय मान्यतासमेत पाइसकेकाले राष्ट्रिय टोली निर्माण र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताका लागि सहज बनेको उहाँको भनाइ छ। पोखरामा सात दिनसम्म चलेको भव्य प्रतियोगिता सफल पार्न सहयोग गर्ने सञ्चार जगत लगायत सबै गण्डकी प्रदेशवासीलाई समेत उनले आभार व्यक्त गरे।  

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले नवौँमा पहिलो पटक राष्ट्रिय खेलकुदको ट्रफी निर्माण, राष्ट्रिय खेलकुदको मान्यताअनुसार ‘एन्टी डोपिङ’ परीक्षण लगायतका नवीनतम् कार्य सुरु भएको बताए। उनले खेलाडीहरुको विवरण डिजिटल माध्यमबाट दर्ता गरी अभिलेखीकरण गरिएको समेत बताए। प्रतियोगितामा ३६ खेलको तीन सय ९६ इभेन्टस सम्पन्न भएको, खेलाडी ६ हजार एक सय २७, निर्णायक एक हजार ६ सय ४७, प्रशिक्षक सात सय एक, व्यवस्थापक पाँच सय ११ र सञ्चालक समिति एक सय नौजना गरी १० हजारभन्दा बढीको सहभागिता भएको जानकारी दिए। प्रतियोगिता सफल भएकामा उनले सबैप्रति आभार व्यक्त गरे।

प्रकाशित: ५ कार्तिक २०७९ ०५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App