२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

एसिया कप: भारत र पाकिस्तानबीचको खेल आइतबार

विश्व क्रिकेटका चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित भिडन्त शनिबारबाट युएईमा सुरु हुने एसिया कप ट्वान्टी-२० को प्रमुख आकर्षण रहनेछ।

एसियाली राष्ट्रका लागि यस पटकको एसिया कप अक्टोबरमा अस्ट्रेलियामा हुने ट्वान्टी-२० विश्वकप क्रिकेटका लागि राम्रो अभ्यास हुनेछ।

चोटका कारण तीव्र गतिका बालर साहिन शाह अफ्रिदी टोलीबाट बाहिरिएपछि पाकिस्तानी टोली यस पटक पूर्ण रूपमा कप्तान बाबर आजमको प्रदर्र्शनमा निर्भर हुनेछ। आजम हाल एकदिवसीय र ट्वान्टी-२० क्रिकेटका शीर्ष वरीयताका ब्याटर हुन्। पाकिस्तानले हालै मात्र नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय शृंखला ३–० ले क्लिन स्विप गर्दा बाबरले दुई अर्धशतक पूरा गरेका थिए।

२०२१ को ट्वान्टी–२० विश्वकपमा भारतको सामना गर्दा बाबरले अविजित ६८ रन जोडेका थिए। जुन खेलमा पाकिस्तान १० विकेटले विजयी भएको थियो। समूह ‘ए’ मा रहेका यी दुई टोलीबीचको खेल आइतबार हुनेछ।

यसै समूहमा हङकङ पनि परेको छ। हङकङ बुधबार मात्र युएईलाई हराउँदै एसिया कपका लागि छनोट भएको थियो। भारतका पूर्वकप्तान विराट कोहलीका लागि पाकिस्तानविरुद्धको खेल एक सयौं ट्वान्टी-२० क्रिकेट हुनेछ। हालै सम्पन्न वेस्ट इन्डिज र जिम्बाब्वेविरुद्धको शृंखलामा आराम दिइएका कोहलीलाई एसिया कपका लागि टोलीमा फिर्ता बोलाइएको हो।

त्यसैले कोहली एसिया कपमा उत्कृष्ट प्रदर्शनका साथ आफू लयमै रहेको प्रमाणित गर्न चाहन्छन्। कोहलीले पछिल्लो पटक सन् २०१९ नोभेम्बरमा शतक पूरा गरेका थिए। विश्वकपका लागि टोलीमा स्थान बनाउन पनि उनीमाथि उत्कृष्ट प्रदर्शन गर्नेै पर्ने दबाब छ।

सन् २०११ मा भारतीय टोलीबाट डेब्यु गरेका कोहलीले १ सय २ टेस्टमा २७ शतक पूरा गरेका छन्। ‘कोहलीले पाकिस्तानविरुद्ध अर्धशतक पूरा गरेमा उनका आलोचकको मुख थुनिनेछ,’ भारतका पूर्वप्रशिक्षक रवि शास्त्रीले भने। श्रीलंकाका विनिन्डु हसरंगाले इन्डियन प्रिमियर लिगको १६ खेलमा २६ विकेट लिँदै आफ्नो प्रभाव छोडेका थिए। त्यसैले उनी एसिया कपमा पनि विशेष छाप छोड्न चाहन्छन्। एसिया कप र ट्वान्टी–२० विश्वकपमा फिट रहनैका लागि उनले दि हन्ड्रेड खेलेनन्।

यता बंगलादेशका कप्तान साकिब अल हसन मैदानभित्र र बाहिरको विवादका कारण सधैं चर्चामा रहे। उनकै कप्तानीमा यस पटका बंगलादेशले आफ्नो चुनौतीको सामना गर्नेछ। बंगलादेशले पछिल्लो १५ ट्वान्टी–२० खेलमा मात्र दुई खेल जितेको छ। समूह ‘बी’ को बंगलादेशले अफगानिस्तान र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: ११ भाद्र २०७९ ०१:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App