१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

एएफसी यु–१७ एसिया कप छनोट: जितविहीन हुँदै नेपालको यात्रा टुंगियो

विपक्षीविरुद्ध हेड गर्दै नेपालका विक्रम तामाङ। तस्वीर: एन्फा

चाइनिज ताइपेईलाई ४–२ को नतिजा सुम्पिएसँगै १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको नेपालको एएफसी यु–१७ एसिया कप छनोट २०२३ को यात्रा जितविहीन बनेको छ।

समूह ‘एफ’ को नेपालले मुख्य लक्ष्य शीर्ष स्थानमा बस्दै एसिया कप २०२३ को टिकट काट्ने थियो। शीर्ष स्थानमा नपरेको खण्डमा नेपालले उत्कृष्ट ६ उपविजेताभित्र पर्दै एसिया कप खेल्ने लक्ष्य राखेको थियो। तर नेपालको सो लक्ष्य निकै पर देखियो। प्रतियोगितामा नेपाल अंक जोड्न समेत सक्षम भएन।

नेपालले गत बुधबार पहिलो खेलमा थाइल्यान्डलाई ३–० को नतिजा सुम्पिएको थियो। सो खेलमा नेपालको रक्षापंक्ति र गोलकिपरबीचको तालमेल अभाव स्पष्ट रूपमा देखिएको थियो। शुक्रबार दोस्रो खेलमा पनि नेपालले सोही गल्तीलाई निरन्तरता दियो।

अन्ततः नेपाल घरेलु टोलीलाई ५–० को फराकिलो नतिजा सुम्पिएसँगै प्रतियोगिताको समूहचरणबाटै बाहिरिसकेको थियो।

आइतबार चाइनिज ताइपेईविरुद्धको खेल नेपालका लागि प्रतियोगितामा आफ्नो यात्राको सुखद अन्त्य गर्ने अवसर समेत थियो। लगातार तेस्रो खेलमा पनि आफ्नै गल्ती भारी पर्दा नेपाल अंकविहीन बनेको हो।

नेपालले ३ खेलमा कुनै अंक जोड्न सकेन। शीर्ष स्थानको भियतनाम तीन खेलमा ९ अंक जोड्दै एसिया कपमा स्थान बनाउन सफल भयो। समूह चरणको अन्तिम खेलमा भियतनामले थाइल्यान्डलाई ३–० ले हरायो। दोस्रो स्थानको थाइल्यान्डको दुई ६ अंक रह्यो। थाइल्यान्डले उत्कृष्ट ६ उपविजेताभित्र पर्दै एसिया कप खेल्ने सम्भावना भने जीवित राखेको छ।

तेस्रो स्थानको चाइनिज ताइपेईको ३ अंक रह्यो। नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले एउटै गल्ती दोहोर्‍याउँदा जितविहीन बन्नुपरेको बताए।

‘आज पनि हामीले एउटै गल्ती दोहोर्‍यायौं र त्यसमा गोल पनि खायौं,’ श्रेष्ठले भने, ‘हामीले आज यसअघिका दुई खेलभन्दा राम्रो खेल्दै गोलको अवसर पनि सिर्जना गरेका थियौं, तर त्यसको फिनिसिङमा भने हामी चुक्यौं। आज हामी जितको हकदार थियौं, तर आफ्नै गल्तीले त्यसबाट टाढियौं।’

श्रेष्ठले रक्षक दीपक थापामगरलाई सामान्य फाउलमा पनि दोस्रो पहेँलो कार्ड देखाएको र त्यसले नेपाली टोलीलाई घाटा भएको बताए।

‘त्यो सामान्य फाउल थियो, तर दीपकलाई दोस्रो पहेँलो कार्ड देखाइयो,’ श्रेष्ठले भने, ‘नेपाली टोली १० खेलाडीमा सीमित हुँदा ताइपेईले खुलेर खेल्ने मौका पायो र थप दुई गोल गर्‍यो।’

खेलको तेस्रो मिनेटमै लिन हाइ चिङको गोलमा चाइनिज ताइपेईले अग्रता लिएको थियो। तर त्यसको ६ मिनेटपछि नै चाइनिज ताइपेईका रक्षकले राम्रोसँग क्लियर गर्न नसक्दा प्राप्त बललाई कप्तान प्रशान्त लक्ष्यमले जाली चुमाउँदै नेपाललाई खेलमा फर्काएका थिए।

२८औं मिनेटमा ताई यान याओको गोलमा चाइनिज ताइपेईले अग्रता लियो। ६१औं मिनेटमा वैकल्पिक खेलाडी धनसिंह विकको गोलमा नेपाल पुनः खेलमा फर्कियो।

७९औं मिनेटमा रक्षक दीपक थापामगर दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि नेपालले अन्तिम ११ मिनेट १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो। ८०औं मिनेटमा लु इन थिङको फ्रिकिक गोलमा चाइनिज ताइपेईले ३–२ को अग्रता लियो। खेल सकिन एक मिनेट बाँकी रहँदा यान याओले व्यक्तिगत दोस्रो गोल गदै चाइनिज ताइपेईको सहज जित दिलाए। 

प्रकाशित: २४ आश्विन २०७९ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App