२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

सनको ह्याट्रिक गोलमा टोटेनह्यामको फराकिलो जित

सन ह्युङ मिनको ह्याट्रिक गोलमा टोटेनह्यामले इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी विरुद्ध फराकिलो जित निकालेको छ।

शनिबार राति भएको खेलमा टोटेनह्यामले सिटीलाई ६-२ गोल अन्तरले हराएको हो।

टोटेनह्यामलाई जिताउन सब्सिच्युट खेलाडी सनले ह्याट्रिक गोल गरे। ह्यारी केन,एरिक डियर र रोड्रिगो बेन्टानकरले एकएक गोल गरे। सिटीका लागि युरी टेलिमन्स र जेम्स म्याडिसनले एकएक गोल गरे।

खेलको छैटौँ मिनेटमा युरी टेलिमन्सले पेनाल्टीमा गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए। आठौँ मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनह्यामलाई १-१ गोलको बराबरीमा ल्याए। २१ औं मिनेटमा एरिक डियरले गोल गर्दै टोटेनह्यामलाई २-१ को अग्रता दिलाए। यस्तै ४१ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरले खेललाई २-२ को अवस्थामा ल्यायो।

दोस्रो हाफको ४७ औं मिनेटमा रोड्रिगो बेन्टानकरले गोल गर्दै टोटेनह्यामलाई ३-२ को अग्रता बनाए। ५९ औं मिनेटमा रिचार्लीसनको स्थानमा मैदान छिरेका सनले ७३ औं मिनेटमा गोल गरेपछि टोटेनह्याम ४-२ गोलले अघि रह्यो।

सनले ८४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनह्यामलाई ५-२ को फराकिलो अग्रता बनाए। त्यसपछि ८६ औं मिनेटमा सनले ह्याट्रिक पूरा गर्दा टोटेनहमले ६-२ को जित निकाल्यो।

जितसँगै टोटेनह्याम लिगको दोस्रो स्थानमा उक्लिएको छ। टोटेनह्यामले ७ खेलमा १७ अंक जोडेको छ। लेस्टर १ अंक जोडेर पुछारमा रहेको छ।

प्रकाशित: २ आश्विन २०७९ ०५:५३ आइतबार

टोटेनह्याम इंग्लिस प्रिमियर लिग फुटबल