१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

एकल प्रयासमा लोमान्थाङमा प्रथम गल्फ प्रतियोगिता

मेहनतले मात्रै सफलता मिल्छ। प्रयासै नगरे प्रतिफल पक्कै आउँदैन्। प्रतिफलको लागि कति मेहनत गर्नुपर्छ त्यो केवल इन्द्रधारा विष्टलाई मात्रै थाहा छ।  

साँझ के हो, विहान के हो। उनले पछिल्लो समय मेसो नै पाउन छाडेका छन। आफनो स्थायी थलो लोमान्थाङदेखि पोखरा, काठमाडौं धेरैपटक उनी एक्लै दौडिए। उनको दैनिकी नै व्यस्ततामा बित्यो। व्यस्तताको प्रतिफल उनले शनिबार मात्रै पाउँदैछन्। उनकै एकल प्रयासमा लोमान्थाङमा मुस्ताङ गल्फ कोर्ष बन्यो।  

समुन्द्री सतहदेखि ४६४५ मिटरको विश्वकै उच्च उचाईमा बनेको मुस्ताङ गल्फ कोर्षमा प्रथम गल्फ प्रतियोगिता शुरु हुने छ। जुन सपना विष्टले लामो समयदेखि देख्दै आएका थिए, त्यो शनिबार साकार बन्दै छ।  प्रत्येक पाईलामा जोखिम थियो  जोखिमलाई न्युनिकरण गर्दै अवसरको रुपमा चिर्दै विष्ट अगाडि बढे। पोखरा र काठमाडौंका गल्फरलाई भेटे। भेटेजतिकासँग सल्लाह मागे। अनि आफ्नै लगानीमा नौ होलको कोर्षको रेखांकन गरेर छाडे। रेखांकन गरेको कोर्षमा दुईमहिना अघि पोखराका चार गल्फरले उच्च उचाईको कोर्षको अनुभव लिए।  

कोर्षलाई मर्मत गरियो। मर्मतपछि मात्रै नेपाल गल्फ संघले लोमान्थाङमा गल्फ प्रतियोगिता आयोजना गर्ने जमर्को गर्यो। व्यवस्थापकीय जिम्मेवारी लियो। जिम्मेवारी नेपाल गल्फ संघले पोखराका गल्फर भूबहादुर गुरुङ(भुवन)लाई दिए। गुरुङकै सक्रियतामा कोर्षको ग्रीन दुई दिन लगाएर बनाईयो।  

गल्फ के हो ? कस्तो खेल हो लोमान्थाङमा कमैलाई मात्रै थाहा छ  थाहा छ केवल विष्टलाई। विष्टले गल्फको सम्भाव्यता देखेर नै उच्च उचाई गल्फ कोर्षको लागि आफनो दैनिकी बिताए। आफैं नखेली गल्फ कोर्ष बन्दैन भन्ने बुझेपछि उनी गल्फमा होमिए। उनले देखेको गल्फको सपनाले विश्वकै उच्च उचाईको गल्फ कोर्षको इतिहास कोर्दै छ। प्रतियोगिताले नेपाली गल्फमा नयाँ आयाम थप्ने विश्वास उनको छ। विष्ट भन्छन, ‘यो त शुरुवात मात्रै हो । प्रतियोगिताले कस्तो परिणाम आउँछ त्यसले भोलिको भविष्य निर्धारण गर्छ।’

लोमान्थाङमा गल्फको भविष्य कोर्ने लक्ष्यलाई गाँउपालिकाले साथ दिएको छ। अन्यको सहयोग भने खासै देखिदैन्। उनकै हितैसीले सहयोगी भावना देखाएका छन। प्रायोजकको भूमिका खेलेका छन्। कोर्षमा प्रतियोगितापछि नेपालमा नयाँ कोर्ष थपिने छ। पोखरा, काठमाडौं र धरानमा व्यवासायिक गल्फ कोर्ष छन्। निजी तर्फ सिजी ग्रुपले बनाएको छ। पोखराकै होटल दी फुलबारी रिसोर्टमा समेत ९ होलको कोर्ष थियो। यद्दपी होटल अहिले बन्द छ।  

‘लोमान्थाङलाई हाईअल्टिच्युड स्पोर्टस हब बनाउने सपना छ,’ गण्डकी प्रदेशका सदस्य समेत रहेका विष्टले भने, ‘फुटबल मैदान, बास्केटबल कोर्ट र भलिबल कोर्ट लगायतका पूर्वाधार तयार हुदैं छ। त्यसले हाईअल्टिच्युड स्पोर्टस हब बनाउन टेवा पुर्याउँछ।’ खेलकुदको विकासको लागि विष्ट मात्रै लोमान्थाङबाट देखिएका एक्ला पात्र हुन्।  

विष्टको गल्फ कोर्षलाई पूर्णता दिने काम गल्फका प्रो.गुरुङले गरेका छन्। गल्फ भनेपछि मरिहत्ते गर्ने उनले कोर्षको ग्रीन बनाउन विहानदेखि साँझसम्म अल्टिच्युडको प्रवाह नगरी खटिएका छन्। दुई महिना अघि मात्रै लोमान्थाङमा आएर गल्फ खेलेर फर्किएका पोखरेली एमेच्योर खेलाडी बलराम थापाले उच्च उचाईमा गल्फ खेल्दाको क्षण बयानै गर्न नसकिने बताए। ‘यो त कल्पना गरेको भन्दा बाहिरको कुरा थियो। ईट्स इमेजिङ,’ उनको भनाई थियो।  

पोखरेली खेलाडीहरु राजु थकाली, भक्त गुरुङ, मेजर विजय मोक्तान, इन्सपेक्टर जिवाराम गुरुङ लगायतको टोली उच्च उचाईको प्रथम गल्फ प्रतियोगिता खेल्न लोमान्थाङ आईपुगेका छन्। अफिसयलको रुपमा नेपाल व्यवसायिक गल्फ संघका महासचिव दिपक आचार्य, पशुपति शर्मा, पोखरेली प्रो. भुवन गुरुङ, दिपक थापामगर र दल लामा रहने छन्। 

प्रकाशित: ११ भाद्र २०७९ ०९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App