१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

१५ सेकेन्डले जोगियो कीर्तिमान

गुवाहटी- नेपाली म्याराथन धावक बैकुण्ठ मानन्धरको दक्षिण एसियाली खेलकुद (साग) को कीर्तिमानी समय जारी १२औं संस्करणमा १५ सेकेन्डले तोडिनबाट जोगिएको छ।इन्दिरा गान्धी एथलेटिक्स स्टेडियममा शुक्रबार बिहान १२ औं सागको म्याराथन हुँदा भारतीय धावक नितेन्दर सिंह रावतले स्वर्ण जित्न २ घन्टा १५ मिनेट १८ सेकेन्डको समय बनाउँदा कीर्तिमानी २ घन्टा १५ मिनेट ०३ सेकेन्डभन्दा थोरैमात्र बढी हो। मानन्धरले भारतीय भूमि कोलकातामै सन् १९८७ मा सम्पन्न सागको तेस्रो संस्करणमा उक्त कीर्तिमान राखेका थिए।

यसपल्ट कीर्तिमान तोडिसक्ने देखिएको थियो। रुटका कारण अन्तिम ल्यापमा पहिलो र दोस्रो हुनका दौडिरहेका नितेन्दर र श्रीलंकाली धावक अनुराधा इन्द्र कुराये (२ घन्टा १५ मिनेट १९ सेकेन्ड) अलमल्लिँदा कीर्तिमान तोड्न चुकेका हुन्। साधारणतया स्टेडियमको ट्रयाकभित्र छिरेर एक फन्को लगाएपछि मात्र फिनिसिङ प्वाइन्ट हुने कारणले गर्दा उनीहरु त्यही लयमा दौडिए। तर गति बढाउन लाग्दा उनीहरुको अन्तिम बिन्दु सकिसकेको थियो।

दक्षिण एसियाली खेलकुद इतिहासमै यसपल्टको रुट कोर्स खराब मानिएको छ। किनकि १०.५५८८ मिटरको ल्यापलाई चार फन्को लगाउनुपर्ने थियो।

'लामो दुरीको रेसमा यस्तो कोर्स नै हुँदैन। साग खेलकुदमा पनि यस्तो कोर्स बनाइएको छैन। खुला सडकमा रेस कोर्स हुनुपर्ने हो। तर, यहाँ सडकमा त चार किमी पनि छैन होला,' नेपालका एथलेटिक्स प्रशिक्षक सुशील नरसिंह राणाले भने, 'सायद ट्राफिकिङ समस्याले होला।'

प्रशिक्षक राणाकै भनाइ जस्तै थुप्रै ठाउँमा म्याराथन दौडिसकेकी स्वरुपा खड्काले पनि कोर्समा समस्या रहेको बताइन्। पदक आशा गरिएकी स्वरुपाले महिला म्याराथन दुरी पार गर्दा ३ घन्टा १२ मिनेट ०१ सेकेन्ड लगाइन्।

अमेरिकाबाट नेपालको प्रतिनिधित्व गर्न आएकी उनले भनिन्, 'अहिलेसम्म दौडेको म्याराथनमा मेरो सबैभन्दा खराब प्रदर्शन हो। रुटमा पनि समस्या रह्यो। एकदमै टर्निङ थियो। यस्तो रुटमा त दौडेकी थिइनँ। त्यसले गर्दा पनि २/४ सेकेन्ड त त्यत्तिकै गुमिहाल्छ।'

आफूले जति गर्नुपर्ने हो त्यति गर्न नसकेको उनले स्विकारिन्। भनिन्, '३ घन्टाभन्दा अगाडि नै सक्छु भन्ने थियो। उता मैले चिसोमा टे्रनिङ गरेर आएको थिएँ। यहाँ अलि हिट पनि भयो। दौड्दा दौड्दै पेटको दायाँ साइडमा दुखाइ भयो। त्यसले गर्दा सोचेजस्तो भएन।'

दौड सकेपछि स्वरुपाले उपचारका लागि धेरैबेर मेडिकल सेन्टरमा बिताइन्। ट्रयाकमै ढलेपछि उनी नेपालकै सञ्चारकर्मीको सहयोगमा मेडिकल सेन्टरमा पुगेकी थिइन्। दौड सिद्धिएपछि अरु देशका पदाधिकारी खेलाडीलाई सान्त्वना दिन ट्रयाकमा पुगेको देखिन्थ्यो भने नेपाली पदाधिकारी बेखबर भएका थिए। पदक जित्दा मात्र खेलाडीको रेखदेख हुने र नजित्दा नहुने शैली झल्किथ्यो। जबकि दौड सुरु हुनुअगावै उनीसँग फोटो खिच्न भने धेरै खेलपदाधिकारी रंगशाला पुगेका थिए।

लामो समयदेखि अमेरिकामा रहेकी स्वरुपाले दोस्रोपल्ट देशको प्रतिनिधित्व गरेकी हुन्। यसअघि ३८ वर्षीया उनले सन् २०१४ को इन्चोन एसियाड खेलेकी थिइन्। स्वरुपाको उत्कृष्ट समय भने २ घन्टा ५७ मिनेट १० सेकेन्ड हो, जुन २०१३ को सिकागो म्याराथनमा बनाएकी थिइन्। इन्चोनमा उनको समय ३ घन्टा ४१ सेकेन्डको थियो।

पछिल्लो समय स्वरुपाले दौडेको स्पर्धा हो न्युयोर्क म्याराथन। उनले नोभेम्बरमा भएको म्याराथन ३ घन्टा ३ मिनेट ०७ सेकेन्डमा पूरा गरेकी थिइन्। उनले थपिन्, 'यस्तो प्रदर्शन हुनुमा ट्रेनिङ लेन्थ नै पुगेन भन्दा हुन्छ। खेल्ने वा नखेल्ने अन्तिम समयमा जानकारी पाएँ। जनवरीमा मात्र मैले सहभागिताबारे खबर पाएँ। ४(५ हप्ताको ट्रेनिङले कहाँ पुग्छ। मात्र ३ घन्टाभित्र दौड पूरा गरेँ भने पदक भेटिन्छ कि भन्ने थियो। कम्तीमा पनि म्याराथनका लागि ६ महिनाभन्दा बढी समय ट्रेनिङ गर्नैपर्छ।'

भारतीय कविता राउतले २ घन्टा ३८ मिनेट ३८ सेकेन्डबाट स्वर्ण जितेकी थिइन्। उनी पनि थोरैले दक्षिण एसियाली कीर्तिमान बनाउनबाट चुकिन्। सन् १९९५ को मद्रास साफमा भारतकै भी सत्याभामाले बनाएको २ घन्टा ३८ मिनेट १० सेकेन्डको कीतिमान छ। रजत र कांस्य जितेका श्रीलंकाली एनजी राजासेकराले २ घन्टा ५० मिनेट ४७ सेकेन्ड र बिजिएल अनुराधीले २ घन्टा ५२ मिनेट १५ सेकेन्डमा दुरी पार गरेका थिए। ६ धाविकाको प्रतिस्पर्धामा ज्योति गुहाटीले २ घन्टा ५४ मिनेट ३३ सेकेन्डबाट दौड पूरा गर्दै चौथो स्थानमा रहिन्। श्रीलंकन धाविकाहरु केन्यामा ६ महिनाभन्दा बढी समय प्रशिक्षण गरेर प्रतियोगितामा भाग लिन आएका हुन्। उनीहरु रियो ओलम्पिकको तयारीमा छन्।

सागमा महिला म्याराथन सन् १९९९ को काठमाडौंमा सम्पन्न आठौं संस्करणपछि पहिलोपल्ट समावेश भएको हो। नेपालबाट स्वरुपा र पुष्पा भण्डारीले भाग लिएका थिए। पुष्पाले बिचमै छाडिन्। त्यतैबाट उनलाई अस्पताल पुर्यााइएको थियो। उनको खुट्टाको मांसपेसीमा समस्या आएकाले बिचमै त्यागेको प्रशिक्षक राणाले बताए। १९ वर्षीया पुष्पा सातौं राष्ट्रिय खेलकुदका लागि भएको विराटनगरमा भएको म्याराथन छनोटकी च्याम्पियन खेलाडी हुन्।

उनले अघिल्लो दिन १० हजार मिटरमा पनि सहभागिता जनाएकी थिइन्। तर बिचमै त्यागिन्। प्रशिक्षण राणाले त्यसबारेमा प्रस्ट्याए, 'उक्त इभेन्टमा तीन खेलाडीमात्र भएपछि आयोजकले इभेन्ट नै रद्द हुने जनायो। तर, विश्वरुपा बुढाबाट पदक सम्भावना भएकाले हामीले पुष्पाले समावेश गरेर बिचमै छाड्न भनेका हौं। हामीले खेलाडी थपेपछि श्रीलंकाले पनि अर्को खेलाडी थप्दा हाम्रो पदक सभ्भावना गुम्यो।'

साग खेलकुदमा नेपाली म्याराथनको गौरवमय इतिहास छ।

नेपालले हालसम्म म्याराथनबाट ५ स्वर्ण, ४ रजत र ६ कांस्य पदक जितेको छ। पछिल्लो ढाका सागमा आयोजकका कारण रोड रेसमै दरिएको म्याराथनमा राजेन्द्र भण्डारीले स्वर्ण जितेका थिए। त्यसभन्दा अगाडि बैकुण्ठ मानन्धरले पहिलोदेखि तेस्रो संस्करणसम्म स्वर्ण जितेर ह्याटि्रक गरेको इतिहास छ। उनी चौथो संस्करणमा भने तेस्रो भएका थिए। पाचौं मद्रास संस्करणमा टिका बोगटीले स्वर्ण जितेर त्यसलाई निरन्तरता थिए। टिकाले ११९१ को कोलम्बो साग र १९९३ को ढाका सागमा कांस्य पदक पनि जितेका थिए। पहिलो साफमा अर्जुन पण्डितले रजत जित्दा दोस्रोमा कृष्णबहादुर बस्नेतले कांस्य जितेका थिए। कोलम्बोमा विसनसिंह रावतले रजत जितेका थिए।

१० औं कोलम्बो साग (२००६) मा अर्जुनबहादुर बस्नेतले २ घन्टा २८ मिनेट १० सेकेन्डबाट रजत र इस्लामावाद साग (२००४) मा २ घन्टा २३ मिनेट २१ सेकेन्डले कांस्य जितेका थिए। गणेशबहादुर राईले मद्रास सागमा रजत जित्दा १९९९ मा गणेशबहादुर राईले रजत जितेका थिए।

कीर्तिमानी म्याराथन धावक मानन्धरले सागका लागि टोली भारतआउनु अघि सागका स्वर्ण विजेतालाई गरिएको सम्मान कार्यक्रममा आफ्नो कीर्तिमान तोड्ने सक्ने खेलाडी उत्पादन गर्नुपर्ने बताएका थिए। उनले भने, 'अरुले होइन, म आफ्नै देशको खेलाडीले मेरो कीर्तिमान तोडेको हेर्न चाहन्छु।' उनले सहभागी हुन आउने खेलाडीतर्फ संकेत गर्दै भनेका थिए, 'राम्रा प्रतिभाहरु आइरहेको छ, म उनीहरुलाई रेकर्ड तोड्न शुभकामना दिन्छु।'

यसपल्ट भने नेपाल दुई धावकले सहभागिता जनाएका उनीहरुले खराब प्रदर्शन गरेका छन्। भूमिराज राई र खिमबहादुर खत्रीले पाँचौं र छैटौं स्थानमा रहेर दौड पूरा गरे। उनले २ घन्टा ३२ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दा खिमको समय २ घन्टा ३९ मिनेट ५६ सेकेन्डको थियो। आठ जनाले दौड पूरा गर्दा उनीहरुभन्दा पछाडि भुटानी र अफगानी धावक थिए।

२ घन्टा २३ मिनेटको व्यक्तिगत प्रदर्शनमात्र सुधार्न सकेको भए भूमिले कांस्य पदकसम्म भेट्न सक्थे। तर, मांसपेसीको समस्याका कारण दुखाइ कम हुने औषधी खाएर दौडिएकाले प्रदर्शन राम्रो हुन सकेको उनले बताए।

२३ स्वर्णका लागि भएको १२ औं सागको एथलेटिक्सतर्फ नेपालले एक कांस्यमै चित्त बुझाएको छ। पहिलो दिन पुरुष ५ हजार मिटर दौडमा हरिकुमार रिमालले कांस्य जितेका थिए। ट्रयाक एन्ड फिल्डमा वर्चस्च जमाउँदै भारतले १५ स्वर्ण, १६ रजत र ५ कांस्य पदक जित्दा श्रीलंकाले ८ स्वर्ण, ११ रजत र १५ कांस्य जितेको छ। एथलेटिक्समा पाकिस्तान र माल्दिभ्स स्वर्णविहीन हुँदा अफगानिस्तान, भुटान र बंगलादेश पदकविहीन भए।

प्रकाशित: २९ माघ २०७२ २१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App