१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

तेक्वान्दोको स्वर्णविहीन यात्रा

सिलोङ- दक्षिण एसियाली खेलकुद (साग) बाट नेपाली तेक्वान्दो खेलाडी पहिलोपल्ट स्वर्ण पदकविहीन भएर घर फर्कने भएका छन्। सागको १२ औं संस्करण जारी रहँदा सोमबार फाइनल पुगेका चारै खेलाडी पराजित भएपछि तेक्वान्दोले स्वर्ण जित्न असफल भएको हो।

तेक्वान्दोको अन्तिम दिन स्वर्णकी दाबेदार आयशा शाक्यसहित सक्षम कार्की, वीरबहादुर महरा र निमा गुरुङ आफ््ना प्रतिद्वन्द्वीविरुद्ध हाबी भए पनि विजेता हुन असफल भए।

तेक्वान्दोले १२ औं साग खेलकुदमा १४ स्वर्णका लागि भएको प्रतिस्पर्धामा ७ रजत र ३ कांस्य पदकबाटै सिलोङ यात्रा टुंग्याएको छ।

सन् १९९९ मा काठमाडौंमै सम्पन्न आठौं दक्षिण एसियाली खेलकुदमा १४ स्वणमा सबै जितेर 'क्लिन स्विप' गरेको नेपाली तेक्वान्दोले नवौंमा ६ स्वर्ण, दसौंमा दुई स्वर्ण र ११ औं संस्करणमा दुई स्वर्ण जितेको थियो।

सोमबार निग्रिम्स इन्डोर स्टेडियमको हलमा स्वर्ण जित्ने लक्ष्यमा रहेकी आयशा भारतीय प्रतिद्वन्द्वीसँग सडनडेथमा पराजित भइन्। बंगलादेशकी वन्दना विश्वास र भुटानकी सोनाम याङगोत्सोलाई सजिलै पन्छाउँदै आयशाले आफूलाई स्वर्णको दाबेदार बनाएकी थिइन्।

११ औं सागकी स्वर्णधारी आयशा भारतकी मार्गेरिता रेगीसँग सडनडेथमा ३–० अंकले हारिन्। पहिलो राउन्डमा २–१ ले पछि परेकी आयशाले पुनरागमन गर्दै तेस्रो राउन्डसम्म ६–६ अंकले खेल बराबरीमा ल्याइन्। अतिरिक्त समयमा खेल जाँदा स्ल्याप किक खाएपछि उनले स्वर्ण गुमाउनुपरेको थियो। स्वर्ण जित्न नसेकको पीडामा उनी प्यारापिटमा नेपाली टोलीसामु गएर धेरैबेर भक्कानिइन्।

पछिल्लो ढाका सागमा आयशा र उनका पति दीपक विष्टले मात्र तेक्वान्दोमा स्वर्ण जितेका थिए।

पुरुष ६३ केजीमुनि वीरबहादुरले सनसनीपूर्ण प्रदर्शन गरे। श्रीलंकन दिलसान सन्जिवालाई २०–१० ले र सेमिफाइनलमा भुटानका छिमी वाङचुकलाई १७–५ ले हराउँदै अगाडि बढेका वीरको यात्रा अफगानी प्रतिद्वन्द्वी अहमद अली वाक्सीसँग रोकिए। सुरुदेखि नै आक्रामक खेलेका अग्लो कदका वीरले फाइनल खेल १२–९ अंकले गुमाए।

अर्का नेपाली खेलाडी निमा गुरुङ भारतकी लतिका भण्डारीसँग हारिन्। महिला ५३ केजीमुनि निमाले १६–६ को अंकले खेल गुमाएर रजमै सीमित भइन्। उनले श्रीलंकन एस गुनावर्देना र अफगानी निला अहमदीलाई हराएर फाइनल सुरक्षित गरेकी थिइन्।

आशा गरिएका सक्षम कार्कीले अफगानिस्तानका दाबेदार जी काफायतुल्लाहलाई २–० अंकले हराउँदै दिनको सफल सुरुआत गरेका थिए। उनले सेमिफाइनलमा बाइ पाएका भुटानका कुसाङ वाङ्दीमाथि १०–३ को जित पाए। तर, स्वर्णका लागि भएको प्रतिस्पर्धामा उनी भारतीय नवजीत मनसँग ७–१ अंकअन्तरमा पराजित भए।

रजत जित्नेमा यानकुमारी चौलागाईं, ज्ञानी चुनारा र रेजिना कार्की थिए भने सुनील पौडेल, निश्चलमान श्रेष्ठ र रामहरि महतले कांस्यमै चित्त बुझाएका थिए।

तेक्वान्दो टोलीका प्रशिक्षक तथा साग खेलकुदका चार स्वर्णधारी दीपक विष्टले आफ्ना खेलाडीले विगतमा जस्तै फाइट गरे पनि स्वर्ण जित्न नसक्नुलाई अन्तर्राष्ट्रिय म्याच एक्सपोजरको कमी भएको औंल्याए। सागको प्रदर्शनबारे उनले भने, 'हाम्रा खेलाडीले नराम्रो खेलेका होइनन्। हामी पुरानै ढाँचामा छौं, वर्ष–दुई वर्षमा एउटा एउटै अन्तर्राष्ट्रिय म्याच खेल्दैनौं। पछाडि परिरहेका छौं। नयाँ टेक्निकसँग अभ्यस्त हुन सकेका छैनौं। अरु राष्ट्रले धेरै प्रगति गरिसके। अफगान कहाँ थियो, कहाँ आइसक्यो। हामी झन् झन् पछाडि पर्दै अएका छौं।'

अफगानिस्तानले १२ औं सागमा तेक्वान्दोबाट ६ स्वर्ण जितेको छ। आयोजक भारतको भागमा ५ स्वर्ण परेको छ।

सागमा टाउकोमा पनि सेन्सर प्रविधि प्रयोग गरेको थियो। त्यो प्रविधिमा नेपाली खेलाडीहरु अभ्यस्त नभएकाले पनि केही पछाडि परेको उनको तर्क थियो।

प्रकाशित: ३ फाल्गुन २०७२ २२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App