१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

स्वयंसेवक प्रशिक्षकलाई करारमा राख्छौं: खेलकुदमन्त्री

युवा तथा खेलकुद मन्त्री गहतराज, प्रदेश मुख्यमन्त्री पोखरेल र पोखरा महानगरपालिका प्रमुख आचार्य नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरा रंगशालास्थित सचिवालय उद्घाटन गर्दै। तस्बिर उमेश पुन: नागरिक

नवौं राष्ट्रिय खेलकुदको तयारी सुरु भइसकेको छ। गण्डकी प्रदेशको राजधानी पोखराबाटै प्रशिक्षण एवं छनोट प्रतियोगिता सुरु भएको दुई दिनअघि घोषणा गरिएको थियो।

नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धाका ३६ र प्रदर्शनीका २ खेल गरी ३८ खेल समावेश गरिएको छ। निर्णयसँगै समय घर्किंदै जाँदा मनाङ, मुस्ताङ, तनहुँ र लमजुङमा प्रशिक्षकको संख्या शून्य छ। बाँकी ७ जिल्लामा पर्वतमा एकजना, गोरखामा दुई जना, म्याग्दीमा एकजना, बागलुङमा तीन जना, नवलपुरमा दुई जना, स्याङ्जामा एकजना र कास्कीमा पाँच जना प्रशिक्षक छन्। अधिकांश प्रशिक्षक तेक्वान्दो र सितेरियो करातेका मात्रै छन्।

‘लमजुङमा खेलकुदको प्रशासन नै छैन। प्रशासन नभएपछि प्रशिक्षक हुने कुरै भएन,’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले भने, ‘मनाङ, मुस्ताङ र तनहुँमा कुनै पनि खेलका प्रशिक्षक छैनन्।’ उनका अनुसार खेल धान्ने काम स्वयंसेवक प्रशिक्षकले गर्दै आएका छन्। उनै स्वयंसेवक प्रशिक्षकको काँधमा गण्डकी प्रदेशलाई पदक दिलाउने जिम्मेवारी छ।

प्रदेशकै राजधानी पोखरामा केवल भलिबल, भारोत्तोलन, शारीरिक सुगठन, कराते (सितेरियो) र तेक्वान्दोको मात्रै राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक छन्। उसुका प्रशिक्षकले केही समयअघि मात्रै स्वेच्छिक अवकाश लिइसकेका छन्। स्याङ्जामा फुलकन्ट्याक्ट कराते, नवलपुरमा सितेरियो कराते, बागलुङमा जिमन्यास्टिक, तेक्वान्दो र उसु, म्याग्दीमा तेक्वान्दो, गोरखामा तेक्वान्दो र कराते तथा पर्वतमा एथलेटिक्सका प्रशिक्षक छन्।

नवौं राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, हक्की, बक्सिङ, कबड्डी, भारोत्तोलन, सुटिङ, जिम्न्यास्टिक, पौडी, ह्यान्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खोखो, कराते, फुलकन्ट्याक्ट कराते, आइटिएफ तेक्वान्दो, सेपाकताक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाइडिङ, रग्बी (सेभेन ए साइड), छेलो (प्रदर्शनी) र क्यानोनिङ (प्रदर्शन) खेललाई समावेश गरिएको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि संघीय सरकारले आवश्यक बजेट निकासा गरिसकेको पोखरा रंगशालास्थित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सचिवालयको आइतबार उदघाटन गर्दै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले भने, ‘बजेटकै समस्याले अब खेलकुद रोकिँदैन।’ उनका अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता तीनै तहको सरकारको साझा दायित्व र जिम्मेवारी हो। उनले राष्ट्रिय प्रतियोगिताको लागि आवश्यक प्राविधिकहरू कति चाहिन्छ त्यसको यकिन गरेर करारमा खटाउने तयारी समेत रहेको बताए।

‘राष्ट्रिय खेलकुद परिषदले आवश्यक प्राविधिक (प्रशिक्षक) कति चाहिन्छ। यकिन गर्नेछौं। जहाँ आवश्यकता छ त्यहाँ स्वयंसेवक प्रशिक्षकलाई करारमा नियुक्ति गरेर प्रशिक्षण सुरु गराउनेछौं,’ उनले भने। ‘खेलकुदलाई पर्यटनसँग जोड्नुपर्छ। पोखरा आफैंमा पर्यटकीय क्षेत्र। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता मार्फत पर्यटन प्रवद्र्धन गर्नुपर्छ,’ मन्त्री गहतराजको भनाइ थियो।

सचिवालय उद्घाटन समारोहमा बोल्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले राष्ट्रलाई एकताको सूत्रमा बाँध्ने नै खेलकुद क्षेत्र भएको उल्लेख गर्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सबै कुरामा सबै हिसाबले साथ सहयोगमा रहने प्रतिबद्धता व्यक्त गरे। उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली समेत सरिक थिए। 

प्रकाशित: ६ भाद्र २०७९ ०१:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App