१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुद: फेन्सिङको टिम इभेन्टमा बाग्मतीलाई दुई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार फेन्सिङमा तीन स्वर्णको नतिजा टुंगिँदा बाग्मतीले दुई र नेपाली सेनाले एक स्वर्ण जितेका छन्।

फेन्सिङको पुरुष टिम फोयलमा बाग्मतीले नेपाली सेनालाई पन्छाउँदै स्वर्ण पदक जितेको हो। बाग्मतीको फेन्सिङमा यो तेस्रो स्वर्ण हो। पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा भएको फाइनलमा नेपाली सेनाले रजत पदकमा चित्त बुझाउँदा सुदूरपश्चिम र प्रदेश–१ ले कांस्य पदक प्राप्त गरेका छन्।

महिला इपी टिम इभेन्टको स्वर्ण भने नेपाली सेनाले जितेको छ। विभागीय प्रतिस्पर्धामा सेनाले एपिएफका खेलाडीलाई पन्छाउँदै स्वर्ण जित्यो। एपिएफले रजतमा चित्त बुझाउँदा प्रदेश–१ र सुदूरपश्चिमले कांस्य पदक जिते। महिला सेबर टिम इभेन्टमा बाग्मतीले स्वर्ण, नेपाली सेनाले रजत र एपिएफ तथा प्रदेश–१ ले कांस्य जिते।

क्रिकेटतर्फ पुलिस सेमिफाइनलमा

प्रदेश–१ लाई १ सय १८ रनले पराजित गर्दै पुलिस सेमिफाइनलमा पुगेको छ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो सहभागिता जनाएको पुलिसले बुधबार ३ विकेटको क्षतिमा १ सय ५८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। टस हारेर पनि पहिले ब्याटिङको निम्तो पाएको पुलिसकी काजल श्रेष्ठ ६ रनमा आउट भए पनि कविता कुँवर र सम्झना खड्काले ७७ रनको साझेदारी गरे। कविताले ३७ रन बनाउँदा सम्झनाले ६० रन प्रहार गरिन्। अप्सरी बेगमले अविजित २१ रन र कप्तान रुविना क्षत्रीले अविजित १६ रन बनाए।

१ सय ५९ रनको लक्ष्य पछ्याएको प्रदेश–१ केवल ४० रनमै समेटियो। ललिता राजवंशी र सानु राजवंशीले समान ११ रनको योगदान गरे। अन्य सबै ब्याटर दोहोरो अंकको रन बनाउन चुके। हिरण्यमी रोयले ६ रन दिएर ३ विकेट लिइन्। खेलमा प्लेयर अफ दी म्याच सम्झना खड्का बनिन्।

दोस्रो खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १ सय ५ रनले पराजित गर्‍यो। टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले लक्ष्मी चौधरीको ३१ र सरस्वती गंगामगरको ३० रनको योगदानमा ६ विकेट गुमाउँदै १ सय २७ रन बनायो। कर्णालीकी अन्जु गुरुङले दुई विकेट लिइन्।

१ सय २८ रनको लक्ष्य पछ्याएको कर्णाली २३ रनमा समेटिन पुग्यो। लुम्बिनीका मधु डिसीले ४ र कृत्तिका मरासिनीले २ विकेट लिए। डिसीको घातक बलिङमा कर्णालीका ब्याटर टिक्नै सकेनन्। सबै ब्याटरले दोहोरो अंकको रन छुन सकेनन्। खेलमा मधु डिसी प्लेयर अफ दी म्याच चुनिइन्।

ह्यान्डबल

पुरुष ह्यान्डबलतर्फ गण्डकीले बागमतीलाई ३२–१४ ले पराजित गर्‍यो। लगातार ३ खेल जितेको गण्डकी यससँगै ९ अंक बटुल्न सफल भयो। सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रदेश–१ माथि ३५–५ को जित निकाल्यो। टोलीले ३ खेल जितेर ९ अंक नै बटुल्यो। आर्मीले कर्णालीमाथि ५४–१४ को जित निकाल्यो। दुई खेल जितेर टोलीले ६ अंक बटुल्यो। महिला ह्यान्डबलमा आर्मीले कर्णालीलाई २३–४ को अन्तरले पराजित गर्‍यो। लगातार दोस्रो खेल जितेको आर्मी ६ अंक जोड्न सफल भयो ।

प्रकाशित: २७ आश्विन २०७९ ०१:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App