कप्तानी इनिङ खेल्ने क्रममा पारसले ९४ बलमा १ सय ३ रन बनाएपछि नेपालले नामिबियाबाट पाएको २ सय ४० रनको लक्ष्य निर्धारित ५० ओभरको एक बलअघि ७ विकेट क्षतिमा पूरा गरेको थियो। नेपालले सफलतापूर्वक पछ्याएको यो अहिलेसम्मकै ठूलो लक्ष्य हो। यसअघि सन् २०१२ को एसिसी ट्रफी एलिट फाइनलमा युएईविरुद्ध २ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा खेल टाई भएको थियो।
जितसँगै नेपाल ४ अंक जोड्दै आठ टोली सहभागी च्याम्पियनसिपको छैटौं स्थानमा कायम छ भने पराजित नामिबिया २ अंकसाथ सातौं स्थानमा यथावत् छ। युएई पुछारमा छ।
नेपालले यसअघि स्कटल्यान्ड र पपुवा न्युगिनीसँग पराजय भोगेको थियो। अर्को वर्ष प्रतियोगिता सम्पन्न हुँदा ८ मध्ये माथिल्लो ४ मा रहन सके नेपालसामु सन् २०१९ को विश्वकप छनोटमा सहभागी हुन पाउने मौका छ। पुछारको ४ मा समेटिए डिभिजन २ मा रेलिगेसन हुन सक्छ।
पारसले लगातार जितसँगै २ सय ४० रन पछ्याउनुलाई सकारात्मक रूपमा लिँदै भने, 'यसले मानसिक फाइदा पुगेको छ। यो ४ अंकबाट हामी अघि बढ्न चाहन्छौं। अन्त्यमा शीर्ष चारमा रहेर प्रतियोगिता सम्पन्न गर्नुपर्छ। यो स्तरमा सबै टोली उत्तिकै बलिया छन्। हामीले राम्रो खेल्नुपर्छ।'
पारसले शरदको प्रदर्शनको उच्च प्रशंसा गरे। 'शरद सधैँ हाम्रो टोलीका लागि विजेता खेलाडी हो। दुई–तीन जनाको ब्याट चल्यो भने सहजै लक्ष्य पछ्याउनेमा हामीलाई विश्वास थियो। त्योअनुसार शरदले आवश्यक प्रदर्शन गर्योो, उसलाई सलाम,' अन्तिममा जितका लागि निकै संघर्ष गर्नुपरेको प्रसंग कोट्याउँदै उनले भने, '३१ बलमा १४ रन चाहिने अवस्थाबाट हामी ६ बलमा ६ रन आवश्यक हुने अवस्थासम्म पुग्यौं। अन्त्यमा त्यो रोमाञ्चक भए पनि आगामी खेलमा त्यति क्लोज जानु हुन्न।'
शरदले लगातार दुई खेलमा अर्धशतक बनाउँदै टोलीलाई जिताएका हुन्।
घरेलु मैदानमा ठूलो लक्ष्य पछ्याउने क्रममा ओपनिङको समस्याले निरन्तरता पाउँदा नेपालको सुरुआत कमजोर देखिएको थियो। दुवै ओपनर पबेलियन फर्किंदा नेपालको स्कोर ३७ मात्र थियो। नरेश बुढाएरले १९ बल खेलेर ६ रनमात्र बनाए। जेजे स्मिटको बलमा एलबिडब्लु आउट भएर नरेश पबेलियन फर्किंदा ७.४ ओभरमा नेपालको स्कोर २४ रन थियो। अर्का ओपनर ज्ञानेन्द्र मल्ल पनि २२ रन बनाएर १४ औं ओभरको पहिलो बलमा जिभागो ग्रोइनेवाल्डको बलमा कप्तान स्टेफन बार्डबाट क्याचआउट भए। नेपालले दुवै ओपनरको विकेट गुमाउँदा ३७ रन मात्र जोड्न सकेको थियो।
तर, पारस क्रिजमा आएपछि नेपालको रन बन्ने क्रमले तीव्रता पायो। तेस्रो विकेटमा नेपालको अहिलेसम्मकै ठूलो साझेदारी गर्ने क्रममा उनले शरदसँग १ सय ६७ रन जोडे। यसअघि गत वर्ष अगस्टमा स्कटल्यान्डविरुद्ध यही प्रतियोगितामा पारसले नै अनिल मण्डलसँग गरेको १ सय ३९ रनको साझेदारी तेस्रो विकेटमा उच्च थियो।
धर्मराउँदो नेपालको इनिङ उकास्ने क्रममा पारसले ७ छक्का र ५ चौका प्रहार गरे। पारसलाई ४२ औं ओभरको दोस्रो बलमा ग्रोइनवाल्डले एलबिडब्लु धरापमा पारेका थिए। पारस पबेलियन फर्किंदा नेपाललाई जितका लागि ५२ बलमा ३६ रनमात्र आवश्यक थियो। त्यसपछि नामिबियाका मध्यम गतिका बलर सारेल बर्गर नेपाली मध्यक्रममाथि हाबी हुँदा घरेलु टोलीको लय नराम्ररी बिग्रियो। पूरा १० ओभर बलिङ गरेका बर्गरले २८ रन खर्चेर ३ विकेट लिँदा राजेश पुलामी मगर १ रनमा आउट भए भने विनोद भण्डारी (१२), सागर पुन (२) र सोमपाल कामी (१) चाँडै आउट भए।
तर, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरदको धैर्यपूर्ण प्रदर्शनले अन्तिमसम्म निरन्तरता पाउँदा नामिबियाको खेलमा फर्किने आशा सफल भएन। एकरुपको प्रदर्शन गरिरहेका शरदले १ सय ७ बल सामना गर्दै अविजित ७४ रन बनाएर नेपाललाई जितको बाटोमा डोर्या ए।
नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले समर्थकका लागि जित्ने भन्दै खेलअघि गरेको वाचा टोलीले पूरा गरेको स्मरण गराए। 'हामीले समर्थकका लागि खेल्ने वाचा गरेका थियौं। त्यो पूरा गरेका छौं। शरद र पारसले आफ्नो जिम्मेवारी पूरा गरेका छन्। पारसले शतक प्रहार गर्नुका साथै शरदले गर्नुपर्ने फिनिसिङ गरेको छ। समग्र ब्याटिङमा सुधारका ठाउँ छन्। हामीले यो खेल सजिलै जित्नुपर्ने थियो तर अन्तिम समयमा संघर्ष गर्नुपर्ने अवस्था आयो,' राष्ट्रिय टोलीको नेतृत्व लिएयता खेलेका दुवै खेलमा टोलीलाई जित दिलाएका टमाटाले भने, 'समग्रमा पूरा टोलीको प्रदर्शन उत्कृष्ट छ। हाम्रो टोली सन्तुलित छ। अब नेदरल्यान्ड्ससँगको खेलका लागि त्यहीअनुसार तयारी आवश्यक छ।'
यसैगरी शरदले सोमबारको इनिङलाई करिअरकै उत्कृष्ट भन्दै पारसको प्रदर्शनको प्रशंसा गरे। 'मेरा लागि यो करिअरकै सबैभन्दा उत्कृष्ट इनिङ हो। अहिले खुसी बयान गर्न मसँग शब्द छैन। पहिला पनि यस्तो अवस्थामा खेलिसकेकाले जितको आत्मविश्वास थियो,' उनले भने।
यसअघि टस हारेर ब्याटिङमा निम्त्याइएको नामिबियाले उत्कृष्ट सुरुआतसाथ पूरा ५० ओभरमा ९ विकेट गुमाई २ सय ३९ रन बनाएको थियो। स्टेफन बार्ड र जाने ग्रिनले पहिलो विकेटमा ९५ रनको साझेदारी गर्दै ठूलो स्कोरको आधार तय गरेका थिए। बार्डले सन्दीप लामिछानेको बलमा स्टम्पिङ हुनुअघि ६० बलमा ५१ रन बनाएका थिए। तर, उनी आउट भएपछि नामिबियाको विकेट पतनले गति लियो। ९५ रनमा पहिलो विकेट गुमाएको टोलीले १ सय १४ रन बनाउँदा ५ विकेट गइसकेको थियो। तर, त्यसपछि बर्गरले इनिङ सम्हाल्दै ६० बलमा अविजित ४३ रन जोडे। नामिबियाका लागि अर्का ओपनर ग्रिनले वसन्त रेग्मीबाट एलबिडब्लु हुनुअघि ४७ रन बनाए भने जेपी कोट्जेले ३२, निकोलस स्कोल्ट्जले २२ तथा स्मिथले १४ रन जोडे।
नेपालका शक्ति गौचन, वसन्त र सन्दीपले २–२ विकेट लिए।
नामिबियाका कप्तान बार्डले नेपालमा ठूलो संख्याका दर्शकबीच खेल्दा रमाइलो अनुभव सँगाले पनि दुवै खेल हार्दा अत्यन्तै निराश भएको बताए। 'आज नेपालको कप्तानले निकै राम्रो खेले। हाम्रो मध्यक्रमबाट राम्रो प्रदर्शन हुन सकेन। आज २०, ३० वा ४० रन बढी बनाउन सकेको भए हामी विजेता हुन्थ्यौं,' उनले भने।
प्रकाशित: ६ वैशाख २०७३ १९:५४ सोमबार