२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुद: गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु

पानीले फुटबल, क्रिकेट र बास्केटबल स्थगित

गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता अन्तर्गत उसुको छनोटमा सहभागी खेलाडीले आफ्नो खेल देखाउँदै। तस्बिर: उमेश पुन/नागरिक

आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु भएको छ। विभिन्न ११ जिल्लाका खेलाडीहरु प्रदेशस्तरीय छनोट प्रतिस्पर्धाको लागि बुधबार मात्रै पोखरा आइपुगेका हुन् बुधबार खेलाडीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो।

बिहीबार बिहान प्रदेशस्तरीय छनोट प्रतियोगिताको उदघाटन गर्ने भनिएपनि निरन्तर पानी परेपछि उदघाटन समारोह स्थगित भएको थियो। उदघाटन स्थगित भएपनि मार्शल आर्टसका खेलहरुको छनोट प्रतिस्पर्धा सुरु भइसकेको छ। तेक्वान्दो, जुडो, बक्सिङ, उसु पोखरा रंगशालास्थित कभर्ड र रिङमा सुरु भएको छ। सितेरियो कराँते पोखरा सृजनाचोकस्थित साइमन पार्टी प्यालेसमा सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश छनोट प्रतियोगिताका संयोजक खगेन्द्र क्षत्रीले जानकारी दिए।

उनका अनुसार कबड्डी प्रदर्शनी केन्द्रमा छनोट सुरु भएको छ। शारीरिक सुगठनको छनोट भने उत्तमचोकस्थित लालीगुराँस पार्टी प्यालेसमा सुरु भएको उनले जानकारी दिए। आइटिएफ तेक्वान्दो भने पोखरा–१० स्थित भमरकोट पार्टी प्यालेसमा सुरु भएको छ। रग्बी सेभेन भने पोखरा–२९ भण्डारढीक खेल मैदानमा सुरु भएको छ। रग्बीमा पुरुष तर्फ चार र महिला तीन टोलीको सहभागिता रहेको उनले बताए। स्वीमिङ भने पोखरा–१७ स्थित फिस्टेल एकेडेमीको पौडी पोखरीमा सुरु गरिएको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सबैभन्दा बढी कास्कीले ३५ खेलमा सहभागिता जनाउने छ। सबैभन्दा कम मनाङबाट केवल ५ खेलमा मात्रै सहभागिता जनाउन प्रदेश खेलुकद परिषदले जनाएको छ। मुस्ताङले १३ खेलमा १६६ जना, म्याग्दीले १५ खेलमा २८३ जना, बाग्लुङले १९ खेलमा ३६१ जना, पर्वतले १४ खेलमा २२३ जना, कास्कीले ३५ खेलबाट ६७३, तनहुँले १७ खेलबाट ३०३ जना, लमजुङले १२ खेलबाट २१३ जना, गोरखाले १६ खेलमा २३० जना, मनाङले ५ खेलबाट ४६ जना र नवलपुरबाट २३ खेलमा ३७८ जना खेलाडी तथा प्रशिक्षक तथा व्यवस्थापकको सहभागिता रहेको गण्डकी प्रदेश खेलकुद परिषदले जनाएको छ।

भलिबल, जिमन्याष्टिक, भारोत्तोलनका खेलहरु बहुउद्देश्यीय कभर्ड हलमा आयोजना गरिएको उनको भनाइ थियो। पुरुष फुटबल, क्रिकेट र बास्केटबल भने पानी परेकै कारण स्थगित गरिएको गण्डकी प्रदेश खेलकुद परिषदले जनाएको छ। सेपाकताक्रो, स्क्वास, बुद्धिचाल लगायतका खेलहरु पूर्व निर्धारित स्थलमै सुरु भएको छ। आर्चरी, लनटेनिस ,सफ्ट टेनिस, फेन्सिङ, हक्की लगायतका खेलहरुको प्रदेशस्तरीय छनोट भइसकेको छ।  

छनोट अन्तर्गत फूल कन्ट्याक्न्ट कराँतेको पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रको डोममा प्रतिस्पर्धा गराईएको छ। केही खेल पोखरा रंगशालाकै कभर्ड हलहरुमा खेलाईएको छ। प्रदेशस्तरीय छनोट प्रतिस्पर्धा शनिबारसम्म हुनेछ। शनिबार प्रदेश छनोटपछि सम्पूर्ण खेलाडीको विवरण यही भदौ २६ गतेभित्रमा राष्ट्रिय खेलकुद परिषदमा पठाइसक्नुपर्ने छ। प्रदेशस्तरीय छनोट भएका खेलाडीहरुलाई आगामी असोज १ गतेदेखि बन्द प्रशिक्षणमा राख्ने तयारी गण्डकी प्रदेश खेलकुद परिषदको छ।  

प्रकाशित: १६ भाद्र २०७९ १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App