कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालकी १९ वर्षीय कुस्ती खेलाडी दमन्ती बोहराले डेब्युमै आफ्नो तौल समूहमा स्वर्ण हात पारिन्। एक वर्षअघि मात्रै कुस्तीमा आएकी बोहराले नवौँ राष्ट्रिय प्रतियोगितामा महिलातर्फ ५० किलो तौल समूहमा स्वर्ण जित्दा ७२ किलो तौल समूहमा भीमदत्त नगरपालिका–१८ गोवरियाकी हेमा भट्टले पनि पहिलो सहभागितामै स्वर्ण जितिन्।
दमन्ती र हेमा प्रतिनिधि पात्रमात्रै हुन्। उनीजस्तै प्रतिभावान खेलाडी उत्पादनको थलो बन्दै गरेको कञ्चनपुरले मुलुकमै अब्बल खेलाडी उत्पादनमा अग्रता कायम गर्न सफल भएको छ। नवौँ राष्ट्रियमा महिलातर्फ १० स्वर्ण पदकमा भीडन्त हुँदा सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै खेलेका महेन्द्रनगरका पाँच महिला खेलाडीले स्वर्ण जिते। बाँकी स्वर्ण नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले कब्जा जमायो। सेनामा पनि पछिल्लो समय महेन्द्रनगरकै उत्पादनले प्रतिस्पर्धा गरिरहेका छन्।
'दमन्ती खेलमा नयाँ र हेमालाई फुटबलबाट कुस्तीमा ल्याएको थिए', कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भने, 'हामी कुस्तीमा महिलातर्फ मुलुकमै अब्बल सावित भइसकेका छौँ।' आठौँ राष्ट्रियमा पनि बहुमत छ जनाले सुदूरपश्चिमलाई स्वर्ण दिलाएको प्रशिक्षक चन्दले स्मरण गराए।
दमन्ती र हेमाले स्वर्ण जित्दा यसअघिकी विजेता ५३ किलो तौल समूहकी मनिषा सिंहले स्वर्णलाई नवौँमा पनि निरन्तरता दिइन् भने ५५ किलो तौलमा कञ्चनपुरकी सङ्गीता धामीले स्वर्ण हात पारिन्। सङ्गीताले फाइनलमा यसअघि कञ्चनपुरबाट खेलिसकेकी र अहिले आर्मीमा आवद्ध शिवानी दुबेलाई पराजित गरिन्।
१४औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा सङ्गीता स्वर्ण पदक जित्ने पहिलो महिला कुस्ती खेलाडी हुन्। शिवानीले पनि सागमा पदक जितेकी थिइन्। त्यसैगरी प्रतियोगितामा महिलातर्फ ५९ किलो तौल समूहमा कञ्चनपुरकी कोमल खत्रीले सुदूरपश्चिमलाई अर्को स्वर्ण दिलाइन्।
पाँच स्वर्ण, एक रजत र तीन कास्य जितेको सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरमा मात्रै कुस्ती प्रशिक्षण हुन्छ। 'कुस्तीको नियमित प्रशिक्षणले गति लिएको विसं २०७२/७३ बाट हो', कुस्ती प्रशिक्षणमा सक्रिय चन्दले भने, 'खेलाडीको नियमित सङ्घर्ष र प्रशिक्षणले सफलता हासिल गर्न सफल भएका हुन्।'
बेलाबखतमा नयाँ खेलाडी खोज्न गाउँघर र विद्यालयसमेत चहार्ने गरेका चन्दले कतिपय नयाँ खेलाडी पुराना प्रशिक्षणरत खेलाडीमार्फत कुस्तीमा आउने गरेको बताए। सुदूरपश्चिमलाई सबैभन्दा बढी स्वर्ण दिलाउने सूचीमा कुस्ती रहे पनि कुस्ती खेल संरचना र आवश्यक व्यवस्थापनमा भने कसैको ध्यान पुगेको छैन।
महेन्द्रनगरमा कुस्ती खेलाडी प्रशिक्षणका लागि हल नपाएर लामो समयदेखि जिल्ला खेलकुद विकास समितिको साँघुरो कोठामा यसका खेलाडीले कुस्तीको अभ्यास गर्ने गरेका छन्। नवौँका लागि प्रदेशस्तरीय छनोट हुँदा तेक्वान्दोको हलमा छनोट गरेर कुस्ती खेलाडी नवौँमा सहभागी हुन गएका थिए।
'हामीसित भएको म्याट पनि अधुरो छ', उनले भने, 'प्रशिक्षण हल बनाउन प्रदेश सरकारले विगतमा बजेट दिए पनि त्यो निर्माण अधुरो अवस्थामा छ।' प्रशिक्षणका लागि हल र खेल सामग्री उपलब्धतामा कमी नआए महेन्द्रनगर कुस्ती खेलाडी उत्पादनको हब बन्नेमा कुनै आशङ्का नरहेको चन्दको भनाइ छ। 'विगतदेखिको नतिजा हेर्दा यहाँका महिला अब्बल देखिए', उनले भने, 'अहिले पनि २२–२२ जना जुनियर खेलाडी नियमित प्रशिक्षणमा आइरहेका छन्।' रासस
प्रकाशित: २ कार्तिक २०७९ ०८:२२ बुधबार